अमेरिकी कामदार भिसा आवेदकले थप ६ महिना प्रिमियम प्रोसेसिङ गर्न नपाउने


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

अमेरिकामा कामदार भिसा एचवान बी आवेदकहरुले थप ६ महिना आफ्ना आवेदनमा छिटो निर्णयका लागि युएससीआईएसमा अतिरिक्त शुल्क तिरेर प्रिमियम प्रोसेसिङ गर्न नपाउने भएका छन् । युएससीआईएसले एचवान बी भिसा आवेदकले सन् २०१९ को फेबु्रअरी १२ सम्म प्रिमियम प्रोसेसिङ गर्न नपाउने घोषणा गरेको छ । जसका कारण छिटो फैसला चाहने एचवान बी आवेदकले नियमित अवधि कुर्नुपर्ने भएको छ ।

यसअघि एच वान बी भिसा आवेदकका लागि अप्रिल २ देखि लागु हुने गरी सेप्टेम्बरसम्मका लागि प्रिमियम प्रोसेसिङ खारेज गरिएको थियो । अहिले उक्त खारेजीको अवधि अझ बढाइएको हो । एच वान बी भिसाले अमेरिकामा आप्रवासीहरुलाई कानुनी रुपमा काम गर्न अनुमति प्रदान गर्दै आएको छ ।

प्रिमियम प्रोसेसिङका आवेदनको संख्या असाध्यै बढेकाले एचवान बीका लागि प्रिमियम प्रोसेसिङमा रोक लगाइएको युएससीआईएसका प्रवक्ताले जनाएका माइकल बार्सले जनाएका छन् । एचवानबी बाहेकका अन्य आई १२९ आवेदकहरुले भने प्रिमियम प्रोसेसिङ गर्न पाउने युएससीआईएसले प्रष्ट पारेको छ ।

 

आवेदनमा प्रिमियम प्रोसेसिङका लागि आई १२९ वा आई १४० आवेदकले आफ्नो आवेदनका साथमा फर्म ९०७ भरेर अतिरिक्त शुल्क पठाउनुपर्ने हुन्छ । तर एचवान बी भिसा आवेदकले फर्म आई १२९ र प्रिमियम प्रोसेसिङ फर्म आई ९०७ को शुल्क एउटै चेकमा पठाएमा दुबै फर्महरु अस्वीकृत गरिने युएससीआईएसले स्पष्ट पारेको छ । तर एचवानबी बाहेकका अन्य आवेदकले भने दुईटै फर्मको शुल्क एउटै चेकमा पठाउन सक्नेछन् ।

एचवान बी भिसा आवेदकले प्रिमियम प्रोसेसिङ फर्म आई ९०७ को शुल्क अलग्गै चेकमा पठाएमा भने फर्म आई १२९ स्वीकार गरेर प्रिमियम प्रोसेसिङ फर्म र शुल्कमात्र अस्वीकार गरिनेछ । सेप्टेम्बर ११ भन्दा अगाडि प्राप्त भएका एचवान बी आवेदनका साथमा प्रिमियम प्रोसेसिङ शुल्क र फर्म पनि पठाइएको भएमा त्यस्तो शुल्क फिर्ता गरिनेछ । एचवान बी बाहेकको सन्दर्भमा प्रिमियम प्रोसेसिङ शुल्क पठाएर पनि १५ दिन भित्र आवेदनबारे फैसला नभएमा युएससीआईएसले प्रिमियम प्रोसेसिङ शुल्क फिर्ता गर्नुपर्ने प्रावधान छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com