एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई


प्रकाशित मिति : कार्तिक ३०, २०७३ मंगलबार

मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मकाउविरुद्ध १-० को जित दर्ता गरेर नेपाललाई उपाधि जिताउने क्रममा सुजल श्रेष्ठ नायक सावित भए । भरत खवासको सुन्दर क्रसमा सुजलले हेडमार्फत ३०औं मिनेटमा गरेको गोल नेपालको जितमा निर्णायक सावित भयो ।सोलिडारिटी कपको यो पहिलो संस्करण हो । यससँगै नेपालले प्रतियोगिताको पहिलो च्याम्पियन बन्ने इतिहास पनि कायम गरेको छ ।

नेपाली राष्ट्रिय टिमले २३ वर्षपछि अन्तराष्ट्रिय स्तरको आधिकारिक प्रतियोगितामा उपाधि हात पारेको छ । नेपालले पछिल्लो दुई वर्षमा यसबाहेक नै उमेर समूहका दुई र एक अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता (बंगबन्धु गोल्डकप)को उपाधि जितिसकेको छ । २०७२ भदौमा सातदोबाटोमा जितेको साफ यु–१९ च्याम्पियनसिप र फागुनमा भारतमा जितेको साग फुटबलको उपाधि दुवै उमेर समुहका थिए । गत माघमा बंगलादेशमा जितेको बंगबन्धु गोल्डकपलाई पनि अन्तर्राष्ट्रिय स्तरको मान्यता थिएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com