‘आम्दानी कम हुने परिवारको व्यक्ति अण्डरग्रयाजुएटका लागि अमेरिका नआउनुस्’


प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार

कम आम्दानी हुने परिवारका विद्यार्थीहरु मास्टर्स डिग्री भन्दा तलको अध्ययनका लागि अमेरिकामा नआउन अमेरिकामा चर्चित नेपाली कानुन व्यवसायी केशव सेडाईले सुझाव दिनुभएको छ । अमेरिकामा छोराछोरी पढाउनका बार्षिक पन्ध्र बीसलाखदेखि सत्तरी असी लाखसम्म खर्च धान्न नसक्ने परिवारले कम्तीमा अण्डरग्रयाजुएटका लागि पढ्न अमेरिका नपठाउन उहाँले सुझाव दिनुभएको छ ।

खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी गर्दै सेडाईले भन्नुभयो – ‘उच्च आम्दानी हुने र विद्यार्थीको सबै खर्च धान्न सक्ने परिवारले आफ्ना छोराछोरीहरुलाई अण्डरग्रयाजुएट पढ्न पठाउन समस्या भएन । छात्रबृत्तिमा आउनेहरुलाई समस्या भएन । तर जसको खर्च धान्न सक्ने क्षमता छैन र छात्रबृत्तिपनि छैन भने त्यस्ता विद्यार्थीहरु कम्तीमा अण्डरग्रयाजुएटका लागि अमेरिका नआउनु राम्रो हुनेछ ।’

साइन्स, टेक्नोलोजी, इन्जिनियरिंग र म्याथका लागि हाइस्कुल सकेर ४ बर्षको स्नातक अध्ययनका गर्न अमेरिका आउन आवश्यक नरहेको पनि उहाँले स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘साइन्स, टेक्नोलोजी, इन्जिनियरिंग र म्याथमा अण्डरग्रयाजुएटको पढाई र भ्यालु संसारभरको एउटै छ । त्यसका लागि आफैलाई तनावमा हालेर, सकममा पारेर र अनावश्यक खर्च गरेर अमेरिकामा आउन जरुरी छैन ।’

पूरै भिडियो हेर्नुहोला ।

बरु उहाँले ४ बर्षको स्नातक तहको पढाई सकेर अमेरिकामा मास्टर्स तहको पढाईका लागि वा कामदार भिसाका लागि आवेदन दिन सुझाव दिनुभएको छ । अन्यथा अण्डरग्रयाजुएटका लागि सबै खर्चको व्यवस्थापन आफैले सानै उमेरमा गर्नुपर्दा विद्यार्थीहरु डिप्रेशनमा जाने, पढाइ राम्रो नहुने, कम स्कोर आउने लगायतका समस्या हुने गरेको उहाँको भनाई छ ।

अण्डर ग्रयाजुएटका लागि अमेरिका आइहालेमा र आर्थिक समस्या भएमा विशेष प्रकारको वर्क परमिट लिएर काम गर्न सकिने उहाँले जानकारी दिनुभयो । इकोनमिक हार्डसिपका आधारमा प्राप्त हुने उक्त वर्क परमिटबाट हप्तामा ४० घण्टासम्म काम गर्न सकिन्छ । यदि कुनै कारणवश नेपालमा रहेको परिवारको आर्थिक अवस्था बदलिएर कमजोर हुन पुगेमा त्यस्तो वर्कपरमिटका लागि आवेदन दिन सकिन्छ । तर त्यो वर्कपरमिट पाइसकेपछि विद्यार्थी भिसामा नेपाल गएर फर्कदा भने समस्या हुनसक्छ ।

मध्यमबर्गका परिवारले आफ्ना छोराछोरी अमेरिका गएपछि अध्ययन गरुन्जेल पैसाको आशा नगर्न समेत सेडाईले सुझाव दिनुभएको छ । परिवार र साथीभाईले पैसा र उपहारको आशा गर्दा विद्यार्थीहरुको पैसा कमाउनेतिर ध्यान जाने भएकाले पढाई र कानुनी स्टाटस दुबै बिग्रने खतरा हुने उहााको भनाई छ । उहाँले भन्नुभयो – ‘पढ्न आएकाहरुसँग पैसा र उपहारका लागि न्युनतम ५ सात बर्षको समय दिनुपर्छ । पढाई सकेर सेटल भइसकेपछि परिवारले आशा गर्नसक्छ । तर त्यो भन्दा अगाडि आशा गर्दा अनावश्यक दवाव बढ्छ । पढ्ने कि पैसा कमाउने भन्ने समस्या हुन्छ । र पढाई छुटेपछि जीवनभर आफ्नो पढाई अनुशारको काम नभएर अरु काम गरेर बिताउनुपर्ने हुनसक्छ ।’

नेपालमा हुने परिवारले अमेरिकामा हुने विद्यार्थीहरुलाई इमोशनल सपोर्ट दिनुपर्ने सेडाईको सुझाव छ । उहाँले भन्नुभयो – ‘परिवारले हामीलाई पैसाको आशा छैन, आफू बन, गरेर खाउ भनेर सपोर्ट गर्नुपर्छ ।’

पढाई सकेपछि पनि नेपाली विद्यार्थीहरु अमेरिकाबाट नेपाल नफर्कने समस्या रहेको अवस्थामा सेडाईले यसबारे पनि महत्वपूर्ण सुझावहरु दिनुभएको छ । विगत २ बर्षमा अमेरिकामा पढाई सकेका १२ सयभन्दा धेरै नेपाली विद्यार्थीहरु ओभरस्टे भएका छन् । पढाई सकेपछि स्वदेश फर्कनका लागि परिवारले प्रोत्साहित नगर्ने, विद्यार्थी आफैले नेपालमा फर्केर भविश्य नदेख्ने लगायतका कारणले नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे हुँदा आफ्नो क्षमता र पढाई अनुशारको काम नहुँदा सामान्य काममा जीवन गुजार्नुपर्ने समस्या आउने गरेको छ ।

पढाई सकेर अमेरिकामा ग्रिनकार्डमा जाने बाटो नभएको खण्डमा तत्काल नेपाल फर्कन सेडाईले सुझाव दिनुभएको छ । अमेरिकाबाट पढाई सकेर फर्कनेहरुका लागि अमेरिकामा सम्बन्धित कम्पनी भएका भारतमा रहेका कम्पनीहरुमा समेत प्रसस्त अवशर हुने र पछि एलवान वा एचवान कामदार भिसामा अमेरिकामा आउन सकिने सेडाईको भनाई छ । सेडाईले भन्नुभयो – ‘पहिले नै ओभरस्टे भएर स्टाटस गोलमाल गर्नुभएन । बरु फर्केर पछि आउने प्रसस्त सम्भावनाहरु रहने भएकाले त्यस्ता सम्भावनाहरुको उपयोग गर्नुपर्छ ।’

सेडाईले भन्नुभयो -‘अमेरिकाबाट पढाई सकेर नेपाल फर्केकाहरु पनि एचवानबी भिसामा आउन सक्छन् । भारतमा एकलाख बढी कम्पनीहरु अमेरिकामा रहेका कम्पनीसँग मिलेर काम गरिरहेका छन् । कामदारभिसामा नेपाल, चीन, भारत जहाँबाट पनि ग्रिनकार्ड हुनेगरी नै अमेरिका आउन सकिन्छ । त्यसैले पढाई सकेपछि ग्रिनकार्डको बाटो भेटिएनभने परिवारले विद्यार्थीहरुलाई नेपालमा फर्कन सुझाव दिनुपर्छ । त्यस्ता दक्ष र क्षमतावानका लागि अवशर सृजना गर्न सरकार, परिवार र निजीक्षेत्रले ध्यान दिन जरुरी छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com