नेपालमै बसेर अमेरिकी ग्रिनकार्ड जित्ने ३६३३


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

-किशोर पन्थी

अमेरिका आउनसाथ ग्रिनकार्ड पाउनेगरी नेपालमै बसेर पनि ग्रिनकार्ड आवेदन दिने विभिन्न तरिकाहरु छन् । जसमध्ये चर्चित तरिकाहरु हुन् – डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र परिवारमा आधारित ग्रिनकार्ड । यी तरिकाबाट ग्रिनकार्ड स्वीकृत भएमा अमेरिका आउनासाथ ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ, अमेरिका आएर छुट्टै आवेदन दिइरहनु पर्दैन । नेपालमा नै बसेर अमेरिकाको ग्रिनकार्ड जित्ने सबैभन्दा सजिलो तरिका डिभी लोटरी नै हो । नेपालीहरुले सबैभन्दा धेरै ग्रिनकार्ड डिभी लोटरीमार्फत नै पाउँदै आएका छन् ।

सन् २०१९ का लागि ३६३३ नेपालीलाई डिभी

नेपालीका लागि अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो डिभी लोटरी । डिभी लोटरीका लागि छनौट भएर भिसा प्राप्त गरिसकेपछि अमेरिका आएर सिधै ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ, त्यो पनि सपरिवार । यसरी डिभी लोटरी भरेर बर्षेनी तीनहजार भन्दा धेरै नेपालीहरु अमेरिकामा आउने गरेका छन् । सन् २०१९ का लागि ३६३३ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । उनीहरुले आगामी अक्टोबरबाट भिसा पाउन सुरु गर्नेछन् ।

सन् २०१९ का लागि डिभी लोटरीको नतिजा गत मे १५ नै सार्वजनिक गरिएपनि कतिजना नेपालीहरुलाई डिभी लोटरी परेको छ भन्ने विवरण भने सार्वजनिक गरिएको थिएन । अमेरिकी सरकारको विदेश मन्त्रालयले केहीदिन अगाडिमात्र सन् २०१९ का लागि डिभी पर्ने नेपालीको संख्या विवरण सार्वजनिक गरेको हो । चालु आर्थिक बर्षका लागि ४०९७ जना नेपालीहरुलाई डिभी लोटरी परेको थियो । उनीहरुले यही सेप्टेम्बरको अन्तिमसम्म अमेरिकाको भिसा पाउनेछन् । आर्थिक बर्ष २०१८ को तुलनामा आर्थिक बर्ष २०१९ का लागि भने डिभी लोटरी पार्ने नेपालीहरुको संख्या केही कम भएको छ ।

डिभी परेका सबैले पाउँदैनन् ग्रिनकार्ड

डिभी लोटरी जित्दैमा सबैजना अमेरिका आउन पाउने र ग्रिनकार्ड पाउने निश्चित हुँदैन । डिभीबाट अमेरिकी ग्रिनकार्डको कोटा विश्वभरबाट ५० हजारमात्र रहेपनि सबैजना योग्य नहुने भएकाले त्यो भन्दा धेरैलाई लोटरी पार्ने गरिन्छ । ५० हजारको कोटा पूर्ण रुपमा प्रयोग होस् भन्ने उद्देश्यले त्यो भन्दा धेरैलाई लोटरी पारिन्छ ।

विश्वलाई विभिन्न ६ वटा भौगोलिक क्षेत्रमा विभाजन गरेर विभिन्न देशका नागरिकहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिन्छ । तर कुल नम्बरको ७ प्रतिशत भन्दा धेरै कुनै पनि देशले भिसा नपाउने नियम रहेको छ । यसरी हेर्दा कुनै पनि देशको जति जना व्यक्तिलाई डिभी लोटरी परेपनि कुल नम्बरको ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमा मात्र एकदेशका नागरिकहरुले डाइभर्सिटी भिसा पाउनेछन् ।
आर्थिक बर्ष २०१८ का लागि ४०९७ जना नेपालीलाई डिभी लोटरी परेपनि झण्डै ६ सयले भिसा नपाउने निश्चित छ । तर सन् २०१९ का लागि जम्मा ३६३३ नेपालीलाईमात्र डिभी लोटरी परेकाले भिसा नपाउनेहरुको संख्या कम अर्थात् एक डेढसयमात्र हुनसक्ने सम्भावना रहेको छ । विगतका बर्षहरुमा समेत डिभी लोटरी परेर अमेरिकी भिसा नपाउने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । अमेरिकी सरकारको भिसा बुलेटिनमा समेत हरेक महिना भिसा प्राप्त गर्नसक्ने नेपालीहरुको केस नम्बर सिमाबन्दी उल्लेख गरिएको हुन्छ ।

यो बर्ष लोटरीबाट भिसा पाउने नेपाली

आर्थिक बर्ष २०१८ सुरु भएदेखि जुनसम्मको अवधि हेर्दा डिभी लोटरी पर्ने, उनीहरुका दम्पत्ति र छोराछोरी गरी २६०५ जना नेपालीहरुले भिसा पाइसकेका छन् । सन् २०१८ का लागि ४०९७ जना नेपालीहरुलाई डिभी लोटरी परेकोमा जुलाई, अगस्त र सेप्टेम्बरमा भिसा पाउनेहरुको संख्या थप ३ सय भन्दा धेरै नहुने देखिएको छ । यसरी हेर्दा सन् २०१८ का लागि डिभी लोटरी परेका झण्डै १२ सय जना नेपालीहरुले भिसा नपाउने देखिएको छ ।

चालु आर्थिक बर्षको पहिलो महिना गत अक्टोबरमा २७२ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए । औषतमा हरेक महिना डेढसय नेपाली परिवारले यसरी भिसा पाउने गरेका छन् । उनीहरुका दम्पत्ति र छोराछोरी जोड्दा साढे २ सय देखि पौने ३ सयसम्मको हाराहारीमा पुग्ने गरेको छ । गत नोभेम्बरमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या २६८ रहेको थियो भने डिसेम्बरमा २६२ जनाले भिसा पाएका थिए ।

त्यस्तै सन् २०१८ को पहिलो महिना जनवरीमा २७२ जनाले, फरबरीमा २८५ जनाले, मार्चमा २९२ जनाले, अप्रिलमा
२८५ जनाले, मेमा ३७० जनाले र जुनमा २९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन् । अमेरिकामा नै रहेर डिभी लोटरी पारेर एड्जस्ट गर्नेहरुको संख्या समेत यसैमा समावेश गरिएको छ । अमेरिकामा नै भिसामा बसिरहेकाहरुले पनि डिभी लोटरी पारेर यो कार्यक्रमबाट फाइदा लिइरहेका छन् । अमेरिकामा बैध रुपमा बसिरहेका तर ग्रिनकार्ड नभएका व्यक्तिले डिभी लोटरी पारेमा र उनीहरुले आफ्नो कानुनी हैसियत परिवर्तन गरी ग्रिनकार्ड प्राप्त गर्न चाहेमा उनीहरुले प्रकृयाका लागि ब्यूरो अफ सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजमा सम्पर्क गर्नुपर्छ ।

विश्वभरबाट साढे ८७ हजार

आगामी अक्टोबरबाट सुरु हुने आर्थिक बर्ष २०१९ का लागि विश्वभरबाट भने ८७ हजार ६ सय १० जनाले डिभी लोटरी पारेका छन् । उनीहरुमध्ये नै ५० हजारको हाराहारीमा अमेरिकाको ग्रिनकार्ड पाउनेछन् । सन् २०१९ का लागि विश्वभरबाट १ करोड ४३ लाख ५२ हजार १३ जनाले डिभी लोटरी भरेका थिए । जसमा उनीहरुका आफन्तहरु समेत जोड्दा २ करोड २४ लाख २५ हजार ५३ जना हुन आउँछ । उनीहरुले गतबर्ष सन् २०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म डिभी लोटरी भरेका थिए ।

गतबर्ष आएको प्राविधिक गढबढीका कारण अक्टोबरको ३ देखि १० सम्म भरिएका डिभी आवेदनहरुलाई मान्यता दिइएको थिएन । अक्टोबर ३ मा डिभी लोटरी खुलेपनि पछि त्यसलाई बन्द गरेर अक्टोबर १८ देखि पुन डिभी लोटरी खुलाइएको थियो । डिभी लोटरीको रिजल्ट पनि गत मेमा अघिल्ला बर्षहरुको तुलनामा १५ दिन ढिलो प्रकाशित गरिएको थियो । डिभी लोटरीको सन्दर्भमा प्रणालीमा गढबढी आएको यो नै पहिलो पटक भने होइन । यस अगाडि पनि रिजल्ट प्रकाशित गर्दा प्रणालीमा गढबढी आएको थियो ।

नेपाल एसियामै दोश्रो, विश्वमा छैठौं

२०१९ का लागि एसियाका मुलुकहरुमध्ये सबैभन्दा धेरै डिभी लोटरी पार्नेमा नेपाल दोश्रो स्थानमा परेको छ । एसियाको पहिलो स्थानमा इरानका ४१९९ जनालाई डिभी लोटरी परेको छ । इरान यो बर्ष विश्वमा नै सबैभन्दा धेरै डिभी लोटरी पार्ने मुलुक हो ।

अफ्रिकन मुलुकहरुमा इजिप्टका ४१८५ जनालाई डिभी लोटरी परेको छ भने इथोपियाका ३८५६ जनालाई डिभी लोटरी परेको छ । युरोपका मुलुकहरुमा रसियाका ३६४१ जनालाई डिभी लोटरी परेको छ भने युक्रेनका ४०२५ जनालाई डिभी लोटरी परेको छ । यसरी हेर्दा सन् २०१९ का लागि डिभी लोटरी पार्नेमा नेपाल विश्वमा छैठौं नम्बरमा रहेको छ ।

सिंगै देशमा १ जनालाई डिभी लोटरी

सन् २०१९ का लागि डिभी लोटरीको नजिता र लोटरी पार्नेहरुको विवरण सार्वजनिक भएलगत्तै डिभी लोटरीको नतिजामा केही रोचक विवरणहरु समेत देखिएका छन् । कतिपय योग्य देशबाट एकजनाले पनि डिभी लोटरी पारेका छैनन् भने कतिपय देशका १ जनालेमात्र पनि डिभी लोटरी पारेका छन् ।

अफ्रिकाको इस्वाटिनी र सेचेलेसका एकएकजनालेमात्र डिभी लोटरी पारेका छन् । एसियामा बु्रनाई र टिमोर लेस्टका १ जनालाई पनि डिभी लोटरी परेन । उत्तर कोरियाका भने १ जनाले डिभी लोटरी पारेका छन् ।

त्यस्तै युरोपको एण्डोराका एकजनालाई पनि डिभी लोटरी परेन । फ्रेन्च पोलिनेसिया, सेन्ट मार्टिन र सेन्ट पिरे एण्ड मिक्वेलनका एकएकजनालाई डिभी लोटरी परेको छ । मोनाको, स्भालबार्ड र सान मारिनोका पनि एकएकजनालाई डिभी लोटरी परेको छ ।

ओसियानाका मार्शल आइल्याण्ड, तुभालु र भानुआटुका कसैलाई पनि डिभी लोटरी परेन । तर माइक्रोनेसियाका एकजनालाई डिभी लोटरी परेको छ । साउथ अमेरिकामा बेलिज, सेन्ट लुसिया र सुरिनामका कसैलाई पनि डिभी लोटरी परेन ।

सन् २०१९ का लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीनको मुख्यभूमी, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, साउथ कोरिया, नर्थन आयरल्याण्ड बाहेक युके र त्यसका माताहतका भूभागहरु, र भियतनाम डिभी लोटरीका लागि योग्य थिएनन् ।

५८ हजार नेपालीलाई अहिलेसम्म डिभी लोटरी

अमेरिकाको सरकारी श्रोत अनुशार डिभी लोटरी कार्यक्रम सुरु भएदेखि अहिलेसम्म झण्डै ५८ हजार नेपालीहरुलाई डिभी लोटरी परिसकेको । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २००२ देखि सन् २०१८ सम्मको डिभी लोटरी कार्यक्रम अन्तरगत डिभी लोटरी पार्ने नेपालीहरुको संख्या ५५ हजार २ सय ४२ रहेको छ । त्यो भन्दा अगाडिको समेत नम्बर जोड्दा झण्डै ५८ हजार हुन आउँछ ।

इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका थिए । आर्थिक बर्ष २०१७ का लागि ४ हजार नेपालीहरुले डिभी लोटरी पारेका थिए । त्यस्तै आर्थिक बर्ष २०१८ का लागि ४ हजार ९७ जना नेपालीहरुलाई डिभी लोटरी परेको थियो । आर्थिक बर्ष २०१९ का लागि ३६३३ नेपालीलाई डिभी लोटरी परेको छ ।

२०२० का लागि डिभी लोटरी आगामी अक्टोबरमा
आर्थिक बर्ष सन् २०२० मा डिभी लोटरीमार्फत अमेरिका आउन चाहनेहरुले आगामी अक्टोबरको पहिलो साता डिभी लोटरी भर्नुपर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिभी लोटरीको विपक्षमा उभिएपनि संसदले कुनै कानुन पारित गर्न नसक्दा सन् २०२० का लागि डिभी लोटरी खुल्ने लगभग निश्चित भएको हो ।

आगामी अक्टोबरमा डिभी लोटरी भरिसकेपछि त्यसको नतिजा सन् २०१९ को मे महिनाको पहिलो साता आउनेछ । त्यसपछि सन् २०१९ को अक्टोबर (आर्थिक बर्ष २०२० को पहिलो महिना) बाट विजेताहरुले अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् । अमेरिकी आर्थिक बर्ष अक्टोबर १ देखि सुरु भएर सेप्टेम्बर अन्त्यसम्म जारी रहन्छ ।

तस्विरमा ः डिभी लोटरीको काम गर्ने केन्टकी सर्भिस सेन्टरको एप्लिेकेसन सपोर्ट सेन्टर भवन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com