Follow @khasokhasmag

काठमाडौंबासीको लागि दुखद् खबर : अब भाडामा बस्नेले पनि तिर्नुपर्ने भो कर !


प्रकाशित मिति : कार्तिक २८, २०७५ बुधबार

काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले चर्चेको (प्लिन्थ एरिया) जग्गामा एकीकृत सम्पत्ति कर लगाउने स्थानीय स्वायत्त शासन ऐनको व्यवस्था बमोजिम महानगरले आर्थिक वर्षको शुरुआतसँगै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

अब घरले चर्चेको अर्थात् भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा ५ हजार ४ सय ७६ वर्ग फिट (एक रोपनी) जग्गामध्ये जुन घटी हुन्छ, त्यसलाई कर निर्धारणको आधार मानिएको छ । भवनको क्षेत्रफल कायम गर्दा स्वीकृत नक्सा र निर्माण भएको भवनको क्षेत्रफलमा फरक भएमा निर्माण भएको भवनको क्षेत्रफललाई आधार मानिनेछ । कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको एक वा एक भन्दा बढी घर र जग्गाको मुल्यांकन गरी उक्त मूल्यको आधारमा एकीकृत रुपमा लगाइने कर एकीकृत सम्पत्ति कर हो ।

मूल्याकंनको आधार के ?

सम्पत्ति कर निर्धारण गर्न जग्गा कायम गर्दा भवनको डीपीसी भएको एरिया (प्लिन्थ एरिया) को जग्गा र सोही बराबरको थप जग्गालाई लिइन्छ । अर्थात् भवन डीपीसी भएको एरियाको दुई गुणालाई कर निर्धारणको आधार बनाइन्छ । यदि जग्गाधनी प्रमाण पुर्जामा डीपीसी भएको जग्गाको दुई गुणा जग्गा नभएमा जग्गाधनी प्रमाण पुर्जामा भए बराबरको जग्गालाई आधार बनाइन्छ ।

अर्थात् भवन डीपीसी भएको एरिया (प्लिन्थ एरिया) जग्गा ५४७६ बर्ग फिट (एक रोपनी) भन्दा बढी जतिसुकै भए पनि भवन डीपीसी भएको एरिया र थप ५४७६ वर्गफिट (एक रोपनी) मात्र जग्गालाई मूल्यांकन गरिन्छ । जग्गाधनी प्रमाण पुर्जामा जग्गाको क्षेत्रफल कम भए पुर्जामा जति जग्गा छ, त्यसैलाई मुल्यांकनको आधार बनाइन्छ । यसरी सम्पत्ति कर लाग्ने भवन र जग्गा बाहेक भवन नभएको बाँकी जग्गामा मालपोत (भूमिकर) कर तिर्नुपर्छ । यसरी मुल्यांकन गर्दा घरको बनौटको आधारमा ह्रास कट्टी हुने व्यवस्था गरिएको छ ।

सम्पत्तिको मूल्यांकन र करको दर

भवन र जग्गाको मूल्यांकन १ करोड रुपैयाँ मात्र भयो भने त्यसबापत् ०.०१० प्रतिशतका दरले हुन आउने १,००० रुपैयाँ कर तिुर्नपर्छ । त्यसपछिको एक करोड अर्थात् घर जग्गाको मुल्य २ करोड भयो भने ०.०१५ प्रतिशतका दरले हुन आउने १५०० रुपैयाँ कर तिर्नुपर्छ । यसै बमोजिम ३ करोडको मूल्यांकनमा ०.०२० प्रतिशतले हुन आउने २००० रुपैयाँ, ४ करोडको, ०.०४० प्रतिशतले हुन आउने ४००० हजार रुपैयाँ, ५ करोडको ०.०६० प्रतिशतका दरले हुन आउने ६००० रुपैयाँ, ६ करोडको ०.१०० प्रतिशतका दरले हुन आउने १०,००० रुपैयाँ कायम गरिएको छ ।

यो अंकसम्म हरेक १ करोडको फरकमा कर निर्धाण गरिएको छ भने ६ करोड पछि हरेक २ करोडका आधारमा कर लिइनेछ । जसअनुसार ८ करोडको मूल्यांकनमा ०.३०० प्रतिशतका दरले हुन आउने ६०,००० रुपैयाँ र १० करोडको मूल्यांकनमा ०.४५० प्रतिशतका दरले हुन आउने ९०,००० रुपैयाँ कर लिइनेछ । यसपछि अर्थात् १० करोडभन्दा माथि जतिसुकै मूल्याङ्कन भएपनि ०।६०० प्रतिशतले हुन आउने रकम कर लाग्नेछ ।

कुन भवनको कति दर ?

सम्पत्ति कर निर्धारण गर्दा भवन बनौटको आधारमा मूल्यांकन हुनेछ । यस बमोजिम भित्र काँचो बाहिर पाको ईंटामा माटोको जोडाई भएको भवन र काठबाट बनेका भवनको प्रति बर्गफिट १५०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै भित्र बाहिर पाको ईंटा वा ढुंगा र माटोको जोडाई भएको सबै किसिमको भवनको र प्रि फायब गोदाम भवनको प्रति बर्गफिट १८०० रुपैयाँ, भित्र बाहिर पाको ईंटा र सिमेन्टको जोडाई भएको भवनको प्रति बर्गफिट २३०० रुपैयाँ, स्टील स्ट्रक्चर ९ट्रस० भवनको प्रति बर्गफिट २४०० रुपैयाँ र आरसीसी फ्रेम स्ट्रक्चर भवनको प्रति वर्गफिट २६०० रुपैयाँ कायम गरिएको छ ।

संयुक्त आवासमा फरक व्यवस्था

कुनै घरको विभिन्न तलाहरु वा एकै तलामा फरक फरक स्वामित्व भएका भाग तथा तलाहरुको सम्पत्ति कर सम्बन्धित स्वामित्ववाला व्यक्तिहरुको नाममा घर जग्गा कायम मानेर कर लगाइनेछ । यससँगै बहुतले सामुहिक आवास (अपार्टमेन्ट वा फ्ल्याट) वा संयुक्त आवास (हाउजिङ) को सम्पत्ति कर निर्धारण गर्दा मूल्यांकन आधार तयार गरिएको छ । बहुतले सामुहिक आवास (अपार्टमेन्ट वा फ्ल्याट) को क्षेत्रफलको हकमा जे–जति क्षेत्रफलको अपार्टमेन्ट वा फ्ल्याट राजीनामा लिखत पारित गरी हक हस्तान्तरण भएको छ, सोही बराबर घरको क्षेत्रफल कायम हुनेछ ।

त्यस्तै बहुतले सामुहिक आवास (अपार्टमेन्ट वा फ्ल्याटको) जग्गाको क्षेत्रफलको हकमा राजीनामा पास भएको लिखतमा उल्लेख भएको भएकोमा सोही बराबरको जग्गा र उल्लेख नभएकाको हकमा घरको जम्मा क्षेत्रफल बराबरको जग्गा कायम मानी जग्गाको क्षेत्रफल निर्धारण हुनेछ । बहुतले सामुहिक आवास (अपार्टमेन्ट वा फ्ल्याट) मा उपलब्ध प्यासेज, लबी, भर्‍याङ, बाटो, बेसमेन्ट, मनोरञ्जन तथा रिक्रियशन स्थल, बगैंचा, पार्किङ्ग तथा सडक जस्ता सुबिधा, मूल्याङ्कनमा समावेश नहुुने हुँदा बहुतले सामुहिक आवास (अपार्टमेन्ट वा फ्ल्याट) मा रहेको सम्पत्तिमा लाग्ने करमा ५० प्रतिशत थप गरी कर लाग्नेछ ।

संयुक्त आवास (हाउजिङ) को घरको क्षेत्रफलको हकमा जे–जति क्षेत्रफलको घर राजीनामा लिखत पास गरी हक हस्तान्तरण भएको वा नक्सा पास गरी निर्माण भएको छ, सोही बराबर घरको क्षेत्रफल कायम हुनेछ भने जग्गाको क्षेत्रफलको हकमा राजीनामाको लिखतमा उल्लेख भए बराबरको जग्गाको क्षेत्रफल कायम हुनेछ । यहाँ उपलब्ध हुने मनोरञ्जन तथा रिक्रिएसन स्थल, बगैंचा, पार्किङ तथा सडक जस्ता सुबिधावापत् सम्पत्ति करमा २५ प्रतिशत थप गरी कर लगाइनेछ । तोकिएको अवधिभित्र बहुतले सामुहिक आवास (अपार्टमेन्ट वा फ्ल्याट) र संयुक्त आवास (हाउजिङ) अन्तर्गत निर्माण भएका तर बिक्री हुन बाँकी ठाउँका हकमा स्वीकृत निर्माण अवधि समाप्त भएको मितिले ३ वर्षसम्म सम्पत्ति कर लगाइने छैन । तर, त्यसरी बिक्री नभई स्टकमा रहेको अपार्टमेन्ट वा फ्ल्याट र घर कुनै प्रकारले उपयोग भए गरेमा वा निर्माण अवधि समाप्त भएको मितिले ३ वर्ष पुगेमा त्यस्तो स्थानमा भने कर लाग्नेछ ।

व्यवसायिक प्रयोजनका लागि निर्माण गरी बिक्री भएको ९मलरसपिङ कम्प्लेक्सरसपिङ सेन्टर० मा खरिद बिक्री हुने पसल, कोठा तलाको हकमा बहुतले सामुहिक आवास (अपार्टमेन्ट वा फ्ल्याट)मा भएको ब्यवस्था अनुसार घर र जग्गा कायम मानी लाग्ने सम्पत्ति करमा ५० प्रतिशत थप गरी सम्पत्ति कर लगाइनेछ ।

भाडाको सम्पत्तिमा लाग्ने कर

कुनै व्यक्ति वा संस्थाको नाममा जग्गाको स्वामित्व भई अर्को व्यक्ति वा संस्थाले भवन वा अन्य कुनै प्रकारका भौतिक संरचनाको निर्माण, विकास र सम्बर्धन गरी भोग गरेको सम्पत्तिको कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी लगाइने करको दायित्व निजहरुबीच भएको सम्झौतामा स्पष्ट उल्लेख गरिएको हकमा सोही बमोजिम र सम्झौतामा स्पष्ट प्रावधान उल्लेख नगरिएको हकमा सम्पत्तिको भोग गर्ने वा लिजमा लिने व्यक्ति वा संस्थाले कर दाखिला गर्नुपर्नेछ ।

लिज सम्झौता भङ्ग भएमा वा कार्यान्वयन नभई सम्झौताको यथार्थ परिपालना नगरिएको अवस्थामा सम्पत्ति कर तिर्ने दायित्व सम्बन्धित घर जग्गा धनीको हुनेछ । प्रचलित कानून र महानगरको स्वीकृत कानुनी व्यवस्था बमोजिम सम्पत्ति कर छुट हुने संस्था वा निकायको जग्गामा व्यवसायिक प्रयोजनका भवन निर्माण र लागि उपयोग गरेको भए उक्त भवन र सो ले चर्चेको जग्गामा सम्पत्तिको भोग गर्ने व्यक्ति वा संस्थाले अन्य सरह सम्पत्ति कर तिर्नु पर्नेछ

यसरी लगाइएको सम्पत्ति कर, चालु आर्थिक बर्षको असोज मसान्तभित्र दाखिला गरेमा, यसै आर्थिक बर्षमा लाग्ने करमा दश (१०) प्रतिशत छुट हुने महानगरपालिकाले जनाएको छ । तर घर जग्गा करको बक्यौता हुने करदातालाई छुट दिइएको छैन । यो खबर अनलाईन खबरबाट साभार गरिएको हो । यहाँ भएका सबै तथ्य, विश्लेषण र शब्दहरु अनलाईन खबर डटकमका हुन् । सोही साईटबाट पढ्न अनलाईनखबर डटकम लगईन गर्नुहोला ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com