अमेरिकाको विनयतारा फाउण्डेसनको भारतमा सेवा


प्रकाशित मिति : मंसिर २९, २०७३ बुधबार

 

विनयतारा फाउण्डेसन (बिटिएफ) ले भारतको मध्यप्रदेश सरकारसँग जिल्ला अस्पताल उज्जयनमा पेलिएटिभ केयर (पीडा कम गर्ने) तथा होम हस्पीस स्थापना गर्ने बारे सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यो सात करोड तीस लाख जनसंख्या रहेको राज्यमा प्रदान गरिएको पहिलो होम हस्पीस तथा पेलिएटिभ सेवा हुनेछ ।

होम हस्पीसको उद्देश्य चरम अवस्थाका बिरामीलाई उनीहरुको जीवनका अन्तिम केही महिना परिवारका साथ बीना पीडा र छटपटी शान्ति तथा सम्मानसँग जीउने व्यवस्था गर्नु हो । यसप्रकारको होम हस्पीस कार्यक्रममा हस्पीस केयर टिम यस्ता बिरामीहरुको घरमै गएर उनीहरुलाई चाहिएको सेवा प्रदान गर्दछन् ।

नोभेम्वर २१, २०१६ मा बिटिएफका अध्यक्ष डा. विनय शाह र मध्य प्रदेश लोक स्वास्थ्य एवम् परिवार कल्याण विभागका प्रतिनिधि कलेक्टर संकेत बोन्धेले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । समारोहमा मध्य प्रदेशका उर्जा मन्त्रि  प्रकाश चन्द्र जैन लगायत अन्य सकारी पदाधिकारी पनि उपस्थित थिए ।

यस सम्झौता अनुरुप बिटिएफ चिकित्सक तथा नर्सहरुलाई तालिम दिनेछ र हस्पीस कार्यक्रमका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम प्रयोग गर्न सहयोग गर्नेछ । एक चिकित्सक र चार नर्सको एउटा टिमलाई चार हप्ते तालिमका लागि मार्च २०१७ मा अमेरिका लगिनेछ र सोहि टिमलाई अमेरिकाका पेलिएटिभ केयर दाताहरुले भारतमा थप आठ हप्ता तालिम दिनेछन् ।

हस्पीस केयर भारतमा नयाँ कन्सेप्ट हो । सहारोहमा विधायिका, स्वास्थकर्मी तथा सरकारी पदाधिकारीहरुलाई सम्बोधन गर्दै बिटिएफका अध्यक्ष डा. विनय शाहले भन्नुभयो -‘ यस हस्पीस तथा पेलिएटिभ केयर कार्यक्रमले मध्य प्रदेशका सात करोड ३० लाख जनतालाई हस्पीस सेवा दिने मात्र होइन, भारतको स्वास्थ्य इतिहासमा नयाँ अध्याय पनि लेख्नेछ ।’ भ्रमणको क्रममा नेपाली अमेरिकन हेमाटोलोजिस्ट एवम् मेडिकल अन्कोलोजिस्ट डा. शाहले जिल्ला अस्पताल उज्जयनका १५ क्यान्सरका बिरामीहरुको जाँच गर्नुभएको थियो ।
बिटिएफले काठमाडौं नेपालमा सफलतापूर्वक होम हस्पीस स्थापना गरेको छ । सन् २०१६ जनवरी यता ७० भन्दा धेरै बिरामीले हस्पीस सेवा प्राप्त गरिसकेका छन् । विनयतारा फाउन्डेसन इलिनोइसको आन्तरिक राजस्व कानूनको दफा ५०१ (ग) (३) बमोजिम करछूट हुने गैर मुनाफायुक्त संस्था हो । बिटिएफ लोक कल्याणकारी योजना भित्र बोनम्यारो प्रत्यारोपण केन्द्र (बोनम्यारो ट्रान्सप्लान्ट सेन्टर ), होम हस्पिस कार्यक्रम (होम हस्पिस प्रोग्राम), क्यान्सर स्क्रिनिङ, श्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुराहरु पर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com