कागजपत्रविहिन बालबालिकालाई लामो समय जेलमा राख्ने नियमको तयारीमा ट्रम्प प्रशासन


प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार

ट्रम्प प्रशासनले अमेरिकामा कागजपत्रविहिन बालबालिकाहरुलाई अहिलेको प्रावधानले अनुमति दिएभन्दा अझ लामो समय जेलमा राख्ने नियमको तयारी गरिरहेको छ । यसबारे फेडरल रजिष्टरमा सुचना समेत प्रकाशित गरिसकिएको छ ।

प्रस्तावित नीतिमा कागजपत्रविहिन बालबालिकालाई अध्यागमन हिराशतमा राख्दा अपनाउनुपर्ने २० बर्षदेखिका मापदण्डहरुलाई उल्टाउने भएको छ । फ्लोरेस सेटलमेन्ट एग्रिमेन्टका नामबाट परिचित अदालती मुद्दालाई प्रस्तावित नीतिले निकम्मा बनाउने भएको छ ।

फ्लोरेस सेटलमेन्ट एग्रिमेन्टमा कागजपत्रविहिन बालबालिकाहरुलाई हिराशतमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने सन्दर्भमा निर्देश गरिएको थियो । जुन अहिलेसम्म अमेरिकी सरकारले अपनाउँदै आएको थियो ।

पूरानो नियम अनुशार कागजपत्रविहिन बालबालिकाहरुलाई २० दिनभन्दा धेरै अध्यागमन हिराशतमा राख्न पाइदैन । प्रस्तावित नियमले परिवारलाई राख्ने हिराशतहरुलाई अनुमति प्रदान गर्ने संघीय इजाजत प्रणाली सृजना गर्नेछ । जसका कारण बालबालिकाहरुलाई अदालतको केससम्म हिराशतमा राख्न सकिनेछ । जुन केस बर्षौंसम्म पनि लाग्नसक्छ ।

तर आप्रवासीलाई हिराशतमा राखिएको अवस्थामा केसलाई छिटो टुंगो लगाईदै आएको सरकारले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार आप्रवासीलाई हिराशतमा राखिएको अवस्थामा अहिले औषतमा ३९ दिनभित्र मुद्दाको टुंगो लगाइने गरिएको छ ।

फेडरल रजिस्टरमा प्रकाशित सुचनाको पूर्ण पाठ यहाँ हेर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com