नोबेल पुरस्कार लिन द्वन्द्वपीडितलाई लिएर नर्वे पुगे कोलम्बियाली राष्ट्रपति


प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

कोलम्बियाली राष्ट्रपति जुआँ म्यानुएल सान्टोस नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वेको राजधानी ओस्लो पुगेका छन्। गृहयुद्ध र लगातारको द्वन्द्वमा आधा शताब्दीसम्म नराम्ररी फसेको मुलुक कोलम्बियाका हजारौं द्वन्द्वपीडित नागरिकका प्रतिनिधिले पनि उनीसँगै यात्रा गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

राष्ट्रपति सान्टोसले लगभग ४० जनालाई पुरस्कार प्रदान गरिने औपचारिक समारोहतर्फको यात्रामा साथै लिएर गएका छन्। यी चालीस जनामा आफ्ना निकटतम मित्र तथा नातेदारहरु, कोलम्बियामा शान्तिस्थापना कार्यमा योगदान पु¥याउनेहरु र द्वन्दपीडित नागरिकका प्रतिनिधिहरु दश जना जतिले उनीसँगै नर्वे जाने अवसर पाएको कोलम्बियाको क्याराकोल समाचार प्रसारण वेबसाइटले उल्लेख गरेको छ।

‘सम्मानित राष्ट्रपतिले सम्पूर्ण देशबासी र बिशेष गरी द्वन्दपीडित नागरिकका तर्फबाट यस पुरस्कार थाप्न लाग्नु भएको’ राष्ट्रपतिको कार्यालयले जनाएको छ। कोलम्बियामा दीगो शान्ति स्थापनार्थ राष्ट्रपति सान्टोसको बृहत योगदानकारी भूमिकाको कदर स्वरुप उनलाई सन् २०१६ को नोबेल शान्ति पुरस्कार दिने निर्णय गरिएको थियो।

देशको सबैभन्दा ठूलो सशस्त्र विद्रोही दल रिभोल्युसनरि आर्म्ड फोर्स अफ कोलम्बियाका नेता रोड्रिगो लन्डनो र राष्ट्रपति सान्टोसका बीच गतः नोभेम्बरमा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विगतको आधा शताब्दीदेखिको गृहयुद्ध र द्वन्द्व समाप्त भई आम जनताले शान्तिको सास फेर्न पाएका थिए। सो गृहयुद्ध र द्वन्द्वमा करिब दुइलाख बीसहजार नागरिकको मृत्यु भएको र दसौं लाख जनताहरु घरबारबिहीन भएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com