एक लाख घुससहित कोटेश्वर र काँडाघारी प्रभागका ९ प्रहरी पक्राउ ताजा खबर


प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका ९ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार सिपाईदेखि असईसम्म  एक लाख घुसहित पक्राउ परेका हुन्।  अख्तियारको टोलीले सबै प्रहरीलाई घुससहित रंगेहात पक्राउ  गरेको दंगालले जानकारी दिए। पक्राउ पर्नेमा चार सिपाही, तीन हवल्दार र दुई असई रहेका छन्।

अख्तियारका अनुसार असई गोपाल श्रेष्ठसहित नौजनालाई रंगेहात पक्राउ गरिएको हो। उनीहरुलाई बानेश्वर एरियाबाट पक्राउ गरिएको हो। बालुवाखानी सञ्चालकसँग धम्क्याएर एक लाख रुपैयाँ उठाएको आरोप उनीहरुमाथि छ। पक्राउ परेका सबैलाई हिरासतमा राख्न अख्तियार लगिएको छ। आरोपित प्रहरीलाई अख्तियारकै हिरासतमा राखेर अनुसन्धान गरिने छ।

अनुसन्धानका लागि आइतबार विशेष अदालतमा उपस्थित गराएर थुनामा राख्ने अनुमती लिने तयारी भएको छ।  पक्राउ परेका नौ जनाले खानी सञ्चालकबाट लिएको रकम भागबण्डा गरेको अख्तियारका प्रवक्ता दंगालले बताए।

सबैभन्दा बढी रकम असई श्रेष्ठबाट ३० हजार रकम बरामद भएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com