यस्ता छन् अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी, सावधानी अपनाउन सरकारको चेतावनी


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु कडा बनाइरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले देशनिकालाको सामना समेत गर्नु परेको छ ।

अमेरिकी सरकारको युएससीआईएसले यस्ता ठगहरुबाट जोगिनका लागि चेतावनी नै जारी गरेको छ । किनभने ठगको पछि लागेर गलत कदम चाल्दा वा गलत सुझावका कारण गलत अध्यागमन कागजातहरु तयार गर्दा देशनिकालाको समेत सामना गर्नुपर्ने हुनसक्छ ।

डिभी लोटरी

डिभी लोटरीका सन्दर्भमा विभिन्न भ्रमहरु फैलाएर ठगहरुले धेरै व्यक्तिलाई शिकार बनाउने गर्छन् । डिभी लोटरी निशुल्क भएपनि डिभी पारिदिने प्रलोभन देखाएर रकम असुल्ने, डिभी परेको ठग इमेल पठाएर रकम माग्ने, व्यक्तिगत विवरणहरु मागेर दुरुपयोग गर्ने जस्ता उपायहरु ठगहरुले अपनाउँदै आएका छन् ।

डिभी लोटरी निशुल्क हो, भर्दा कुनै रकम लाग्दैन । कसैले रकम लिएर कसैलाई डिभी पार्न सक्दैन । डिभी लोटरी परेकोबारे अमेरिकी सरकारले कुनै इमेल पठाउँदैन । आर्थिक बर्ष २०२० का लागि अझै डिभी लोटरी खुलेको पनि छैन । अमेरिकी सरकारको एकमात्र आधिकारिक वेवसाइटमार्फत डिभी लोटरीबारे विवरण प्राप्त गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोनबाट रकम माग

कतिपय आप्रवासीहरुलाई ठगहरुले अध्यागमन प्रकृयाका लागि भन्दै फोन वा विद्युतीय माध्यमबाट रकम माग्ने गर्छन् । अमेरिकी सरकारको युएससीआईएसले फोन, पेपल, वेष्टर्न युनियनमार्फत रकम स्वीकार गर्दैन ।

युएससीआईएसले निश्चित प्रकारका फर्महरुका लागिमात्र क्रेडिट कार्डबाट रकम स्वीकार गर्छ । तर त्यो युएससीआईएसको आधिकारिक वेवसाइटमार्फत वा आधिकारिक ठेगानामा पठाएरमात्र तिर्न सकिन्छ । माई युएससीआईएस पोर्टलमा एकाउन्ट बनाएरमात्र युएससीआईएसलाई शुल्क तिर्न सकिन्छ । अन्यथा प्रामाणिक चेक र मनी अर्डर ठेगानामा पठाएरमात्र युएससीआईएसलाई रकम तिर्न सकिन्छ ।

टीपीएस दर्ता

टीपीएस दर्ताका नाममा पनि ठगहरुले आप्रवासीहरुलाई ठग्ने गरेका छन् । ट्रम्प प्रशासनले होण्डुरस, एल साल्भाडोर, हैटी, निकारागुवाका नागरिकको टीपीएस खारेज गरिसकेको छ । नेपालको टीपीएस अवधि पनि सन् २०१९ को जुन २४ मा समाप्त हुँदैछ । त्यसैले टीपीएस दर्ता वा पुनदर्ता गराउने नाममा कसैले रकम मागेमा वा प्रलोभन देखाएमा त्यस्ता ठगहरुबाट जोगिन जरुरी छ ।

टीपीएसबारे थप जानकारी र अपडेट लिन यहाँ क्लिक गर्नुहोला ।  

पब्लिक नोटरी

आप्रवासीहरुले सबैभन्दा धेरै गल्ती गर्ने नोटरीका सन्दर्भमा पनि हो । ल्याटिन अमेरिकामा नोटरी पब्लिक गर्नेहरुसँग कानुनी लाइसेन्स पनि हुन्छ । नेपालमा समेत कानुनी कार्यालयहरुबाट नोटरी पब्लिक गर्न सकिन्छ । तर अमेरिकामा नोटरी पब्लिकलाई कानुनी काम गर्ने कुनै अधिकार हुँदैन । उनीहरु अध्यागमन वकिल होइनन् ।

डिपार्टमेन्ट अफ जस्टिसको यो लिंकमार्फत लाइसेन्स प्राप्त कानुन व्यवसायी भए नभएको चेक गर्न सकिन्छ ।

 

ठगी गर्ने वेवसाइटहरु

आप्रवासीहरुलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने वेवसाइटहरुको पनि अहिले बिगबिगी छ । अमेरिकामा अध्यागमन प्रकृयाका लागि आवश्यक पर्ने सबै फर्महरु निशुल्क डाउनलोड गर्न सकिन्छ । कुन फर्म कसरी भर्ने र कति शुल्क तिर्ने भन्ने विवरण पनि युएससीआईएसको वेवसाइटबाट प्राप्त गर्न सकिन्छ । अमेरिकी सरकारको आधिकारिक वेवासाइटको अन्त्यमा डट जीओभी हुने गर्छ ।

भिसा सहित जागिरको अफर

ठगहरुले अमेरिकामा जागिरको अफर सहित भिसा मिलाइदिने भन्दै रकमको माग गर्छन् । त्यस्ता ठगहरुबाट सचेत हुन जरुरी छ । विदेशमा नै रहेको बेलामा अमेरिकामा जागिर लगाइदिने भन्दै कुनै अफर वा इमेल गरेमा त्यस्ता अफर वा इमेल ठगीको इमेल हुनसक्छ । अमेरिका आउनुभन्दा अगाडि नै आफ्नो देशमा छँदै जागिरको अफर आएमा वा त्यसका लागि कसैले भिसा वा अन्य प्रयोजनका लागि भन्दै रकम मागेमा त्यस्ता ठगहरुबाट सावधान हुनुपर्छ ।

अमेरिकामा रोजगारबारे जान्न यो लिंकमा क्लिक गर्नुहोला ।

त्यसरी गरिने जागिरको अफर बैधानिक नै भएपनि तपाईले अमेरिकाको ग्रिनकार्ड प्राप्त नगर्दासम्म, अमेरिकाको वर्क परमिट र रोजगारमा आधारित भिसा प्राप्त नगर्दासम्म अमेरिकामा काम गर्न पाइदैन । यदि तपाई अमेरिकामा नै विद्यार्थी भिसामा हुनुहुन्छ भने कुनै जागिरको अफर स्वीकार गर्नु अगाडि डीएसओसँग अनिवार्य सल्लाह गर्नुहोला । यदि तपाई ग्रयाजुएट गर्नै लाग्नुभएको छ र ओपीटी आवेदन दिदै हुनुहुन्छ भने अमेरिकी सरकारको आधिकारिक पेजमार्फत थप जानकारी लिनुहोला ।

भारतमा अध्यागमन ठगी

युएससीआईएसको नयाँ दिल्ली फिल्ड अफिसबाट वा भारतमा रहेको अमेरिकी सरकारको विदेश मन्त्रालयको कार्यालयबाट भन्दै ठगहरुले इमेलहरु पठाउने गर्छन् । भिसा आवेदन स्वीकृत भएको र भिसा प्रकृयाका लागि रकम चाहिने भन्दै आउने त्यस्ता इमेलबाट सावधान रहनुहोला ।

अमेरिकी सरकारबाट प्राप्त हुने सबै इमेलको इमेल ठेगाना डट जीओभीमा अन्त्य हुन्छ । युएससीआईएसले डाइभर्सिटी भिसा, अन्य प्रकारका भिसा स्वीकृत भएको भन्दै सामान्यतया इमेल पठाउँदैन । युएससीआईएसले कुनै व्यक्तिका नाममा रकम पठाउन कहिल्यै अनुरोध गर्दैन ।

त्यस्ता ठगीबारे थप जानकारी यहाँ उपलब्ध छ ।

आई नाइन र इमेल ठगी

ठगहरुले कतिपय रोजगारदातालाई आई ९ सुचना भर्न भन्दै इमेल पठाउने गरेका छन् । रोजगारदाताहरुले युएससीआईएसलाई आई ९ फर्म पेश गर्नु जरुरी हुँदैन । न्युज डट युएससीआईएस डट जीओभीबाट प्राप्त इमेलसमेत नक्कली इमेल भएको युएससीआईएसले जनाएको छ ।

यदि इमेल नक्कली भएको बारे यकिन भएमा फेडरल ट्रेड कमिसनमा रिपोर्ट गर्नुपर्छ । नक्कली वा सक्कली भएकोबारे यकिन नभएमा युएससीआईएस वेवमास्टरमा रिपोर्ट गर्नुपर्छ ।

विद्यार्थीमाथि ठगी

अमेरिका बाहिर रहेका र अमेरिका आउन चाहने विद्यार्थीहरुलाई पनि ठगहरुले निशानामा पार्ने गरेका छन् । यदि तपाई अमेरिकामा विद्यार्थी भिसामा आउन चाहनुहुन्छ भने काउन्सिल फर हाइअर एजुकेशनको वेवपेजमा गएर कलेज वा युनिभर्सिटी आधिकारिक भए नभएको चेक गर्नुपर्छ ।

अमेरिकामा विद्यार्थी भिसामा आउनका लागि आई २० फर्म प्राप्त गर्न जरुरी हुन्छ । विद्यार्थी वा एक्सचेन्ज भिजिटरका रुपमा स्वीकृत भइसकेपछि डीएसओले तपाईलाई आई २० प्रदान गर्छन् । मान्यताप्राप्त नभएका विद्यालयहरुले तपाईलाई विद्यार्थी भिसा स्पोन्सर गर्न सक्दैनन् । आई २० बारे थप जानकारी अमेरिकी सरकारको आधिकारिक वेवसाइटमार्फत प्राप्त गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com