नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण जुन २८ देखि


प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार

नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण २०१९ जुन २८ देखि ३० सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले विगत ३ वर्ष देखि महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने तेस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।

चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र , छोटा चलचित्र , एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता÷निर्देशक तथा कलाकारसँग बृहत छलफल कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिनेछ । यस महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृतिसम्बन्धीको साझा मञ्चको रुपमा स्थापित भएको छ ।

गत मे महिनामा सम्पन्न दोस्रो महोत्सवमा कथानक तर्फ नविन अवालेद्वारा निर्देशित ‘बिजुली मेसिन ’, डकुमेन्टी तर्फ मिरण्डा मोरटनको ‘ डटर्स अफ कर्भ माउन्टेन ’, लघु चलचित्र तर्फ निर्देशक शिरी पामुनी इशेलको ‘मारिया ’, र स्पेशल जुरी मेन्सन अवार्ड तर्फ निर्देशक प्रकाश आङ्ग्देम्बेको ‘देश खोज्दै जाँदा’ र माइल डी. लगाडेकको ” गर्ल्स फ्याक्ट” उत्कृष्ट चलचित्रहरुमा परेका थिए । उक्त महोत्सवमा नविन सुब्बाद्वारा निर्देशित “गुडबाई काठमान्डू” उद्घाटन चलचित्र र समापनमा चलचित्र ‘देश खोज्दै जाँदा’ प्रदर्शन गरिएको थियो ।

चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ र फिल्म सोसाइटीको कार्यालय अमेरिकाको ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने छ । नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको वेभसाइटमा उपलब्ध छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com