छक्का पन्जा २ तिहार पछि युट्युबमा आउने
प्रकाशित मिति : आश्विन ३०, २०७५ मंगलबार
नेपाली चलचित्र छक्का पन्जा ३ घटस्थापनाको दिनमा रिलिज भएको थियो । चलचित्र रिलिज भएदेखि नै दर्शकले चलचित्रलाई अत्यधिक माया देखाएका छन् ।
चलचित्र छक्का पन्जा र छक्का पन्जा २ ले व्यवसायिक सफलता पाएपनि समिक्षकहरुबाट पनि धेरै नकारात्मक आलोचना पाएका थिए । तर छक्का पन्जा ३ ले समिक्षकबाट समेत राम्रो प्रतिक्रिया पाइरहेको छ । सबैजसोले यस चलचित्रलाई दीपक राज गिरि र दीपा श्री निरौलाले निर्माण गरेको उत्कृष्ट चलचित्र बताइरहेका छन् । दीपक र दीपा यो नै आफ्नो कमाइ भएको बताउँछन् । उनीहरुका अनुसार, चलचित्रले कमाएको पैसा भन्दा दर्शकको साथ र माया ठूलो हो । त्यो कमाइ समिक्षकहरुको प्रतिक्रियाले अझ चुलिएको छ ।
छक्का पन्जा ३ रिलिज भइसक्दा पनि छक्का पन्जा २ युट्युबमा रिलिज भएको छैन । धेरै दर्शकले छक्का पन्जा २ युट्युबमा रिलिज नगरेका कारण दीपक दीपालाई नकारात्मक आलोचना पनि गर्ने गरेका छन् । दीपकका अनुसार, छक्का पन्जा २ हाइलाइट्स नेपाललाई बेचिसकिएको हुँदा, युट्युब राख्ने या नराख्ने अधिकार हाइलाइट्स नेपाललाई नै हुन्छ । तर, पनि दर्शकहरुले लगातार प्रश्न गरेपछि आफूहरुले हाइलाइट्स नेपाललाई छक्का पन्जा २ युट्युबमा रिलिज गरिदिन आग्रह गरेको दीपक बताउँछन् । उनका अनुसार, तिहार पछि छक्का पन्जा २ युट्युबमा आउने सम्भावना रहेको छ ।






