यस्तो कमसल पुल बनाउने पप्पुका मालिक हरिनारायण रौनियारलाई जेल हाल्ने तयारी, उपेन्द्रले भने–अब जोगाउन सक्दिन


प्रकाशित मिति : आश्विन २०, २०७५ शनिबार

ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन चलाएर राजनीति गरेका सांसद हरिनारायण रौनियार यतिबेला संकटमा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा हालका सांसद रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी संकटमा परेका हुन् ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ ।

फोरमबाट राजनीति गर्दै आएका रौनियार यसअघि विभिन्न आरोप लाग्दा पनि बच्न सफल भएका थिए । अहिले भने अख्तियारले उनीविरुद्ध मुद्धा दायर गरेपछि संकटमा परेका हुन् ।

पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले पनि उनलाई यसपटक जोगाउन सकेनन् । गत वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनमा पर्साबाट निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । हाल उनका छोरा सुमित पप्पु कन्स्ट्रक्सनको अध्यक्ष छन् ।

अख्तियारले पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दावी गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com