अख्तियारद्वारा एन्फामा अनियमितताबारे छानबिन शुरु


प्रकाशित मिति : २ माघ २०७५, बुधबार

काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ एन्फा मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले आयोगले प्रारम्भिक छानबिन शुरु गरेको जानकारी दिनुभयो ।

उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै उहाँले त्यसबारे युवा तथा खेलकूद मन्त्रालयमा छानबिन गर्न पत्र पठाइएको जानकारी दिनुभयो ।

“हामी छानबिनको प्रारम्भिक चरणमा छौँ, अहिले नै भ्रष्टाचार भयो भनेर भन्न मिल्दैन, छानबिनपछि सबै कुरा बाहिर आउँछ”, प्रवक्ता कोइरालाले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत वैशाखमा भएको एन्फाको नयाँ नेतृत्व चयनको निर्वाचनका क्रममा आर्थिक अनियमितता भएकोलगायत विभिन्न आरोप लगाउँदै आएका चार जिल्ला फुटबल सङ्घले केही दिनअघि अख्तियारमा उजुरी दिएका थिए ।

उजरी परेलगत्तै अख्तियारले मन्त्रालयलाई पत्र पठाउँदै १० दिनभित्र एन्फाबारे सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको छ ।

गत पुस १७ गते फुटबल सङ्घ काठमाडौँका अध्यक्ष विराटजङ्ग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए ।

यसैबीच एन्फाले वर्तमान नेतृत्वमाथि शृङ्खलाबद्ध आरोपहरू आउन थालेकामा चिन्ता व्यक्त गर्दै आरोप पुष्टि गर्न चेतावनी दिएको छ ।

एन्फा प्रवक्ता किरण राईले भन्नुभयो, “आरोप लगाएर मात्र हुँदैन प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित भए कारवाही भोग्न तयार छौँ, अन्यथा जिल्ला फुटबल सङ्घहरूमाथिनै कारवाही हुन्छ ।”

एन्फाले आफूमाथि लागेको आरोपसहित विभिन्न १० एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही माघ ३ गते बोलाएको छ । कार्यसमिति बैठकमा विराटनगरमा आगामी फागुनमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसीप, महिला टोलीको पुरस्कार, मोफसलमा हुने फुटबल प्रतियोगिताको वर्गीकरणलगायत विषयमा छलफल हुने प्रवक्ता राईले बताउनुभयो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com