३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा
प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार
३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा परेका छन् । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियान अन्तरगत गलत नियतले न्याय सम्पादन गर्ने उच्च अदालतका ती पाँच न्यायाधीशलाई एकैपटक कारवाही गरेका हुन् ।
साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ । राणाले गठन गरेको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरुलाई सामुहिक रुपमा तानिएको स्रोतले जनाएको छ ।
कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण,सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरुका एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो पटक हो ।
पाँच न्यायाधीशलाई काजमा झिकाउन सर्बोच्च अदालतबाट पत्र तयार भएको टिभी अन्नपूर्णले जनाएको छ । ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।






