ताइफुका कारण १ बेपत्ता, ६६ भन्दा बढि घाइते, जनजिवन प्रभावित


प्रकाशित मिति : आश्विन १४, २०७५ आईतबार

दक्षिणपश्चिम जापानका विभिन्न स्थानहरुमा प्रभाव देखाउँदै अघि बढिरहेको त्रामी नामक ताइफुका कारण भारी बर्षा भैरहेको र ठूलो हावाहुरी चलेको छ । यो सिजनको २४ औ ताइफुका कारण एक जना सम्पर्कविहिन बनेका छन् भने ओकिनावा, कागोसिमा र अन्य प्रिफेक्चरहरुमा गरि ६६ जनाभन्दा बढि घाइते भएको एनएचकेले जनाएको छ । घाइतेहरुको सिसाले अनुहार तथा खुट्टामा काटेको समाचारमा उल्लेख छ ।

मियाजाकी प्रिफेक्चरमा ६० बर्षिय महिला बेपत्ता बनेकी हुन् । प्रहरीका अनुसार खेतमा काम गरिरहेकी उनी सिंचाइका लागि बनाइएको नालीमा परेको हुनसक्ने अनुमान छ ।

ओकिनावामा मात्र ४६ जना घाइते भएका छन् । ३० बर्षिय एक युबकको झ्यालको सिसाले लागेर खुट्टा काटेको समाचारमा उल्लेख छ । त्यस्तै कागोसिमा प्रिफेक्चरमा १७ जना घाइते भएका छन् । तोकुसिमा प्रिफेक्चरमा ८४ बर्षिय बृद्धालाई हावाले लडाउँदा घाइते भएको एनएचकेले जनाएको छ ।

आइतबार साँझ ६ बजेसम्ममा ओसाका र मियाजाकी सहित १० प्रिफेक्चरका २ लाख भन्दा बढिलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ । त्यस्तै १९ प्रिफेक्चरका ३० लाख भन्दा बढिलाई सुरक्षित रहन सूचना जारी गरिएको जापान मेटोरोजिकल एजेन्सीले जनाएको छ ।

समाचार तयार पार्दासम्म ताइफु सिकोकु र किन्की क्षेत्रको उत्तरपूर्वि भाग हुँदै अगाडि बढ्दैछ । पश्चिमी जापानको वाकायामा प्रिफेक्चरमा आइपुगेको ताइफु केन्द्रभागमा १६२ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको छ ।

सोही गति कायम रहेका पूर्वि र पश्चिमी जापान पार गर्न सोमवारसम्म लाग्ने मौषमविद्हरुको पूर्वानुमान छ । किन्की, तोकाई तथा कान्तो क्षेत्रमा ताइफुको बहाबले नयाँ रेकर्ड बनाउनसक्ने मौषमविद्हरुको अनुमान छ ।

हावाको बहाव र बर्षा पहिलेका ताइफुहरुभन्दा बढि हुनसक्ने अनुमान गर्दै यहाँको मौषम विभागले निरन्तर अपडेटरु लिइरहन र ताइफु आइरहेको अवस्थामा बाहिर ननिस्कन चेतावनी दिएको छ । मौषम अधिकारीहरुको अनुमान अनुसार यो ताइफु गत महिनाको भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना छ ।

ओकिनावा देखि होक्काइदो सम्म नै असर पार्ने यस आँधीमा सचेत रहन मौषम एजेन्सीका अधिकारीहरुले निरन्तर चेतावनी दिइरहेका छन् । सामुन्द्रिक किनारमा तिब्रगतिको हावा, भारी बर्षा सहित छालले ठूलो असर पार्ने हुँदा जोगिन उनिहरुले आग्रह समेत गरेका छन् ।

रेल तथा हवाई यातायात प्रभावित

जापान एयरलाईन्स तथा अल निप्पोन एअरलाइन्सले दिएको जानकारी अनुसार आइतबारसम्म १ हजारभन्दा भन्दा बढि आन्तरिक उडानहरु रद्द गरिएको छ । विशेषगरि ओकिनावाको नाहा एयरपोर्टमा आउनेजाने हवाई उडानहरु बढि प्रभावित बनेका छन् । ओशाका प्रिफेक्चरमा रहेको कान्साई अन्तराष्ट्रिय विमानस्थलका २ वटा धावन मार्गहरु आइतवार ११ बजेदेखि बन्द गरिएको छ । जुन सोमवार विहान ६ बजेसम्मका लागि बन्द नै रहनेछ । टोकियोदेखि पश्चिमी जापानका विभिन्न क्षेत्रमा चल्ने सिनकानसेन रेलहरु समेत रद्ध गरिएका छन् । क्योतो ओसाका र कोवेमा चल्ने स्थानीय ट्रेन लाइनहरुपनि बन्द रहेको समाचारमा उल्लेख छ ।

टोकियोमा जेआर लाइन बन्द

आइतबार साँझदेखि टोकियो सहित यस आसपासको ठूलो क्षेत्रमा प्रभाव देखिने अनुमान गरिएको ताइफुका कारण राती ८ बजेदेखि टोकियोको ब्यस्त ट्रेन लाइन यामानोते लाइन बन्द गरिने इष्ट जापान रेल्वे कम्पनीले जनाएको छ । साथै टोकियो महानगरभित्र चल्ने अन्य जेआर लाइनहरुपनि बन्द हुने बताइएको छ । अन्य ट्रेन लाइनहरु पनि ब्यस्त रहने भएकाले समयमै घर फर्कन सूचनाहरु जारी भएका छन् । इष्ट जापान रेल्वे कम्पनीको ट्रेन स्टाटस् हेर्ने वेवसाइटमा कान्तो क्षेत्रका लगभग सबै लाइनहरु बन्द भएको देखिएपनि पार्किङका लागि लगिएका ट्रेनहरुले ८ बजेपश्चात पनि यात्रुहरु बोकेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यही महिनाको सुरुवातमा जेबी नामक २५ बर्ष यताकै सबैभन्दा शक्तिशाली मानिएको ताइफु ले ठूलो असर पारेको थियो । दर्जन बढिको ज्यान लिएको सो ताइफुकै कारण कान्साई अन्तराष्ट्रिय विमानस्थल केही दिनका लागि बन्द समेत भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com