न्युयोर्क क्वीन्सको ७५ स्ट्रीटलाई ‘माउन्ट एभरेष्ट वे’ नामाकरण गर्ने सरकारी निर्णय


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई उपनाम माउन्ट एभरेष्ट वे नामाकरण गर्ने न्युयोर्क सिटी काउन्सिलले निर्णय गरेको छ । ७५ स्ट्रीटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रस्ताव सिटी काउन्सिलबाट पारित भएको हो ।

उक्त प्रस्ताव न्युयोर्क सिटीका काउन्सिल सदस्य कोस्टा कोन्स्टानटिनिडेजले बैठकमा राखेका हुन् । कोस्टाले न्युयोर्क सिटी काउन्सिलमा २२ औं जिल्लाको प्रतिनिधित्व गर्छन् । गत नोभेम्बर ११ मा एनआरएनए अमेरिकाको न्युयोर्क च्याप्टरले आयोजना गरेको सामुदायिक बैठकमा ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रस्ताव गरिएको थियो । उक्त बैठकमा न्युयोर्क सिटी काउन्सिलका प्रतिनिधिको उपस्थीति रहेको थियो ।

७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गरिएकोमा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले काउन्सिल सदस्य कोष्टालाई विशेष धन्यवाद दिनुभएको छ । कोष्टाले न्युयोर्क राज्यमा ड्राइभर लाइसेन्स र आइडी फर्म नेपाली भाषामा भर्न सकिने व्यवस्थाका लागि समेत पहल गरेका थिए ।

अधिकारीले यादव बास्तोला लगायत नेपाली समुदायका सदस्यहरु र न्युयोर्क सिटी काउन्सिलका प्रतिनिधि जोय चौधरीलाई समेत विशेष धन्यवाद दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com