प्रचन्डको सवारी अगाडि मोटरसाइकल चलाउँदा १५ सय जरिवाना !


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

कोसी अञ्चल अस्पतालमा रहेकी बिरामी ठुली आमालाई खाना लिएर हिँडेका एक युवकको लाइसेन्स प्रहरीले खोसेको छ । ट्राफिक नियम पालना नगरेकाले लाइसेन्स खोसिनु स्वभाविक थियो । तर इटहरीका सरोज कार्कीको हकमा भने ट्राफिक प्रहरीले फरक कारण देखायो ।

बिरामी ठुली आमाका लागि खाना लिएर अस्पतालतर्फ जाँदै गरेका सरोजमाथि प्रहरीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी अगाडि मोटरसाइकल चलाएको आरोप लगायो ।

सोमबार बिहान पौने ११ बजेको समयमा विराटनगरस्थित भाटभटेनी सुपर स्टोर अगाडि पुगेको समयमा प्रहरीले सरोजलाई रोकेनन् मात्रै को १९ प ७३५५ नम्बरको मोटरसाइकलमा सवार उनको लाइसेन्स नै खोसिदिए ।

सरोजलाई कोसी अञ्चल अस्पतालको बेड नम्बर १२८ मा उपचाररत ठुली आमालाई खाना पुर्‍याउने हतार भएका बेला सुरक्षाकर्मीले नेकपा अध्यक्ष दाहाल आएकले उनको अगाडि मोटरसाइकल गुडाउन नमिल्ने भन्दै रोकिदिए ।

सुरक्षाकर्मीले रोकेपछि कार्कीले आफूलाई अस्पतालमा रहेकी ठुली आमालाई खाना पु¥याउन हतार भएको बताएका थिए । उनले अस्पतालमा खाना लिएर हिँडेकोले आफूकबाट अध्यक्ष दाहाललाई कुनै खतरा नहुने पनि बताए । तर अध्यक्ष दाहालको गाडी नजाउन्जेल जानै नमिल्ने भन्दै कार्कीलाई सुरक्षाकर्मीले थर्काउँदै त्यहीँ रोके ।

तर कार्कीले सुरक्षाकर्मीलाई जनताको मतले जिताएको नेताले जनतासँग डराउन नहुने भन्दै आफूलाई अस्पताल जान आग्रह गरिरहे । तर उनले यसो भनिरहँदा सुरक्षाकर्मीले व्यंग्यमिश्रित उत्तर दिँदै भने, ‘तपाई भोलि मन्त्री हुनु भयो भने हामी सलाम गर्न तयार छौँ । तर अहिले अध्यक्ष दाहाल सवार गाडी आएकाले जान दिन सक्दैनौँ ।’

त्यसपछि ट्राफिक प्रहरीले कार्कीको मोटरसाइकल मात्रै त्यहाँ रोकेनन्, उनको लाइसेन्स नै खोसे । त्यो बेलासम्म दाहाल सवार गाडी आएकै थिएन । लाइेन्स खोसिएपछि कार्कीले मोटरसाइकल र हेल्मेट पनि प्रहरीलाई बुझाए । बल्ल ट्राफिक प्रहरीले उनलाई चाबी र मोटरसाइकल दिए, त्यो पनि मेन रोडमा नगुड्ने शर्तमा

तर उनको लाइसेन्स भने खोसिएकै थियो । दाहाल मुल सडकबाट गएपछि कार्कीले ठुलीआमालाई खान पुर्‍याउन भ्याए । तर उनले ट्राफिक प्रहरीलाई १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्‍यो । आफूले कुनै नियम नतोडेकै अवस्थामा ट्राफिकले १५ सय जरिबाना तिराएको गुनासो कार्कीले गरे ।

उता अध्यक्ष दाहालको सवारी अगाडि मोटरसाइकल कुदाएको आरोपमा लाइसेन्स खोसेर जरिवाना तिराएको बारेमा कुनै जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्सपेक्टर शिव पोखरेलले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com