आईजी सहभागी कार्यक्रममा तस्करीका अभियुक्त : कमजोरी आईजीको कि आयोजकको ?


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

– राधाकृष्ण देउजा 

सार्वजनिक कार्यक्रममा को को आउँदैछ भन्ने कुरा आयोजकले ख्याल गर्न जरुरी छ । अन्यथा विदेशमा नेपालीले गर्ने सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि गरिएको निम्तो उच्च पदस्थहरुले ससम्मान अस्वीकार गर्न जरुरी छ । मुख्यमन्त्री शेरधन राईले अमेरिका भ्रमण र प्रहरी प्रमुख सर्बेन्द्र खनालको दुबई भ्रमणका क्रममा नेपालीका कार्यक्रममा सहभागी हुँदा विवाद खेप्नुपरेको छ ।

 

भर्खरै मात्रै इन्टरपोलले दुवाइमा आयोजना गरेको आफ्नो विश्व सम्मेलनरकार्यक्रममा सहभागी भएर नेपाल फर्किएका नेपाल प्रहरीका प्रमुख सर्बेन्द्र खनालले उक्त भ्रमणकै समयमा  गैर आवासीय नेपाली संघ यूएइ  कार्यक्रममा पनि सहभागिता जनाएको देखिएको थियो । अक्सर प्रवासमा  हुने कार्यक्रमहरुमा देशबाट आएका गण्य मान्नेहरुलाइ अतिथिको रुपमा बोलाउने र वहाँहरुको विचार सुन्ने चाहना राखिन्छ , जुन सत्य प्रति विदेशमा बसेर मजदुरी गरिरहेको प्रवासी भएकोले म आफैं पनि जानकार छु ।

कतिपय अवस्थामा मातृभूमि बाट भिन्नै कार्यक्रम र लक्ष्य लिएर आउने ठुला बडालाइ कार्यक्रममा सहभागिता जनाउन अनुरोध गर्दै , यो वा त्यो भनेर मनाउदै कार्यक्रममा सहभागी बनाउने मध्यको एक पात्र  पनि रहेको छु । केहि दिन अगाडी मात्रै पनि निजी भ्रमणमा आएका माननीय मुख्यमन्त्री शेरधन राइलाइ हाम्रो कार्यक्रममा सहभागी हुन अनुरोध गरेर आउन बाध्य बनाएर विचरा मुख्यमन्त्रीलाइ अनावश्यक विवादमा पार्नुको पिडाले गर्दा सार्वजनिक माफी नै मागेको थिएँ । तर हाम्रो अनुरोध हार्न नसकेर कार्यक्रममा आएका शेरधन राइले हाम्रो माफीको वावजुद  जसरि विवादित हुनु पर्यो अहिले त्यस्तै नियति आइजीपी सर्बेन्द्र खनालले  भोगिरहेको जस्तो लाग्दैछ किनकि आफ्नो निर्धारित कार्यक्रम सम्पन्न गरेर स्वदेश फर्कीसकेको अवस्थामा  आइजीपी खनाल समेत सहभागी भएको एनआरएनको कार्यक्रममा सहभागी केहि व्यक्तिको पृष्ठभुमिलाइ लिएर तत व्यक्तीहरुसंग आइजीपीको भेट पनि नभएर देखादेख हुनुलाइ  समेत नियोजित र खराव मनशायका साथ गरिएको भेटघाट जस्तो ढंगले प्रचार गरिएको देखिएको छ ।

सरकारी निकायका जिम्मेवार पदमा बसेका जोसुकैको गतिविधिहरुमा सवैको नजर रहन्छ रहनु पनि पर्छ , त्यसो हुँदा त्यस्ता पदाधिकारीहरुलाइ सदैव कर्तव्यनिष्ठ रहन मात्रै हैन कुनै हालतमा गल्ति नगर्न प्रेरणा पनि मिल्ने गर्छ १ यो सिद्धान्तलाइ सम्मान गर्दै भन्नु पर्दा आइजीपी सहभागी कार्यक्रमका सम्वन्धमा आएका समाचारहरुको नियतमा सवाल उठाउने ठाउँ छैनन तर त्यसो भन्दै गर्दा पनि आएका समाचारहरुले जन्माउन सक्ने  भ्रम र त्यसको प्रभाव प्रति भने संचारजगत , प्रहरी संगठन मात्रै नभएर सर्वसाधारण जनता समेत सचेत रहन जरुरि छ र सत्यलाई जस्ताका तस्तै राखिदिनु पर्ने आफ्नो दाइत्व स्मरण गरिनु पर्छ । त्यसैले आइजीपी सर्बेन्द्र खनालको भ्रमण र त्यसले सृजना गरेको समाचारहरुको सम्वन्धमा निम्न तथ्य बुझ्न र बुझाउनु वान्छनीय हुनेछ ।

१। सर्वप्रथम अहिले आइरहेका र विगतमा आएका केहि समाचारले आफ्नो देशलाइ माया गर्ने नेपाली जो वाध्यताले विदेशिएका छन उनिहरुले अतिथिको रुपमा बोलाउँदा उक्त कार्यक्रमहरुमा जानु नै गल्ति हो कि भन्ने मनाशिकता विकास गराउने खतरा रहन्छ जुन कसैको निम्ती पनि हितकर हुदैन , किनकि त्यसले गैर आवासीय नेपालीहरुलाइ नेपालसंग जोडी राख्ने कामलाइ ठहरावमा पुर्याउंछ । त्यसो हुनाले गैर आवासीय नेपालीहरुले गरेको सार्वाजनिक कार्यक्रममा आइजीपी वा कोहि पनि आमन्त्रित जानु बेठिक थिएन र हैन । हो कार्यक्रमका दौरान हुने गतिविधि वा सहभागीहरुको आचरणले गर्दा कुनै घटना हुने वा कुनै समाचार बन्न सक्ने समाचार प्रति सजग रहँदै अतिथ्यताको अनुरोधलाइ नै अस्विकार गर्दै आफुलाइ विवादमा नपार्न सकिन्थ्यो होला तर त्यसो गर्दै गर्दा अतिथ्यताको अनुरोध गर्ने ठुलो पङ्क्तिलाइ दुखित पार्नु ठिक हुन्थ्यो त ? यो गम्भीर सवाल हो जसको उत्तर सवैले वस्तुनिष्ठ ढङ्गले खोज्नु पर्छ ।

२। नेपालका राजकीय निकायमा  कार्यरत वा सार्वजनिक जीवन जिउने जोसुकैले पनि भोग्नु पर्ने नियति के हो भने उनीहरुको निजि तथा पारिवारिक जीवननै हुदैन किनकि उनीहरुलाइ यस्तो वा त्यस्तो रुपमा व्यस्त बनाइराख्ने गरिन्छ , भेटनेले भेटिदिने हो भने २४ घण्टामा कुनै प्रहर खाली समय हुदैन,भेटघाट गर्न आउनेको कमि रहँदैन ।  यस्तो अवस्थामा संयोगले  परिवार सहित विदेश गएको समयमा औपचारिक र गर्नै पर्ने कामबाट बाँचेको समय पनि समाजको निम्ती दिएर सार्वजनिक सक्षात्करमा सहभागी हुने आइजीपी वा अरु कसैको  कार्यको तारिफ गरिनुको साटो कार्यक्रममा आयोजकको निम्तोमा  आएका अर्को कुनै सहभागीको  पृष्ठभूमिलाइ लिएर “ फलानो सहभागी कार्यक्रममा त्यो पदको मान्छे पनि सहभागी” भन्ने आसयको समाचार छापिनु  न्यायोचित देखिदैनन र हुदैनन ।

३। अर्को महत्वपूर्ण कुरा के हो भने खराव कामहरु गर्नु छ , अनुचित भेटघाट गर्नु छ भने सामान्य मान्छेले पनि  सार्वजनिक फोरम वा स्थानको प्रयोग गर्दैन  तर यहाँ त आएका समाचारहरुले त एनआरएन युएईले  गरेको कार्यक्रममा आइजीपी सुन तस्करसँग भेटन र सम्वन्ध बनाउन गएको जस्तो आसय प्रकट गरेको छ । हामि सबैले  आफैँसंग सोधौं के तस्करहरुसंग साँठगाँठ गर्नु थियो भने आइजीपी लौ आउनुस म तस्करसँग गठबन्धन गर्दै छु तस्विर खिच्नुस , समाचार बनाउनुस भन्ने शैलीमा सार्वजनिक फोरममा तस्कर भेटन  जान्थे होला ? चिन्ता र चासो त अ आइजीपी सार्वजनिक रुपमा नदेखिएको , कसैको , सम्पर्कमा नआएको अवस्थामा पो गर्नु पर्थ्यो त , कि कसो ? अपराधिक साँठगाँठ  दुनियाका सामु कसैले गर्ला ? यत्ति सामान्य सत्य त भुल्न भएन नि !

४। त्यसमाथि सबैले  भुल्न नहुने तथ्य के हो भने अहिलेको समय सुचना , प्रविधिक युग हो जनता जागेको युग हो , यहाँ अनुचित काम  गर्न असम्भव नै त भैनसकेको होला तर त्यसो गरेर लामो समयसम्म चल्न सम्भव छैन । यस्तो तथ्य आफ्नो योग्यता , क्षमता र त्यसैको प्रयोगको आधारमा आर्जित लोकप्रियताको जगमा आइजीपी भएका सर्बेन्द्र खनालले नबुझेका होलान ? र उनि सार्वजनिक कार्यक्रमहरुमा तस्करसंग भेटन  जालान ? किमार्थ त्यस्तो हुन् सक्दैन भन्दा गलत पक्कै भइने छैन । त्यसैले आएका समाचारहरुकै आधारमा आइजीपी सर्बेन्द्रको कहीं कतै सुन तस्करसंग साइनो छ कि , सम्वन्ध छ कि भन्ने ठान्नु पर्दैन किनकि उनि  जत्तिका अधिकृतले सादगी जीवनको आनन्द र त्यसले दिने सम्मान मात्रै हैन तस्कर अनि तिनका मतियारको अन्तिम गन्तव्य काल कोठारी हो भन्ने पनि बुझेकै हुन्छन ।

उल्लेखित सत्यहरुको  वोध गर्दै , बुझ्दै बुझाउँदै गर्दा पनि सबैले यो र यस्ता घटनाहरुबाट केहि सिक्नु पर्छ । सर्वप्रथम हामी जस्ता प्रवासीहरुले सिक्नु पर्छ कि देशबाट आउने ठुला बडालाइ मौका मिल्नासाथ निम्तो गर्दै , हार्न नसक्ने बनाएर  कार्यक्रम गर्ने हाम्रो कदमले हाम्रो आथित्यलाइ स्वीकार्दै कार्यक्रममा  सहभागी हुन आउने अथितीको संवेदनशीलतालाइ पनि विचार पुर्याउनु पर्ने रहेछ भन्ने सिक्नु पर्ने देखिन्छ । साथै कार्यक्रममा सहभागी हुन भनेर हामीले बोलाउने अन्य अतिथि र सहभागीहरुको उपस्थितिलाइ अन्य कुनै हिसावले व्याख्या गरिन सक्ने संभवाना  छ वा छैन भन्ने पनि हामीले बुझ्नु पर्ने देखिन्छ । साथै नेपालबाट संसारका बिभिन्न देशमा जाँदा त्यहाँ आयोजना गरिने कार्यक्रमहरुमा सहभागी भैदिन गरिने अनुरोधहरुलाइ ससम्मान  अस्विकार गरिदिँदा निम्तो गर्नेको मन दुखे पनि  आफुहरुले अनावश्यक आरोप, प्रत्यारोप  र तनाव व्यहोर्नु नपर्ने रहेछ भन्ने आइजीपी साबले मात्रै हैन सम्माननीय प्रधानमन्त्रीज्युसम्मले हेक्का राख्दा हुने भयो  ।

खैर जे होस, जे जस्ता समाचार आएको भएपनि, आशँका गरिएको भएपनि  सत्य के हो भने नेपाल प्रहरीले कुनै पनि प्रकारको तस्करीलाइ छुट दिने छैन , त्यसको नेतृत्व गरिरहेका आइजीपी सर्बेन्द्र खनाल सहभागी भएको कुनै सार्वजनिक कार्यक्रममा संयोगले सहभागी हुँदैमा कुनै तस्करले सुरक्षित हौंला भन्ने ठानेछ भने त्यो उसको गम्भीर  भुल हुनेछ, हल्ला , आशँका र भ्रमलाइ चिर्दै सवै खालका अपराधमा संलग्नहरुको दोहोलो काढ्न न प्रहरीले छोडने छन न त्यसको नेतृत्व गरिरहेका आइजीपी खनालले त्यस्तो हुन दिनेनै छन । आगे समयले देखाउँने नै छ ।

फोटो : नेपाल खबर

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com