सुन्दरीका लागि राजगद्दी त्याग


प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार

मलेसियाका सुल्तान मोहम्मद पाँचौंले एक सुन्दरीका लागि राजगद्दी त्याग गरेका छन् । मलेसियाका ४९ वर्षीय राजा मोहम्मद रुसी सुन्दरीको प्रेममा थिए । सुल्तानले ती सुन्दरीसँग विवाह गर्न चाहेकाले राजगद्दी त्यागेको बताइएको छ । एक्काइसौं सताब्दीमा पनि प्रेमका खातिर राजगद्दी परित्याग गरिएको यो घटना पछि फेरि एक पटक पुरानो इतिहास मात्र दोहोरिएको छैन, त्यसले सारासंसारलाई नै आश्चर्यचकित तुल्याएको छ ।

मलेसियाका सुल्तान मोहम्मदको १८ महिनाअघि मिस मस्कोको उपाधि जितेकी सुन्दरी ओक्साना भोइभोदिनसँग भेट भएको थियो । केही संचारमाध्यमले मोहम्मद र २५ वर्षीया सुन्दरी ओक्सानाबीच गोप्य रूपमा विवाह सम्पन्न भैसकेको बताइरहेका छन् । उनीहरूले मोहम्मदले राजगद्दी त्याग्नुको मुख्य कारण ओक्सानासँग विवाह गर्नु नै रहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा मोहम्मद र ओक्सानाका केही अन्तरंग तस्बिर सार्वजनिक भएपछि सुल्तानले ती रुसी सुन्दरीसँग विवाह गरिसकेको कुरालाई बल मिलेको छ ।

मिस मस्कोको उपाधि पाएकी ओक्साना मोडल तथा फेसन डिजाइनर समेत हुन् । युरोपमा पहिलो पटक भेट भएपछि झाँगिएको सुल्तान र सुन्दरीको प्रेम विवाहमा परिणत हुनुअघि ओक्सानासमक्ष इस्लाम धर्म स्वीकार गर्नुपर्ने सर्त राखिएको थियो । त्यसलाई ओक्सानाले स्वीकार गरिसकेको बताइन्छ । विवाहको प्रसंग चल्नुअघि सोसल मिडियामा निकै सक्रिय ओक्साना राजपरिवारसँग जोडिने भएपछि सामाजिक सञ्जालहरूमा समेत देखापर्न छाडेकी थिइन् ।

ब्रिटेनको उपनिवेशबाट सन् १९५७ मा स्वतन्त्र भएपछि मुस्लिम बाहुल्य मलेसियामा शाही परिवारका सदस्यहरू मात्र सुल्तान हुन पाउने नियम छ । यो नियमअनुसार त्यहाँका सुल्तानको पदाबधि ५ वर्षको हुन्छ । मोहम्मद पाँचौंले १५ औं सुल्तानका रूपमा सन् २०१६ मा राज्याभिषेक गरेका थिए । मलेसियामा राजघरानालाई सम्मानपूर्वक हेरिने र राजपरिवारको आलोचना हत्तपत्त नहुने हुनाले पनि मोहम्मदले राजगद्दीलाई विवादमा नपार्न पद त्याग गरेको बताइदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com