कारबाही गरिनुपर्ने ‘पप्पु कन्स्ट्रक्सन’लाई उल्टै २ अर्बकाे नयाँ ठेक्का !


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

दर्जनौं ठूला पुल र सडककाे ठेक्का लिएर अलपत्र पार्ने र कम गुणस्तरका संरचना निर्माण गर्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो ।

पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आइतबार औपचारिक रूपमा यसको घोषणा र सम्झौता गर्दै छ ।

पप्पु यसअघिदेखि नै ठेक्का ओगट्ने तर समयमा काम नसक्ने कम्पनीका रूपमा बदनाम छ । निर्माण गरिएको संरचना पनि गुणस्तरहीन रहेको गुनासो बढेपछि सरकारले छानबिनसमेत अघि बढाएको समाचार अाजकाेकान्तिपुरमा छ ।

पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले पप्पुका धेरै गल्ती औंल्याइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले पप्पुमाथि कारबाही गर्ने तयारी भइरहेको दाबी गरे । तर कारबाही टुंगाे नलाग्दै पप्पुलार्इ नयाँ ठेक्का दिने तयारी समेत भइरहेकाे बताइएकाे छ ।

महाशाखाले छानबिन बेवास्ता गर्दै यही कम्पनीलाई राष्ट्र बैंक भवन बनाउने जिम्मा दिन लागेको हो । पप्पुले २ अर्ब ६ करोडको ठेक्का हालेको छ । अन्य कम्पनीले २ अर्ब ८ करोडदेखि २ अर्ब ४४ करोडसम्मको प्रस्ताव पेस गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com