युरोप, अमेरिका पठाइदिने नाममा ठगिने युवाको सङ्ख्या बढ्दो


प्रकाशित मिति : मंसिर ११, २०७३ शनिबार

वैदेशिक रोजगारीका क्रममा युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने नाममा ठगिने युवाको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारमा जान ‘हतार’ गर्दा युवा ठगिने गरेका छन् । ती देशमा आकर्षक तलब सुविधाका साथै काम गर्न सजिलो हुने भएकाले दलालले विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेका हुन् । विशेषगरी उपत्यका बाहिरका ग्रामीण वस्तीबाट सहर पस्ने युवा बढी ठगिने गरेको प्रहरीको कारबाही अध्ययनले देखाएको छ ।

‘गाँउबाट आएका सोझासिधा युवा विदेशमा रुखमा पात फलेझै पैसा सजिलै फल्छ भन्ने भ्रम पालेर आएका हुन्छन्’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल भन्छन्, ‘यही भ्रमले उनीहरूलाई ठगिन बाध्य बनाउछ । ऋण गरेर ल्याएको पैसा दलालको हातमा पर्छ ।’ अपराध महाशाखाका अनुसार, गत वैशाखदेखि कात्तिकसम्ममा वैदेशिक रोजगारसम्बन्धी ठगीका करिब ५० वटा घटना दर्ता भएका छन् । तीमध्ये युरोप, अमेरिका, जापान र अस्ट्रेलिया पठाउने नाममा धेरै छन् । ठगिनेहरू पनि विद्यार्थीभन्दा सामान्य मजदुरी काममा जान खोज्ने व्यक्ति धेरै छन् ।

वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा ठगीका घटना अत्याधिक हुने गरेका थिए तर प्रहरीले कारबाही अभियान सञ्चालन गरेपछि दलालले ठगीको रुट परिवर्तन गरेको भनाइ महाशाखा प्रमुख खनालको छ । खाडीमा हुने ठगीका घटनाप्रति सर्वसाधारणसमेत सचेत भएका छन् । विकसित मुलुक युरोप, अमेरिका, अस्ट्रेलिया र जापानलाई वैदेशिक रोजगारीको नयाँ गन्तव्यका रूपमा प्रयोग गरी अध्ययन, पर्यटक, भ्रमण तथा सेमिनार भिसाका नाममा प्रतिव्यक्ति १० देखि ५० लाख रुपियाँ उठाएर दलालले ठगी गर्ने गरेको पाइएको छ ।

गाउँबाट पनि उनीहरू दलालमार्फत नै काठमाडौँ आएका हुन्छन्, यहाँ पुगेपछि सुरक्षित जागिर र आकर्षक तलबको प्रलोभनमा युरोप र अमेरिकाको सपना देखाइ ‘ट्रान्जिट’ पार्ने नाममा अवैध बाटो प्रयोग गरी दिल्ली, बैङ्कक, श्रीलङ्का, दुबई र साइप्रसमा अलपत्र पार्ने गरेका छन् । महाशाखा प्रमुख खनाल भन्छन्, दलालको भ्रमका पछि लागेर विदेश जान हतार गर्नेहरू धेरै ठगिएका छन् । दिन प्रतिदिन विकराल समस्याका रूपमा देखा परेको सो ठगी समस्याबाट जोगिन युवा नै सचेत हुनुपर्छ ।

कात्तिक १ गतेदेखि मङ्सिर १० गतेसम्ममा युरोपको नेदरल्यान्ड, साइप्रस, अमेरिका, रसिया हुँदै युरोप र क्यानडा पठाइदिने नाममा ७० जना युवालाई ठगी गर्ने छुट्टा छुट्टै चारवटा समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसअघि डेढ सय जनालाई ठगी अभियोगमा पक्राउ गरी मुद्दा चलाएको थियो । महाशाखाले क्यानडा पठाइदिने नाममा चार जनाबाट ६० लाख रुपियाँ लिएर फरार पाँचथर आङश्रङ्का छत्रबहादुर विश्वकर्मा, अमेरिका पठाउने भन्दै आठ जनाबाट ६३ लाख रुपियाँ उठाएर फरार निममान विक, जयबहादुर भण्डारी र जयसिंह धामीलाई पक्राउ गरेको गाेरखापत्रमा खबर छ । ठगीमा संलग्न यी दुईवटा छुट्टाछुट्टै समूहले उपत्यका बाहिरका विभिन्न सहरी क्षेत्रमा बस्ने युवालाई दलालमार्फत सम्पर्कमा ल्याएर अमेरिका र क्यानडा पठाइ दिने भन्दै करिब २० जनाबाट एक करोड रुपियाँ ठगी गरेको आरोप प्रहरीको छ ।

त्यस्तै, अमर–सुमित्रा नामक नक्कली कन्सल्टेन्सी सञ्चालन गरी साइप्रस हुँदै अमेरिका पठाउने नाममा ३५ जनाबाट जनही पाँच/पाँच लाख रुपियाँ ठगी गर्ने म्याग्दीका अमरबहादुर विक, नेदरल्यान्ड पठाइ दिने भन्दै तीन जनाबाट १३ लाख रुपियाँ ठगी गर्ने बागलुङका कृष्णप्रसाद कँडेल र रसिया हुँदै युरोप पठाउने नाममा सात जनालाई दिल्लीमा अलपत्र पार्ने सम्झना केसी र आनन्द केसीलाई पक्राउ गरेको थियो । महाशाखाले पक्राउ अभियुक्तहरू वैदेशिक रोजगारीका पेसेबर ठग भएको जनाएको छ । यो समूहले डलरमा आउने तलबको लोभ देखाइ १० देखि २० जनासम्मको समूहबाट प्रतिव्यक्ति पाँचदेखि १० लाख लिई भारतको दिल्ली हुँदै अमेरिका र बैङ्कक हुँदै रसिया र रसियाबाट अमेरिका पठाउने नाममा ठगी गरेको पाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com