अब सोसल मिडियालाई पनि कर लगाउने सरकारको तयारी


प्रकाशित मिति : श्रावण २७, २०७५ आईतबार

मेनुका कार्की।
सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निकायसँग छलफल सुरु गरेको छ । इन्टरनेट सेवा प्रदायक करको दायरामा आएपछि सरकारले सोसल मिडिया (सामाजिक सञ्जाल) लाई पनि करको दायरका ल्याउन गृहकार्य थालेको हो ।

राजस्व सचिव शिशिरकुमार ढुंगानाले सामाजिक सञ्जालबाट दिनहुँ धेरै रकम बाहिरिए पनि नेपालले फाइदा लिन नसकेकाले नयाँ नीतिगत व्यवस्था गर्न लागिएको जानकारी दिए । ‘अब यस्ता सोसल मिडिया नेपालमा सेवा प्रदायक कम्पनीका रूपमा दर्ता हुनुपर्नेछ’ ,उनले भने, ‘यसका लागि मन्त्रालयले आन्तरिक राजस्व विभागलाई निर्देशन दिइसकेको छ ।’

सोसल मिडियालाई करको दायरामा ल्याउन प्राविधिक समितिमा छलफल भइरहेको आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले बताए । ‘ई–कमर्स व्यवसायलाई कसरी करको दायरामा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘हामी यी सेवा प्रदायकलाई नेपालमा दर्ता गराएर कर लगाउने तयारीमा छौं । यो बिजनेसमा कर लगाउन अप्ठ्यारो छ, न्यूरोडमा गएर मोबाइलमा कर लगाए जस्तो होइन, हावा उड्ने बिजनेसमा कर लगाउन प्राविधिक टोलीसँग विभागमा निरन्तर छलफल भइरहेको छ ।’ प्राविधिकको गहन विश्लेषणपछि आएका सुझावका आधारमा जतिसक्दो छिटो यसमा कर लगाउँछौं ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com