माधव नेपाल पक्षले सक्ला त सरकार ढाल्न ?


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल (माकुने) यतिबेला आफ्नै पार्टीको नेतृत्वप्रति असन्तुष्ट छन् ।

कुनै समय तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बदला लिन माओवादी केन्द्रसंग मिलेरै सेखी झार्छु भनेर हिंडेका माकुनेले पार्टी एकता भएपछि आफ्नो अड्कल फेल खाएपछि चिन्तामा परेका छन् ।

अहिले माकुने खेमा पुरै पार्टी नेतृत्व र आफ्नै पार्टीको सरकारप्रति असन्तुष्टि जनाइरहेका छन् । चाहे त्यो हत्या, हिंसा र बलात्कारको काण्डले होस् वा पार्टीले आफ्नो खेमाका नेताहरुलाई उचित स्थान नदिएर होस् ।

बहाना उचित सम्मान नपाएको भए पनि अहिले देखाउनका लागि भने सरकारको कामकारबाही ठीक नभएको बताइरहेका छन् ।

आफ्नो कार्यकालमा सिन्कोसमेत नभाँचेर आलोचित बनेका पूर्वप्रधानमन्त्री माकुनेले यसपटक ओली नेतृत्वको सरकारले केही पनि कामै नगरेको भन्दै आक्रोशित देखिएका छन् ।

धुम्बाराही स्रोतका अनुसार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कुनै पनि विषयमा माकुनेसंग सरसल्लाह नगरेपछि माकुनेको आक्रोश बढेको हो ।

त्यसैगरी बालुवाटार स्रोतका अनुसार माकुने खेमाका नेताहरुलाई बालुवाटार प्रवेशमा प्राथमिकता छैन । एक स्रोत भन्छ, ‘पार्टीका को को भनेर तोक्न त मलाई अप्ठेरो हुन्छ तर एउटा सानो सर्कल मात्र बालुवाटार आउजाउ गर्छ ।’

अपमानित महसुस गर्दै आएका माकुनेले अब खुलेआम नै सरकारको विरोध गर्ने मनस्थिति बनाइरहेका छन् । उनी सडकदेखि संसदसम्म त्यसै अनुसार अगाडि बढ्ने बताउँदै हिँड्न थालेका छन् ।

उनी निकटका नेताहरुले सामाजिक संजालहरुमा सरकारी कामकाजको विरोध गर्न थालिसकेका छन् ।

एक माकुने निकटका नेताले भने, ‘प्रमुख प्रतिपक्षी काँँग्रेस सुतेको छ, अब उसको भूमिका हामी खेल्छौं । काँग्रेसले उठाउनु पर्ने मुद्दाहरु हामीले उठाएर यो सरकारलाई नैतिकवान बनाउने प्रयास गर्छौं ।’

उनका अनुसार ओली अहिलेसम्मकै सबैभन्दा बढी कामका प्रतिवद्धता गरेर कम फत्ते गर्ने प्रधानमन्त्रीमा पर्छन् ।

उनी भन्छन्, ‘ओली कामरेडका काम गर्न दिएको निर्देशन र काम गर्ने लिष्टले नेपाल अबको चार वर्षमै विकसित राष्ट्र बन्नेछ । तर के गर्ने जोरपार्टीमा पानीजहाज चलाउन अल्लि मिलेन ।’

उनको यो व्यङ्ग्य ओलीप्रवृत्ति विरुद्ध नै हो । ओलीले देखाएका सपना पूरा हुनु त परै जावस् दैनिकीका कामहरु मै समस्या देखिएको छ ।

माधव नेपाल पक्षका एक प्रतिनिधिसभा सांसदले हाम्राकुरालाई भने, ‘आफ्नै पार्टीको सरकारलाई गाली गरेर अर्थ छैन, तर सच्चिनु जरुरी छ, हामीलाई समेत खुलेआम हिंड्न गा¥हो भइसकेको छ ।’

अहिलेसको सरकार ‘कर’ देखि ‘यातायात सिन्डिकेट, सुनकाण्ड, हत्या, बलात्कार जस्ता धेरै घटनामा अनावश्यक फसिरहेको छ ।

ओलीले आफ्ना कार्यकर्तालाई विपक्षी विरुद्ध अरिंगाल खनिएझैं खनिनु भनिरहेका बेलामा जब आफ्नै पार्टीका नेताहरु पनि विपक्षीजस्तै बने भने के जस्तो गरी खनिन भन्ने होलान् ?

नेपाल पक्षका एक नेताले भने, ‘हामी त लोकतन्त्रमा विश्वास गर्छौं चित्त नबुझे खुलेखाम भन्ने हो । यो सरकारले राम्रा काम गरेको छैन भने सल्लाह दिने हो । हामी अरिंगाल हैनौं । प्रतिपक्षीलाई पनि साथमा लिएर विकासको काममा हिंडौं भन्ने हो ।’

नेता नेपालले पार्टीभित्र अरिंगालको गोलोमा आगो लगाउने प्रयास गरेर आफू भने प्यान अफ्रिका कन्फरेन्समा भाग लिन बुधबार घानातिर उडेका छन् ।

जे होस् पुरै गाउँमा आगो लगाउन एउटा काँटी सलाईं काफी छ भनेजस्तो सरकार गिराउन एउटा खेमा नलागोस ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com