एकै दिन ४६ अर्ब कारोबार


प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार

दशैँ शुरु भएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६ अर्ब ६१ करोड ५० लाख रूपैयाँ कारोबार भयो । त्यसमध्ये चेक क्लियरिङबाट ३८ अर्ब ९७ करोड र बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत सात अर्ब ६४ करोड छ । अन्नपूर्ण पोष्टमा समाचार छ ।

हरेक वर्ष दशैँअघि कारोबार बढ्छ । फूलपातीको अघिल्लो दिन सबैभन्दा धेरै क्लियरिङ हुने हाउसकी अप्रेसन म्यानेजर मुन्नी राजभण्डारीले बताइन् । गत वर्षभन्दा यसपालि कारोबार बढेको छ । क्लियरिङ हाउसमार्फत् पछिल्ला पाँच दिन (आइतबारदेखि बिहीबारसम्म)मा दुई खर्ब १६ अर्ब रूपैयाँ कारोबार भयो । त्यसमध्ये एक खर्ब ८३ अर्ब ३८ करोड चेक क्लियरिङबाट भएको हो । ३२ अर्ब ८० करोड चाहिँ आईपीएस प्रणालीमार्फत् भयो ।

राष्ट्र बैंकले पैसाको लेनदेनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने प्रक्रिया थालेको वर्ष बितिसक्दा पनि चेक साट्नेको संख्या हरेक वर्ष बढ्दो छ । अरु समयमा चेक क्लियरिङ र आईपीएस दुवै प्रणालीमार्फत दैनिक औसतमा ३० अर्ब रूपैयाँको ५० हजार पटक लेनदेन हुन्छ ।

क्लियरिङ हाउसले चेक र आईपीएसमार्फत् पाँच दिनमा सवा दुई खर्ब लेनदेन गरेको छ । गत वर्ष क्लियरिङ हाउसले एकै दिनमा ८० हजार पटक कारोबार गरेको थियो । अहिले ८६ हजार नाघिसकेको छ । गत आइतबार चेक र आईपीएस प्रणालीमार्फत क्लियरिङ हाउसबाट ८६ हजार तीन सय ३५ पटक लेनदेन भएको थियो ।

हाउसले दसैं अवधिमा आईपीएसबाट दैनिक औसतमा १४ हजारदेखि २१ हजार पटकसम्म कारोबार गरिरहेको छ । गत वर्ष भने दैनिक ६ हजार पटक भएको थियो । २०७३ भदौ एकबाट सुरु गरिएको उक्त प्रणालीअन्तर्गत दैनिक औसतमा आठ हजार आठ सय ७७ वटा कारोबार गरेको थियो । हाउसको तथ्यांकअनुसार अन्तरबैंक रकम लेनदेन गर्ने ग्राहक संख्या दिनप्रतिदिन थपिँदै गएको छ । सामान्य समयमा दसैंमा चेक क्लियर दोब्बर हुने गरेको राष्ट्र बंैकका कार्यकारी निर्देशक झलक शर्मा आचार्यले बताए ।

बैंक तथा वित्तीय संस्थामा पैसा सार्ने वा झिक्ने काममा कार्डको प्रयोग भएपनि ठूला रकममा चेकबाटै काम हुने भएकाले कारोबार रकम बढी देखिएको हो । हाउसले नेपाली चेक क्लियरिङ गर्नुका साथै युएसए, युरो तथा जीबीपी पनि साट्ने चेक पनि क्लियरिङ गर्ने गरेको छ ।

गत वर्ष चेक क्लियरिङ हुन नसकेर भुक्तान नपाएर धेरैले सास्ती पाएका थिए । चेक क्लियरिङ हुन नसकेर धेरैले पटकपटक बैंक धाउनु परेको थियो । यस वर्ष भने हाउसमा कुनै समस्या नहोस् भनेर हाउसको हार्डवेयरदेखि सम्पूर्ण कार्य प्रणालीको क्षमता बढाएको छ । हाउसले एकै दिन एक लाख ९२ हजार चेक क्लियरिङ गरेको छ भने आईपीएसमार्फत ८० हजार कारोबार गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com