प्रदेश ३ को राजधानीबारे हेटौंडावासीको तर्क- काठमाडौंलाई मानिन्न, रसुवा लगे हुन्छ


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

अस्थायी राजधानी रहेको हेटौडाका चिया पसलदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्म अहिले एउटै चासो छ- प्रदेश ३ को स्थायी राजधानीबारे काठमाडौंमा के खिचडी पाक्दैछ ?

अबको दुई हप्तामै स्थायी राजधानीको टुंगो लाग्ने मुख्यमन्त्री डोरमणि पौडेलको अभिव्यक्तिपछि हेटौडाबासीहरुमा यसबारे चासो बढेको छ ।

प्रदेश ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा जनस्तरमा जसरी खुला बहस चलिरहेको छ, राजनीतिक स्तरमा भने कोही पनि नेता वा सांसदहरु मुख खोल्न तयार छैनन् । राजधानीबारे सबैका आ-आफ्नै लाइन र मत छन् ।

प्रदेश ३ को राजधानी काभ्रेमा सार्न खुला रुपमा अभियान चलाइरहेका केशव स्थापित मन्त्री पदबाट बर्खास्त भएपछि अझ यो मुद्दा पेचिलो बनेको छ । मुख्यमन्त्री पौडेलले आफ्नै निर्वाचन क्षेत्र रहेको हेटौंडामा प्रदेशको राजधानी राख्न खोजेको बुझ्नेहरुलाई स्थापितको बर्खास्तीले मसला थपिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजधानीबारे प्रदेशका अरु १२ जिल्लामा जति चासो छ, हेटौंडामा त्यो भन्दा कयौं गुणा बढी चिन्ता छाएको देखिन्छ । हेटौंडाका जनजनको मनका आशंका छ, अस्थायी रुपमा आएको राजधानी काठमाडौं उपत्यका वरपर नै र्फकन्छ कि ?

अनलाइनखबरले कुराकानी गर्दा हेटौंडाका स्थानीयलाई अहिले राजधानी काभ्रे वा भक्तपुर जान्छ कि भन्ने पिरलो भेटियो । उनीहरुलाई अस्थायी राजधानी ल्याएर हेटौंडामा गरिएको तामझामहरु प्रदेशसभामा एकपटक टेबल बजाएरै फिर्ता लगिन्छ कि भन्ने चिन्ता रहेछ ।

सांसदका काठमाडाैंका घरले बढाएको अाशंका

तर, यो राजनीतिक विषय भएकाले सबै विषय नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा छ भन्ने कुरा हेटौंडाले राम्रैसँग बुझेको छ । किनभने, प्रदेशसभामा नेकपाको बहुमत छ । सर्वसहमति नभएर भोटिङमा जाने अवस्था आए हेटौंडाबाट राजधानी खोसिने पक्कापक्की रहेको बताउँछन् हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलाइगाइँ ।

तर, नेकपा नेतृत्वले गर्ने निर्णयलाई सांसदहरुले अवज्ञा गर्न नसक्ने भएकाले हेटौंडाको सबै आशा यिनै दुबै नेतामा पुगेर अल्झिएको छ ।

प्रदेशसभाका ८० भन्दा बढी सांसदको घर वा स्थायी बसोबास काठमाडौं नै रहेकाले हेटौंडाभन्दा काभ्रे बनेपामा रहेको ‘आईटी पार्क’लाई सांसदहरुले बढी रुचाएको हल्ला हेटौंडामा छ ।

अब पनि काठमाडौं आसपासनै प्रदेशको राजधानी लैजाँदा भविष्यमा पर्न सक्ने अप्ठेरोलाई विचार गर्न आग्रह गर्छन्, हेटौंडाका स्थानीयबासी राजीव बर्तौला ।

‘नेपालमा भएका सबै राजनीतिक आन्दोलनहरु अधिकार विकेन्द्रित भएन, जनता साधन र स्रोतको पहुँचबाट टाढा भए भन्ने मनोभावनाबाटै प्रभावित थिए,’ उनी भन्छन्,’ अब संघीयतामा गए पछि पनि ३ नम्बर प्रदेशको राजधानी काठमाडौंआसपासका क्षेत्रलाई बनाउनु भनेको अधिकार काठमाडौंम केन्द्रित गर्नु हो । काभ्रे बनाए पनि, भक्तपुर बनाए पनि त्यो त काठमाडौं कै परिवेश र सेरोफेरो हो ।’

हेटाैंडाका अाफ्नै तर्क

जनयुद्ध र जनआन्दोलनको भावनाका विरुद्ध काठमाडौं आसपासका क्षेत्रमा राजधानी बनाउन हुँदैन भन्ने भावना हेटौंडाका बासिन्दामा देखिन्छ । हेटौंडेलीको प्रश्न छ, राजधानी बन्न चाँही के छैन हेटौंडामा ? उनीहरुलाई लाग्छ, एउटै मात्रै कुरा छैन, हेटौंडाका पक्षमा चाहिने दुईतिहाई बहुमत छैन ।

हुप्रचौरका लक्ष्मण श्रेष्ठको दावीलाई मान्ने हो भने राजधानी बनाउन आवश्यक पर्ने न्युनतम् जग्गा जमीन काठमाडौं र त्यस आसपासका जिल्लामा उपलब्ध छैन । हेटौंडामा अहिले प्रदेशसभा बसेको वरपर नै ५ सय रोपनी सार्वजनिक जग्गा खाली छ । थोरै बाहिर निस्कने हो भने १० हजार बिगाहभन्दा बढी सार्वजनिक जमीन सजिलै भेटिन्छ ।

‘मकवानपुरको विशेषता अधिकांश जमीन भिरालो नै छ । पानी जम्ने जमीन मकवानपुरमा खासै भेटिँदैन । यही कारणले जतिसुकै चाप पर्दा पनि ढल निकासको समस्या हुँदैन हेटौंडामा,’ अधिवक्ता चौलागाइँ थप्छन्,’त्यसैले जग्गा जमीनको हिसावले पनि मकवानपुर जत्तिको उपयुक्त स्थान कतै छैन ।’

वातावरणीय पक्षमा पनि मकवानपुरका आफ्नै दाबी छन् । यहाँको धेरै गर्मी र धेरै जाडोको समस्या छैन । यहाँ गर्मी मौसममा पनि औसतस्तरमा तापक्रम रहन्छ भने जाडो महिनामा पनि कठांग्रिने गरी जाडो हुँदैन । त्यसैले यहाँ गर्मीबाट आउने र जाडोबाट आउने दुबै प्रकारका मान्छेलाई कुनै पनि समस्या पर्दैन ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल भौतिक पूर्वाधारको पक्षमा पनि हेटौंडा कमजोर नरहेको बताउँछन् । उनको भनाइमा यहाँको शहरीकरण अव्यवस्थित छैन ।

‘अझ महत्वपूर्ण कुरा यहाँ प्रदशेका कार्यालयहरु बस्न एउटा पनि घर सरकारी निकायले भाडामा लिनुपर्ने अवस्था छैन, यत्रा मन्त्रालय र कार्यालय खुल्दा पनि पुरानै कार्यालयका भवनले पुग्यो,’ उनी भन्छन्, ‘पहिले क्षेत्रीय सदरमुकामका रुपमा रहँदा क्षेत्रीय कार्यालयहरुले प्रयोग गरेका भवन र त्यसका कर्मचारीले प्रयोग गर्ने क्वार्टर नै अहिले प्रदेशस्तरका मन्त्रीदेखि कर्मचारीसम्मले प्रयोग गर्दैछन् । प्रदेशका कुनै पनि मन्त्रालय र कार्यालयले अहिले यहाँ भाडाको घरमा सेवा दिनुपरेको छैन । यहाँ रहेका सरकारी कार्यालयका भवनहरु जीर्ण अवस्थामा पनि छैनन् ।’

‘एउटै कमजोरीः प्रदेश सभाहल !’

हेटौंडेलीलाई राजधानी रहन समस्या पार्ने एउटा मात्रै पक्ष कमजोर लाग्छ, यहाँ प्रदेश सभा बस्ने स्तरीय सभाहल छैन । तर, हेटौंडा नगरपालिकाले हुप्रचौरमा निर्माण गरिरहेको बासुदेव सभागृह निर्माणको अन्तिम चरणमा पुगेर वर्षौंदेखि अलपत्र छ ।

यो निर्माणाधीन भवनमा २-४ करोड रुपैयाँ खर्चिने हो भने तत्कालै भवनको फिनिसिङ भएर प्रदेश सभा चलाउन सकिने बताउँछन् स्थानीय व्यवसायी माधव न्यौपाने । स्थायी राजधानीको मुद्दा टुंगो नलागेकाले सो भवनलाई पूर्णता दिन नगरपालिका र प्रदेश सरकार दुबैले चासो दिएका छैनन् ।

हेटौंडाका बासिन्दाको तर्क के पनि रहेछ भने हेटौंडामा निकै सामरिक महत्वको स्थान हो । तराई क्षेत्रबाट चुरे कटेर पहाडी क्षेत्रमा प्रवेश गर्ने यो प्रमुख बिन्दु हो । त्यसैले समग्र देशको सुरक्षा अवस्था हेटौंडाको सुरक्षा व्यवस्थासँग जोडिने तर्क उनीहरुको छ ।

‘हेटौंडामा सुरक्षा संवेदनशीलताको दृष्टिकोणले निकै महत्वपूर्ण स्थान भएकाले नै सुरक्षा निकायले पनि यसअघि क्षेत्रीय स्तरका सुरक्षा योजना यहीँबाटै नै तयार लागू गर्ने गरेका थिए,’ सानोपोखराका स्थानीय तथा पूर्वप्रहरी सुमन राई भन्छन्, ‘त्यसैले समग्र ३ नम्बर प्रदेशको सुरक्षा व्यवस्थालाई ध्यान नदिई राजधानी तोक्ने काम पछि आत्मघाती हुन्छ ।’

बेइजिङको उदाहरण

हेटौंडालाई राजधानी बनाउनुहुँदैन भन्नेहरुको प्रमुख तर्क छ, प्रदेशको एउटा कुनामा पर्‍यो, सबै जिल्लालाई अपायक भयो ।’

तर, यसमा पनि हेटौंडेलीको असहमति छ । उनीहरुका अनुसार हेटौंडा दर्जनभन्दा बढी सडक सञ्जालमा जोडिदैँछ, जसले हेटौंडालाई टाढाको शहर भन्न मिल्दैन ।

निर्माणधीन काभ्रे -तालढुङ्गा-फापरवारी-हेटौडा सडकले काभ्रे रामेछाप, सिन्धुपाल्चोक र दोलखा सम्मलाई नजिक बनाउने स्थानीयको तर्क छ । सिन्धुली, रामेछाप र दोलखाबासीहरुलाई पहाडी लोकमार्गको बाटोबाट काठमाडौं पुग्नुभन्दा हेटौंडा नजिक पर्ने जिल्लाबासी बताउँछन् । त्यस्तै, लोथर-आग्रा-माहादेव बेशी गल्छी, रसुवा-धार्के-गजुरी लगायतका सडकले धादिङ, रसुवा, नुवाकोटलाई हेटौंडासँग नजिक्याउने उनीहरु बताउँछन् ।

हेटौंडाबाट चितवनको भरतपुर विमानस्थल एक घण्टामा नै पुग्न सकिन्छ भने बाराको सिमारा विमानस्थल पनि पौने घण्टाको यात्रा तय गर्दा पुगिन्छ । फास्ट ट्रयाक बनेपछि प्रस्तावित निजगढ विमानस्थल पनि आधा घण्टामै पुग्न सकिने भएकाले हेटौंडालाई अब टाढाको भनेर गरिने कुरा ‘कुतर्क’ भएको बताउँछन् स्थानीयहरु ।

हेटौंडा प्रदेशको छेउ भागमा त पर्‍यो नि त भन्ने अनलाइनखबरको प्रश्नमा अधिवक्ता चौलागाईंले भने, ‘तराईका अधिकांश जिल्लाका सदरमुकामहरु जिल्लाको छेउमा र बोर्डरमा नै छन् । युरोपका सबै देशका राजधानी छेउमा नै छन् । भारत-चीनको राजधानी पनि छेउमा नै छन् । त्यसैले हेटौंडा छेउमा पर्छ कि भन्ने कुरा केन्द्रीकृत मानसिकताको उपज मात्रै हुन्छ ।’

स्थानीय ब्यापारी ठूलभाई विश्वकर्मा हेटौंडामा खानेपानी, ढल निकास, बिजुली लगायतको समस्या हेटौंडामा कहिल्यै नपर्ने बताउँछन् । ‘हेटौंडा अर्को ठूलो र व्यवस्थित शहरको बिकास हुन्छ र विस्तारै काठमाडौ उपत्यकाको चाप कम हुन्छ,’ उनी भन्छन्, ‘हाम्रा नेताले यो कुरा बुझिदिए हुने ।’

उनको भनाइमा हेटौडाबाट सबै प्रदेशहरुसँग समन्वय गर्न र चाँडो भन्दा चाँडो सबैखाले पहुँचहरु पुर्‍याउन सकिन्छ । देशको प्रमुख नाका वीरगंज नजिक पर्ने भएकाले ब्यापारिक दृष्टिबाट पनि यसको महत्व छ ।

‘बरू रसुवामा राखे हुन्छ’

तथापि हेटौंडाका केही स्थानीयहरु काठमाडौं र त्यस आसपासका जिल्लाबाहेक अन्यत्र जुनसुकै जिल्लामा राजधानी लगे पनि स्वीकार्य हुने मत राख्छन् । पदमपोखरीकी निलिमा लामा हेटौंडालाई राजधानी नबनाउने भन्दा पनि काठमाडौंमै राजधानी लैजाने विषय आपत्तिजनक भएको बताउँछिन् ।

‘देशलाई यथास्थितिमा राख्ने हो भने काठमाडौंमै राखिदिए हुन्छ । यो हेटौंडालाई राजधानी बनाउने बहस मात्रै हैन, यो त काठमाडौंलाई जोगाउने र त्यहाँको उकुसमुकुसलाई कम गर्ने बहस पनि हो । हेटौंडा हुँदैन भने रसुवामा राखे हुन्छ, ५ वर्षभित्रै सडक सुधारिएर १३ जिल्लाबाट जुनसुकै जिल्लामा एक घण्टामा पुग्न सकिन्छ,’ उनले भनिन् ।

मकवानपुरका राजनीतिक दलका स्थानीय नेताहरुले हेटौंडाबाट राजधानी सारिए ‘नाकाबन्दी’ गर्नेसम्मका चेतावनी दिएका छन् । काठमाडौं उपत्यका वातावरणीय प्रदुषणका हिसावले बस्नका लागि अयोग्य बन्दै गएकाले पनि हेटाैंडा विकल्पमा पर्नुपर्ने मत स्थानीय राजनीतिक दलका नेताहरुको छ ।

‘काठमाडौंमा सास लिँदा प्रदुषण मात्रै लिइरहेका छन्, स्थानीयबासिन्दा । त्यसैले विकल्प सोच्नैपर्छ, काभ्रे र भक्तपुर काठमाडां होइन भनेर गरिने कुतर्कको अर्थ छैन । किनभने काठमाडौंमा जागरि खाएर काभ्रे गएर बस्ने नै धेरै छन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक कांग्रेस सांसद भन्छन्, ‘काठमाडौंमा ट्राफिक जाम भयावह छ । जाम नखुलेर बिरामी एम्बुलेन्सभित्रै मर्ने अवस्थाबारे हाम्रा नेताले सोच्नुपर्छ, अझै कति बिरामी एम्बुलेन्समै मार्ने ?’

उनको भनाइमा सिंहदरबार र माइतीघरमा अहिले नै जामको समस्या भयावह छ । कोटेश्वर त काठमाडौंकै धेरै जाम हुने चोक भइसक्यो । त्यसभन्दा तलका चोकमा पनि जाम फैलिँदैछ । ‘अब काभ्रेमा राजधानी लगियो भने जाम अझ कति बढ्ला ?’, उनको प्रश्न छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com