जन्मदा छोरा, हुर्कंदा छोरी

प्रकाशित मिति : पुस १०, २०७३ आईतबार

अस्मिता खड्का /काठमाडौं
‘सुनिता के.सी. (नाम परिवर्तन) जन्मदा पुरुष थिए । हुर्कदै जाँदा उनको स्वभाव, चालढाल, श्रृगार र हिँडाई महिलाको जस्तै हुन थाल्यो । पुरुषप्रति उनको बिस्तारै आकर्षण बढ्न थालेपछि आफै चकित परे । ‘छोरा भएर जन्मिए । हुर्काई पनि छोराको जस्तै भयो । तर,मेरा इच्छा चाहना सबै केटीको जस्तो छ’ केसीले भने ।

उनी साथीहरुसँग महिलाकै पहिरनमा हिँड्न मन पराउँछन् । तर, बाध्यता घर जाँदा पुरुषकै लुगा लगाउनुपर्छ । घर बाहिर महिलाको पहिरन लगाउँदा मन खुसी हुने र घर जाँदा पुरुषकै पहिरन लगाउन बाध्य हुने, यस्तै अन्तर द्वन्दमा बाँचिरहेका छन उनी । भन्छिन् ‘इच्छा चाहाना सबै केटीको जस्तो छ । समाजमा मैले केटाको भूमिका निर्वाह गर्दा एकदम्मै गाह्रो महसुस हुन्छ ।’

उनी तेस्रोलिङ्गी भएको थाहा पाउने बाहिरी व्यक्तिबाट मात्र होइन, आफ्नै परिवारबाट पनि दिनहुँ मानसिक हिंसामा परेका छन् । ‘यो तेस्रोलिङगी हो । केटीसँग विहे गर्दैन । विहे नगरेपछि यसलाई अंश किन चाहियो’, भन्दै घरपरिवारले वारम्बार उनलाई मानसिक पिडा दिए । अंश चाहिने भए केटीसँग विहे गर, नत्र दिँदैनौ भन्दै उनलाई दवाव दिने गरेको छ परिवारले । ‘मलाई केटीप्रति आकर्षण नै छैन । अंशको लागि एउटा केटीकोे जिन्दगी कसरी बरबाद गर्ने? त्यसैले गाउँ छोडेर काठमाडौँ आएको हुँ ।’

काठमाडौँमा केही समयपछि उनी जस्तै साथी भेटिइन । एक अर्कालाई आफ्ना पिडा सुनाउन थालेँ । यसैक्रममा उनीहरु बीच माया बस्यो । अहिले विवाह गरेका छन् । विवाह भएको घरपरिवारलाई पत्तो छैन । उनी काठमाडौँमा आफ्नो पहिचान लुकाएर बसेका छन् । एउटा केटा र अर्को केटीको पोशाक लगाउँछन् । समाज र परिवारले गर्ने दुव्र्यवहारको कारण  उनी खुल्न चाहाँदैनन् ।
यो समुदायको मानिसलाई खुल्न पनि त्यत्ति सजिलो छैन । समाजले गर्ने तिरस्कार, विभेद र हिंसाको डरले आफ्ना इच्छा र चाहना  लुकाएर राख्छन् उनीहरु । पाल्पाकी सिर्जु थापा तेस्रोलिङ्गी भएको कारण राम्रोसँग पढ्न पाइनन् । उनको स्वभाव केटीको जस्तो देखिएपछि स्कुलबाट नै निकाल्यो । त्योबेला स्कुलमा हिजडा, छक्का भन्दै अपमान गरेको कुरा सुनाउँदा उनका आँखाबाट आशु बिगिरहेका थिए । स्कुलका सङ्गी साथीहरुले ‘यो हिजडा’लाई स्कुलमा राख्नु हुँदैन भन्दै तिरस्कार गर्दाको क्षण निकै पीडादायक थियो । त्यसपछि उनले पढ्न छोडिदिइन ।

उनी अहिले पनि आमालाई भेट्न लुकेर जान्छिन् । आमालाई लुकेर भेटेको सुनाउँदै भनिन् ‘तेरो छोरा केटी बेनर आयो भने गाउँसमाजबाट बाहेक गरिदिन्छौँ भन्दै छिमेकीहरुले आमालाई धम्काउँने गर्दछन् ।’ गाउँलेहरुले आमालाई मानसिक यातना दिन थालेपछि सिर्जुले पाल्पा छोडेर काठमाडौँ आएकी हुन । उनलाई समाजको ठूलो डर छ ,कत्तै आफ्नो परिवार समाजको बहिस्करणमा त पर्ने  होइन ? । उनले दिनको उज्यालोमा आफ्नो घरको आगन टेक्न नपाएको १५ वर्ष भयो । उनी पनि जन्मदा छोरा थिईन । यस्तै अन्तरलिङ्गी इसान रेग्मीको पीडा माथिका पात्रहरुको भन्दा अलि फरक छ । उनी जन्मदा योनाङ्ग प्रस्ट थिएन । तर, परिवारले उलाई छोरीको रुपमै हुर्काए ।

परिवारले उनको नाम पार्वती कुमारी रेग्मी राखिदिन । उनका सबै प्रमाणपत्रहरुमा पार्वती रेग्मी लेखिएको छ । तर, हुर्कंदै जाँदा उनको विकास पुरुषको रुपमा भयो । केटाको जस्तो दाह्री जुँगा आएको छ तर नाम केटीको छ । उनले आफूलाई अहिले इशान रेग्मी भनेर चिनाउँछन् । यो नाम कुनै पनि प्रमाणपत्रमा भने लेखिएकोे छैन ।

उनले आफ्नो पीडा सुनाउँदै भने ‘नागरिकता महिलाको नाममा छ हेर्दा पुरुष देखिन्छ, क्षमता भएर के गर्नु कसैले जागिर नै दिँदैनन् ।  चालनक अनुमतिपत्र बनाउन गयो हुँदैन, सम्पत्ति किन्न खोज्यो  हुँदैन  । म अनागरिक भएर बाँच्नु परेको छ ।’
पोखराकी सोफिया लामा पनि जन्मदा छोरा थिइन । अहिले उनी आफूलाई महिलाको रुपमा प्रस्तुत गर्दछिन् । उनी पोखरामा डेरा गरेर बस्छिन् । घरपरिवारको साथ नपाएपछि उनी गोरखाबाट पोखरा आएकी हुन । सानो कुरामा पनि घरबेटीले  कोठामा पसेर सामान फ्याकि दिने गरेको पीडा सुनाउँदै भनिन् ‘हामीलाई घरभाडामा पाउन पनि गाह्रो छ । पाए पनि अरुलाई भन्दा डबल भाडा भन्छन् , के गर्ने तिर्न बाध्यछौँ ।’

तेस्रोलिङ्गी भएको थाहा पाएपछि घरबेटीले ६/६ महिनामा भाडा बढाउने गरेको उनको भनाइ छ ।  तेस्रोलिङ्गी र समलिङ्गीहरुको अधिकारको क्षेत्रमा काम गर्दै आएको निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङ पनि जन्मदा पुरुष भएर जन्मिए । उनी ९ वर्षको हुँदा आफू अरुभन्दा फरक भएको अनुभूति भएको सुनाइन । उनले भनिन् ‘आफू पुरुष हुँ, भन्ने देखाउन खोजे पनि स्वभाव महिलाको जस्तो हुन्थ्यो ।’

घरपरिबारलाई पिंकीले बिस्तारै आफ्ना भनुभूति सुनाउन थालिन र २९ वर्षको हुँदा परिवारमा आफ्नो बारेमा खुलेर बताँइन । उनी तेस्रोलिङ्गी भनेर परिवारबाट  अपमानित हुनु परेन । तर, त्यतिबेला उनले समाजमा धेरै कुराको समाना गर्नु पर्यो ।
तेस्रोलिङ्गी भएकै कारण अहिले पनि उनीहरु अनगिन्ति पीडाको शिकार बन्नु परेको छ । तेस्रोलिङ्गी बन्नु उनीहरुको रहर होइन, यो त प्रकृतिक कुरा हो । नत यो कुनै रोग हो, नत कुनै गल्ति नै । तर, पनि नेपाली समाजले यो समुदायप्रति नकारात्मक दृष्टिकोण राख्दछ  । पूर्वजन्ममा पाप गरेको कारण  न महिला न पुरुष भएको भन्ने कुरा समाजमा जबरजस्त स्थापित गरिएको छ ।

हाम्रो सोचमा अहिले पनि समाजमा महिला र पुरुष बाहेक अरु हुँदैन भन्ने कुराले गहिरोसँग घर गरेको छ, जसको कारण यो समुदायलाई मानिसहरु सहजै स्विकार गर्न सक्दैनन् । समाजको यहि सोच परिवर्तन गर्न उनीहरु निरन्तर संघर्ष गरिरहेका छन् ।
विकसित मुलुकको तुलनामा नेपालमा अहिले पनि यो समुदायलाई हेर्ने दृष्टिकोण नकारात्मक नै छ । समाजमा आफूलाई सभ्य सम्झने मानिसहरु यो समूदायलाई समाजमा विकृति फैलाउने समुह हो भन्ने धारणा राख्दछन् ।
पूर्व न्यायाधीस बलराम के.सी भन्छन्‘पुरुषले थिचेको हाम्रो समाजमा तेस्रो लिङ्गीलाई झनै कठिन छ, र थियो । समाजले महिला र पुरुष मात्र देख्यो, तेस्रो समुदायलाई देख्न सकेन ।’

यौनविज्ञ डा.सुवोधकुमार पोखरेल भन्छन् ‘यो प्राकृतिक कुरा हो । उनीहरु समाज भन्दा अलग्गै होइनन् । उनीहरुले चाहेर बनाएको जिवन शैली पनि होइन । यौनिक पहिचान एकातिर हुन्छ भने शरीर अर्कोतिर विकास भएको हुन्छ ।’ नयाँ संविधानले लिङ्गको आधारमा कसैलाई पनि भेदभाव गरिने छैन त भनेको छ तर आफूहरुले पाइला पाइलामा विभेद र अपमान भोग्नु परेको तेस्रो लिङ्गी भूमिका श्रेष्ठ बताउँछिन् । उनी आफ्नो समुदायले भोग्नु परेको विभेदका विरुद्धकाम गर्दै आएकी छिन् । उनी विदेश यात्राका क्रममा यौन हिंसामा परेको पनि सुनाइन । यौनिक अल्पसंख्यक तेस्रोलिंगीहरुका लागि कृयाशिल ब्लू डाइमण्ड सोसाइटीबाट विभिन्न खाले सेवा लिएका तेश्रो लिंगीहरुको संख्या नेपालमा अहिले ७ देखि ८ लाख छ । तर, विलियम संस्थाले गरेको अनुसन्धानमा भने करिब ९ लाखको हाराहारीमा  रहेको तथ्यांक छ ।
नयाँ संविधानमा तेस्रो लिङ्गीको पहिचान, समनाता र संलग्नताको व्यवस्था छ, तर यो सम्बन्धी कानुन अझै बनेको छैन ।
पुरुष र महिलाले परिवारदेखि सबैतिर जे जस्तो स्थान र सम्मान पाएका छन् तेस्रो लिङ्गीले पनि त्यही रुपले अधिकार र सम्मान पाउनु पर्दछ भन्ने आवाज नेपाली समाजमा अहिले बुलन्द बन्दै आएको छ ।

विभेदकारी कानुन परिवर्तन महत्वपूर्ण विषय हो तर, त्यसकोसाथै यो समुदायलाई हेर्ने समाजको दृष्टिकोणमा पनि परिवर्तन ल्याउन त्यत्तिकै चुनौतीपूर्ण रहेको अधिकारकर्मीहरु बताउँछन् । यौन व्यवहारमा महिला र पुरूषको भन्दा फरक चाहना राख्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय आफ्नो पहिचान सहितको अधिकार समाजमा स्थापित गर्न पहिलाको तुलनामा अहिले खुलेरै बहस गर्न थालेका छन । यसको अर्थ उनीहरुले समाजमा मानसिक यातना भोग्नु परेको छैन् भन्ने पटकै होइन ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com