फेरि अनसन बस्ने गोविन्द केसीको चेतावनी


प्रकाशित मिति : आश्विन ११, २०७५ बिहीबार

आम नागरिकमा गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको समान पहुँचका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी ६ दिनपछि अर्थात कात्तिक १६ गतेदेखि १६ औं अनशन थाल्ने चेतावनी दिएका छन्।

पूर्वसम्झौताअनुसार निर्माण गरिएको विधेयकमाथि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल भइरहेका बेला समितिका सभापति जयपुरी घर्ती मगरले दिएको विवादस्पद अभिव्यक्तिले आफूलाई फेरि एक पटक झस्काएको भन्दै डा. केसीले संसदको चालु अधिवेशनबाट जस्ताको त्यस्तै विधेयक पारित हुनु पर्ने माग गरेका छन्।

डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै विधेयक चालु अधिवेशनबाट नै पास हुनुपर्ने माग पनि गरेका हुन्। समितिकी सभापति घर्तिले केही दिन अघि यो अधिवेशनमा चिकित्सा विधेयक पास नहुने अभिव्यक्ति दिएकी थिइन्। त्यसबाट आक्रोशित डा. केसीले तोडमोड गरी विधेयक पारित गर्न राजनीतिक दलका नेताहरुले चलखेल गर्न थालेको भन्दै आशंका व्यक्त गरेका छन्।

केपी ओली नेतृत्वको सरकारले चिकित्सा शिक्षा अध्यादेशमा जनतामुखी बुँदाहरु हटाएर माफियामुखी विधेयक संसदमा प्रस्तुत गरेपछि डा. केसी गत साउन १० देखि २७ दिन लामो अनशन बसेका थिए।

सुरुमा डा. केसीको माग पूरा नगर्ने अडानमा रहेका प्रधानमन्त्री ओलीले डा. केसीको नाममा जनता सडकमा उत्रिएपछि बाध्य भएर आफ्ना नेता सुवास नेम्वाङ र महासचिव विष्णु पौडेललाई उनीसँग सहमति गर्न निर्देशन दिएका थिए।

सरकारले डा. केसीको मागअनुसार विधेयक निर्माण गरी संसदमा प्रस्तुत गर्ने लिखित सहमति जनाएपछि डा. केसीले आफ्नो १५ औं अनशन तोडेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com