नेपालका लागि नयाँ अमेरिकी राजदूतमा बेरीको नाम पारित


प्रकाशित मिति : भाद्र २५, २०७५ सोमबार

अमेरिकी सिनेटले नेपालका लागि अमेरिकी राजदूतमा र्याण्डी बेरीको नाम पारित गरेको छ । बिहिबार सिनेटमा भएको ध्वनि मतले नेपालका लागि अमेरिकी राजदूतमा बेरीको मनोनयन पारित गरेको हो ।

गत मे १० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेरीको नाम राजदूतमा सिफारिस गरेका थिए । खुल्ला रुपमा समलिंगी कुटनीतिज्ञ रहेका बेरीले सन् २०१५ देखि सन् २०१७ सम्म समलिंगी तथा तेश्रो लिंगी अधिकार प्रवद्र्धनका लागि अमेरिकी विदेश मन्त्रालयका तर्फबाट विशेष दूतका रुपमा काम गरेका थिए ।

सन् २०१२ देखि सन् २०१५ सम्म नेदरल्याण्डका लागि र सन् २००९ देखि २०१२ सम्म न्युजील्याण्डका लागि कन्सुल जनरलका रुपमा काम गरेका बेरीले सन् २००७ देखि सन् २००९ सम्म काठमाडौंमा रहेको अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरेका थिए । बंगालादेश, इजिप्ट, युगाण्डा, साउथ अफ्रिका लगायतका देशमा अमेरिकी विदेश मन्त्रालय अन्तरगत काम गरेका बेरीले स्नातक सम्मको अध्ययन कन्सासमा गरेका थिए ।

बेरीले प्रवेश सिंहसँग विवाह गरेका थिए भने उनीहरुका एक छोरा र एक छोरी छन् ।

Photo : John Shinkle/POLITICO

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com