‘कम्पन’ को दोश्रो संस्करण अक्टोबरमा
प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

तस्वीर : राजिव श्रेष्ठ
पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक ‘कम्पन’को दोश्रो संस्करण आगामी अक्टोबरमा प्रकाशित हुने भएको छ । पहिलो संस्करण गत अप्रिलमा प्रकाशित भएको थियो । पहिलो संस्करण प्रकाशित भएको ६ महिनाभित्रै दोश्रो संस्करण प्रकाशित हुन लागेको हो ।
कम्पनको पहिलो संस्करणको लोकार्पण गत अप्रिल २२ मा काठमाडौंमा दुईजना पूर्व प्रधानमन्त्रीहरु डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपालले गरेका थिए । त्यसपछि मे १२ मा न्युयोर्कमा विश्वब्यापी लोकार्पण र पुस्तक हस्ताक्षर गरिएको थियो ।
न्युयोर्कपछि बेलायत र युरोपका विभिन्न देशहरुमा पुस्तक हस्ताक्षर कार्यक्रम सम्पन्न भइसकेका छन् । अहिलेसम्म ८ लाख रुपैयाको कम्पन बिक्री भइसकेको छ ।

दोश्रो संस्करण फरक कभरमा प्रकाशित हुनेछ भने पहिलो संस्करणपछि प्रकाशित समीक्षाका अंशहरुपनि दोश्रो संस्करणमा प्रकाशित हुनेछन् । साथै दोश्रो संस्करणमा उपलब्ध पात्रहरुको तस्वीर र फुटनोटहरु पनि राखिनेछ भने केही इन्डेक्सहरु पनि थपिनेछ । तर पुस्तकको मुलभागमा भने परिवर्तन गरिनेछैन ।
दोश्रो संस्करण प्रकाशन भएपछि नेपालका विभिन्न भागमा अन्तरकृया र पुस्तक हस्ताक्षर कार्यक्रम गरिने भएको छ । साथै अमेरिकाका विभिन्न राज्यमा पनि अन्तरकृया र पुस्तक हस्ताक्षर गरिनेछ ।
हाल पुस्तक कम्पन अमेरिकामा फेसबुक शपमा र नेपालमा विभिन्न पुस्तक पसलहरुमा उपलब्ध छ । साथै नेपालका जुनसुकै स्थानमा किताबयात्रा मार्फत होम डेलिभरीको समेत व्यवस्था छ । अमेरिका, बेलायत, पोर्चुगल, जर्मनी, फ्रान्स, इटली लगायतका स्थानमा अमेजनबाट पनि पुस्तक उपलब्ध छ ।
