साउदी पुगेर बाकसमा फर्केका २४ भाईका परिवारलाई साउदी सरकारले पठायो राहात रकम


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ। मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, अर्घाखाँचीका विष्णुबहादुर टण्डन, म्याग्दीका गणेशबहादुर घर्ती, महोत्तरीका गरहवा बतार, धनुषाका गुरुशरण ठाकुर, रामलखन मण्डल र रमेश कापरले पाउनुपर्ने रकम हस्तान्तरण गरिएको हो।

त्यस्तै दाङका जालुराम चौधरी, काभ्रेपलाञ्चोकका काजिबाबु थापा, भोजपुरका कुलबहादुर खत्री, लमजुङका मिलन तामाङ, सुनसरीका परमेश्वर मोची, धनकुटाका राजेन्द्र भुजेल, झापाका रुपेन मोक्तान तामाङ र सन्तोष परियार तथा मकवानपुरका सूर्यप्रसाद चौलागाईंका परिवारले पनि राहत रकम पाउने छन्।

गुल्मीका हेमलाल पेमी, खोटाङका लेखराज राई, कास्कीका लुमनाथ अधिकारी र सिन्धुलीका प्रेमबहादुर पाख्रिनका परिवारले ब्लडमनी बापतको साउदी रियाल २० हजार पाउने दूतावासले जनाएको छ। अर्घाखाँचीका टण्डनको छुट्टीमा रहँदा नेपालमा मृत्यु भए पनि सम्बन्धित कम्पनीबाट पाउनुपर्ने तलब, भत्ता उनको परिवारलाई पठाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com