नमूना बन्दै मर्स्याङ्दी गाउँपलिका, छुवाछुत मुक्त पालिका बन्ने प्रतिबद्धता


प्रकाशित मिति : आश्विन १३, २०७५ शनिबार

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछूत मुक्त गाउँपालिका बनाउन सार्वजनिक प्रतिवद्धता जनाएको छ । मस्र्याङ्दी गाउँपालिका र समग्र विकास सेवा केन्द्रले सयुक्त रुपमा कार्यक्रम आयोजना गरी छुवाछूत मुक्त पालिका कार्यन्वयनका लागि जनप्रतिनिधि र सरोकारवालाबीच पाँच बुदे प्रतिबद्धता सार्बजनिक गरेको हो ।


गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले छिट्टै छुवाछुत मुक्त गाउँपालिका घोषणा गर्ने बताए । ’पहिले गाउँबस्तीबाट जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने र त्यसपछि गाउँपालिबाटै निर्मूल गर्ने योजना छ,’ उनले भने, ’प्रतिवद्धतामा हामी सबै मानिस समान र बराबर अधिकारका भागेदारी हौं, जातीय भेदभाव तथा छुवाछूत सामाजिक कूरीति र अपराध हो, हामी हाम्रो घर परिवार र समाजमा हुने छुवाछूत तथा भेदभावलाई पूर्णरुपले अन्त्य गर्न प्रतिवद्ध छौँ भनिएको छ ।’

यस्तै ‘संविधान, ऐन कानुन नियममा उल्लेख भएका छुवाछुतविरुद्ध बनेका कानुनको पूर्ण रुपमा कार्यान्वयन गर्न प्रतिवद्ध छौं र गाउँपालिकालाई जातीय विभेद र छुवाछूत मुक्त गाउँपालिका बनाउन आवश्यक सहयोग र खबरदारीका लागि पूर्ण प्रतिवद्ध रहनेछौ’ प्रतिवद्धतामा भनिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाका संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले जातीय छुवाछुत अन्त्यका लागि अशिक्षा र गरीबीलाई पनि सँगसँगै अन्त्य गर्नुपर्ने बताए । उनले जातीय भेदभाव र छुवाछुत अन्त्य घोषणा गरी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन सुझाव दिए । उनले समाज परिवर्तनका लागि चेतना र शिक्षा आवश्यकता रहेको बताए ।

संविधान सभा सदस्य जमीन्द्रमान घलेले जातीय भेदभाव न्यूनीकरणका लागि गाउँपालिकाले वडा तहमा जातीय विभेद न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको कानुनले नै जातीय विभेद गरेको पाइएमा दण्डनीय हुने भएपनि व्यवहारमा अझैँ कार्यान्वयन हुन नसकेको बताए ।

जिल्ला समन्वय समिति सदस्य नन्दराम विक, नेकपाका प्रतिनिधि अजय तामाङ, कांग्रेसका प्रतिनिधि नरबहादुर गुरुङ, मस्र्याङ्दी गाउँपालिकाका सामाजिक विकास समितीका संयोजक प्रेमबहादुर बस्नेत, सम्पूर्ण वडा र महिलाको तर्फबाट वडा नम्बर ८ की वडाध्यक्ष हिरादेवी घले र लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइका अध्यक्ष विरेन्द्र भण्डारीले प्रतिवद्धता जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com