शटडाउनको कारण देखाउँदै सभामुखको भ्रमण ट्रम्पले गरे स्थगित, जहाज दिन अस्वीकार
प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस स्पीकर न्यान्सी पेलोसीलाई युद्धक्षेत्रको भ्रमणका लागि सैन्य जहाज दिन अस्वीकार गरेका छन् । पेलोसी विहिबार दिउसो अफगानिस्तान, इजिप्ट र ब्रसेल्स जाने तय भएको थियो ।
भ्रमणमा जानुभन्दा एकघण्टा अगाडि ट्रम्पले पेलोसीलाई सैन्य जहाज दिन अस्वीकार गर्दै भ्रमण स्थगित गरिदिएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । पेलोसीले ट्रम्पलाई सरकार शटडाउनका कारण स्टेट अफ द युनियन सम्बोधन स्थगित गर्न आग्रह गरेको भोलिपल्टै ट्रम्पले पेलोसीको भ्रमण स्थगित गराएका छन् ।
ट्रम्पले लेखेको पत्रमा शटडाउनका कारण आफूले पेलोसीको अफगानिस्तान, ब्रसेल्स र इजिप्टको भ्रमण स्थगित गराउनुपरेको उल्लेख गरिएको छ । शटडाउन सकिनासाथ भ्रमणको तालिका पुन तय गरिने समेत ट्रम्पले जनाएका छन् । ट्रम्पले पेलोसीलाई कमर्सियल जहाजमा चढ्न समेत सुझाव दिएका छन् ।
यदि कमर्सियल जहाजमा चढेर भ्रमण गर्ने हो भने त्यो पेलोसीको अधिकार रहेको ट्रम्पले पत्रमा उल्लेख गरेका छन् । पेलोसीको भ्रमणको उद्देश्य राष्ट्रिय सुरक्षाका लागि खट्नेहरुलाई धन्यवाद ज्ञापन गर्नु रहेको थियो ।
शटडाउनको अन्त्यका लागि छलफल गर्नका लागि पेलासी वासिंटनमा रहनु उपयुक्त हुने ट्रम्पले जनाएका छन् । तर पेलोसीका कार्यकारी चिफ अफ स्टाफले पेलोसीको इजिप्ट भ्रमणको कुनै तालिका नरहेको र अफगानिस्तान जाने क्रममा ब्रसेल्समा पाइलटलाई केहीबेर आरामका लागि रोक्ने योजना रहेको जनाएका छन् ।






