कक्षा १० को परीक्षा अथवा ‘एसईई’ आगामी चैत ३ गतेबाट


प्रकाशित मिति : मंसिर २५, २०७३ शनिबार

परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ ।

परीक्षा सञ्चालन समितिको शुक्रबार बसेको बैठकले पहिलो दिन चैत ३ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै, चैत ४ गते अनिवार्य नेपाली विषय, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते सामाजिक शिक्षा, चैत ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन हुनेछ ।

पनिकाका अनुसार चैत १० गते ऐच्छिक प्रथम र चैत ११ गते ऐच्छिक द्वितीय अन्तर्गतका विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिकतर्फ भने थप तीन दिन अर्थात् चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिए । गत २०७२ सालमा चैत १८ गतेबाट एसएलसी परीक्षा सञ्चालन भएको थियो ।

उनले सामाजिक सञ्जालमा गत वर्षकै परीक्षा तालिका राखेर केही व्यक्तिले भ्रम सिर्जना गर्न खोजेको बताउँदै त्यस्ता अनधिकृत सूचना तथा जानकारीका पछाडि नलाग्ने विद्यार्थी, अभिभावक एवं शिक्षकसमक्ष आग्रह गरिएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com