विदेशिनुको पीडा भोग्दै यमनारायणले भने – मेरी श्रीमतीसँग बिहे गर्न नपाउँदा एसिड हान्यो


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

केही दिनअघिमात्रै चिनिएका हुन्, यमनारायण परियार, त्यो पनि फोनबाट। एसिड आक्रमणमा परेकी श्रीमतीलाई बचाउन हारगुहार गर्दै उनले फोन गरेका थिए।

‘एसिड आक्रमणले श्रीमती आइसियूमा छिन्। उपचार खर्च छैन। बचाउन सहयोग गर्नुपर्‍यो,’ उनले यसै भनेका थिए चितवनको भरतपुर अस्पतालबाट।

तिनै यमनारायण यतिखेर त्रिवि शिक्षण अस्पतालमा घाइतेको पत्नीको कुरुवा छन्। उनकी श्रीमती वसन्तीको उपचार भइरहेको छ यहाँ। दुई दिन भयो थप उपचार गर्न काठमाडौं ल्याएको। एसिड आक्रमणमा परेको दुई सातादेखि अस्पतालमै छन्। न खानको टुंगो छ न सुत्नकै। श्रीमती मर्ने हो कि बाँच्ने टेन्सन अर्कोतिर।

शिक्षण अस्पतालमा हामी पुग्दा फोनमा व्यस्त थिए उनी। ‘सास मात्र बाँकी छ, हेरिनसक्नु भा’को छ अनुहार। अझै के हुने हो पत्तो छैन,’ यति भनेर फोन काटे। फोन खल्तीमा राख्दा दाहिने हातमा ठूलो अक्षरमा प्रस्ट ट्याटु देखियो जसमा लेखिएको थियो – ‘वसन्ती’। वसन्ती अर्थात् उनकी श्रीमती जो अहिले अस्पतालको शैयामा संघर्षरत छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिक्षण अस्पतालको प्लाष्टिक सर्जरी वार्ड। त्यहाँ एकजना महिला लडिरहेकी थिइन्। यमनारायणले उनैतिर इसारा गरेपछि अनुमान लगाउन कठिन भएन।

‘हेर्नुस्, कस्ती थिइन्, अहिले कस्ती भइन्। मलाई सपना हो कि जस्तो लागिरहेछ,’ वसन्तीलाई देखाउँदै उनले भने।

त्यति भन्दा उनको बोली कमजोर भइहाल्यो। बोल्न सकेनन् र बाहिरिए।

एसिड आक्रमण भएको १५ दिन भइसक्यो। आफूलाई सम्हाल्न सकेका छैनन्। पत्नीले शरीरमा एसिडको तोड सहिरहेकी छिन्, त्यसले मन पोलिएको छ यमनारायणको, एसिड नै खनिए झै। आफ्नै अवस्थाको विश्वास छैन उनलाई। विश्वास गरुन पनि कसरी? वसन्तीको अनुहार एसिडले बेरुपको भएको छ। अनुहारभरि टाँका नै टाँका। कपाल मुण्डन गरिएको छ। एसिडको आलो घाउसँगै जिउभरी चक्कु प्रहारको डोब। आँखा मधुरो देख्छिन्। बोल्न गाह्रो र सुन्न पनि कम छ।

हामी तपाईँलाई उनको तस्बिरको रंगीन रुप देखाउन सक्दैनौं। श्यामस्वेतमा हेर्दा पनि विक्षिप्त लाग्दो छ।

एसिड आक्रमण यमनारायणका लागि विश्वास नै गर्न कठिन कुरा हो। तर, यथार्थ उनको सामु छिन्। त्यसैले वसन्ती जस्तै विक्षिप्त छन्, यमनारायण। श्रीमतीलाई हेर्दै टोलाइरहन्छन्। घटनाबारे सम्झने मनै छैन। भन्छन्, ‘मेरो उपचार गर्न श्रीमतीले विदेशबाट बोलाएकी। उनकै उपचार गर्नुपर्‍यो मैले।’

यसरी भएको थियो घटना यमनारायण विदेशबाट नेपाल आएको एक महिनामात्र भयो। बिरामी भएर काम गर्न नसकेपछि श्रीमतीले भनेकी थिइन्, ‘आउनुस् नेपालमै केही गरौँ। कति बस्नुहुन्छ अर्काको देश?’

श्रीमतीले भनेकै मानेर नेपाल आएका थिए, उनी। तीन फरक देश गरेर ९ वर्ष विदेश बसिसकेका। केही वर्ष नेपाल बस्न समस्या थिएन। फेरि जान पनि पाइहाल्थे। उपचार सकेर, बलियो भएर विदेश फर्किने सोच बनाएका थिए। ऋण तिरिसकेकाले अलिकति कमाउने चाहना जिवितै थियो।

भने, ‘सबै चाहना चकनाचुर भयो। पाँच सात लाख ऋण लाग्यो। अब त मरिगए पनि विदेश जान्न। नेपालमै बस्छु।’

श्रीमतीलाई यो अवस्थामा ल्याउने विमल श्रीपाली उनका छिमेकी हुन्। उनीसँग नराम्रो सम्बन्ध भने थिएन। श्रीपालीले आफ्नी श्रीमतीसँग भने सम्बन्ध बिच्छेद गरेका थिए।

‘किन हान्यो त एसिड?’

यमनारायणलाई वसन्तीले सुनाए अनुसार विमलले उनको पिछा गरिरहन्थे। भागेर बिहे गरौँ भन्ने प्रस्ताव पटकपटक राखेका पनि थिए। अनि भनेको नमाने परिवारलाई तहसनहस पार्ने धम्की समेत दिएका थिए श्रीपालीले। तर, वसन्तीले उसको कुरा पत्याएकी थिइनन्। के नै गर्ला र आफ्नै छिमेकी त हो भनेर बसेकी थिइन्।

‘सामान्य मानेर बस्दा यो सब भयो। मैले भर्खरै थाहा पाएँ,’ यमनारायणले भने, ‘पहिले नै थाहा पाएको भए यो घटना हुन्थेन होला।’

१५ दिनदेखि अस्पतालमा बस्दा यमनाराण पनि बिरामी नै भइसकेका छन्। केही सोच्न सकेका छैनन्, अब के होला। अस्पतालमा सुरुका दिन एकदमै कठिन रहे उनका लागि। चितवन अस्पतालले पैसाविना औषधि नदिँदा संकट भोगे। तर, अहिले उपचारमा सहज भएको छ। डाक्टरले वसन्ती खतरामुक्त भएको बताएकाले थोरै भए पनि उनको मनमा लागेको चोटमा मलम परेको छ। भन्छन्, ‘पहिलाको जस्तो नभए’नि मान्छे बाँच्ने अलिकति आशा पलाएको छ।’

उनले छोराछोरीलाई पनि आशा देखाइरहेका छन्। गाउँबाट फोन गर्दा भन्छन्, ‘आमालाई केही भएको छैन। हामी केही दिन काठमाडौं घुमेर फर्कन्छौं।’

उनका १३ वर्षका छोरा र ७ वर्षकी छोरी छिन्। उनीहरुलाई आमा बिरामी भएको थाहा भए पनि यति ठूलो दुर्घटनाको अन्दाज छैन। उनले पीडा आफूले लिएर सन्तानलाई जानकारी दिएका छैनन्।

हामीसँग कुरा गरिरहँदा एकछिन सोच्दै उनले भने, ‘अब एकैचोटी आमाको यो रुपमा देख्दा के पो गर्ने हुन्?’

***

अस्पतालको परिसरमा वसन्तीका मामा गोपाल परियार पनि भेटिए। उनी पनि एउटै गाउँका। उनका अनुसार एसिड प्रहार गर्ने विमल सोझो नै थिए। अपराधसँग जोडिएको मानिस थिएनन्। गाँउ समाजमा राम्रैमा गनिन्थे। विदेशबाट आएको ५ महिनामात्र भएको थियो ऊ पनि। विदेश आउने जाने गरिरहन्थे वसन्तीको श्रीमानजस्तै। तर, श्रीमतीसँग उसको राम्रो सम्बन्ध थिएन।

गोपालले भने, ‘उसले एकोहोरो माया गर्नेरै’छ। पिछा गरिरहने। भान्जीले वास्ता नगरेपछि एसिड हानेछ। धम्की त पहिले देखि नै दिएको रै’छ। तर, कसैलाई थाहा भएन।’

एसिड हान्ने विमल आफैँ प्रहरीकहाँ पुगेर आत्मसमर्पण गरिसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com