संविधानविपरित शिक्षा नियमावली !


प्रकाशित मिति : मंसिर ९, २०७३ बिहीबार

उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले शिक्षा नियमावलीको मस्यौदामा कतिपय जायज मागको सम्बोधन नगरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । खासगरी शिक्षाको तहगत संरचनामा बाल शिक्षादेखि कक्षा आठसम्म आधारभूत तह र कक्षा नौदेखि १२ कक्षासम्म माध्यमिक तह भन्ने संवैधानिक प्रावधान विपरीत कक्षा १ देखि १२ कक्षासम्मको शिक्षालाई एउटै तहमा प्रस्तावित गरिएकोमा हिसाानले आपत्ति जनाएको छ ।

सरकारले शिक्षा नियमावलीलाई अन्तिम स्वरूप दिने तयारी गरिरहेका बेला बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले शिक्षाको संरचनामा आफ्नो मुख्य चासो रहेको बताए । हाल सञ्चालित दश जोड दुई कलेज निर्वाध रूपमा उक्त तह सञ्चालन गर्न पाउनुपर्ने वा २०७८ चैत मसान्तभित्र कक्षा नौ र १० को अनुमति लिइसक्नुपर्ने प्राधान ह्ुनुपर्ने माग उनले गरे ।

साथै हालसम्म उच्च माध्यमिक विद्यालय अस्थायी सम्बन्धनका आधारमा सञ्चालन भइरहेको भन्दै उनले पूर्वाधार पुगेका शैक्षिक संस्थालाई स्थायी सम्बन्धन दिनुपर्ने बताए । यो अवस्थामा शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारीलाई स्थायी गर्न नसकिने उनको भनाइ छ । विद्यालयमा पूर्णकालीन अध्यापक तथा कर्मचारी राख्न सकिने भए पनि स्थायीको व्यवस्था भने गर्न नसकिने उनले स्पष्ट गरे ।

विद्यालय तहको हालको शिक्षक अभिभावक सङ्घलाई विद्यालय अभिभावक परिवार बनाउनुपर्ने अवधारणा हिसानले अगाडि सारेको गोरखापत्रमा खबर छ । शिक्षक अभिभावक संघमा भएको राजनीतिकरणलाई न्युन गरी वास्तविक सरोकारवालाई समेट्नुपर्ने उनको भनाइ छ ।
साथै विद्यालयको शैक्षिक सत्र वैशाखबाट प्रारम्भ हुने उल्लेख गरिएकोमा कक्षा ११ र १२ मा उक्त प्रावधान कार्यान्वयन हुन नसक्ने भएकाले त्यसलाई सच्याउनुपर्ने माग हिसानका अध्यक्ष सिलवालले गरे ।

कक्षा ११ को शैक्षिक सत्र सुरुवात साउन १५ र कक्षा १२ को हकमा असार १५ राख्नु उपयुक्त हुने सुझाव दिइएको छ । दश जोड दुई तहमा १५० दिनभन्दा बढी विद्यालय सञ्चालन हुन सक्ने अवस्था नरहेको उनले उल्लेख गरे । विद्यालय तहमा २२० दिन नै कक्षा सञ्चालन हुने प्रावधान शिक्षा नियमावलीको मस्यौदाले समेटेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com