‘डा. गोविन्द केसीका कैयन माग जायज तर अनशन लम्बाउन उक्साउनु निन्दनीय’ – प्रवासी नेपाली मञ्च अमेरिका


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

प्रवासी नेपाली मञ्च अमेरिकाले डाक्टर गोविन्द केसीका कैयन मागहरु जायज रहेकाले त्यसको समाधान वार्तामार्फत खोज्नुपर्ने राय व्यक्त गर्दै अनशन लम्बाउनु उक्साउनु निन्दनीय भएको जनाएको छ । प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजाले वक्तब्य जारी गर्दै मानवीय संवेदना समेतको प्रवाह नगरीकन अनशनरत डाक्टर गोविन्द केसीलाइ अनशन लम्ब्याउन उक्साइएको दावी गर्नुभएको छ ।

‘नेपालमा मेडिकल शिक्षासंग जोडिएका कतिपय समस्या समाधान हुनुपर्छ भन्दै डाक्टर गोविन्द केसीले पटक पटक गर्दै आउनु भएको अनशनहरुको वारेमा पनि हाम्रो सँस्था जानकार छ । उहाँले उठान गर्नु भएका कतिपय जायज मागहरु पुरा हुनुपर्छ भनेर हाम्रो सँस्थासंग आवद्ध साथीहरुले बिभिन्न ढङ्गले आवाज उठाउँदै आउनु भएको पनि हो ।’  वक्तब्यमा भनिएको छ – ‘डाक्टर गोविन्द केसीलाइ अनशन लम्ब्याउन उक्साउंदै आफ्नो राजनीतिक मानोकाँक्षा पुरा गराउने कामहरु चलेकै छन र त्यही अनुसार सामाजिक संजालदेखि संचार माध्यमहरुसम्म अफवाह फैल्याउने देखि सरकारविरुद्ध मोर्चावन्दी गर्नेसम्मका कामहरु चलेका छन, हामी त्यस्तो कार्यको निन्दा गर्दछौं ।’

वक्तब्यमा भनिएको छ – ‘जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयसँग जोडिएका समस्याहरु समाधान हुनुपर्छ भनेर नै लोकप्रिय मत सहित निर्वा्चित वर्तमान सरकारले पनि कोशिस गरिरहेको छ भन्दा अन्यथा हुनेछैन । यद्यपी मेडिकल शिक्षासँग जोडिएका समस्याहरु समाधान गर्दै अगाडी बढ्ने कोशिस अनुसार सरकारले अध्यादेश ल्याएको अवस्थामा त्यसमा उल्लेखित कतिपय प्रावधानहरु प्रति असहमति जनाउँदै डाक्टर गोविन्द केसीले सदाझैं फेरी अनशन सुरु गर्नु भएको तथ्य जगजाहेर छ । लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार सवैसंग हुन्छ , त्यसो हुनाले डाक्टर केसीले सुरु गर्नु भएको अनशनलाइ वाधा व्यवधान गर्नु भन्दा उहाँसँग बसेर समस्या समाधानको निम्ती वार्ता गर्नु वान्छनीय हुनेछ । त्यसैले उहाँसँग वार्ता गर्ने सरकारी पहलको प्रवासी नेपाली मंच अमेरिका सराहना गर्दछ र लोकप्रिय जननिर्वा्चित सरकार र डाक्टर गोविन्द केसीले वार्ता मार्फत समस्याको समाधान गर्नेमा हाम्रो सँस्था आशावादी रहेको जानकारी गराउन चाहन्छौं ।’

‘नेपालका राजनीतिक दल विशेषसंगको निकटताकै नाममा नेपाली समुदायको साझा सँस्था हुनुपर्ने सँस्थाको नेतृत्वमा बसेर राजनीतिक दलको जस्तो वक्तव्य निकाल्ने तमासा पनि देखाइएको छ । दर्जनौ पटक उही माग राखेर अनशन बस्ने गोविन्द केसीको पक्षमा विगतमा कहिले पनि चुँ समेत नगर्नेहरुले अहिले कुनै दलकै कार्यकर्ताले जसरि वक्तव्य निकालेर सरकारको विरोधमा आफुलाइ उभ्याउने कार्यले त्यस्ता सँस्थाको नेतृत्वले आफुलाई मात्रै नभएर सिंगो संस्थालाइ नै नेपाल र नेपालीको नजरमा गिराउने अनि प्रवासी नेपालीहरुको हकहित अधिकारको पक्षमा लाग्नेहरुलाइ समेत सोच्न वाध्य बनाउने खतरा रहन्छ भन्ने हाम्रो ठहर छ’- वक्तब्यमा उल्लेख छ ।

वक्तब्यमार्फत सवैलाइ जिम्मेवारीपूर्ण व्यवहार गर्न , समस्यालाई वल्झाउन भन्दा सुल्झाउने तर्फ अगाडी बढ्न अनुरोध गर्दै देउजाले लोकतान्त्रिक रुपमा अत्याधिक जनमत सहित निर्वाचित वर्तमान सरकार र डाक्टर गोविन्द केसीकोबीचमा हुने खुल्ला र अर्थपूर्ण वार्ताले मात्रै समस्याको समाधान हुने हुनाले तत्काल वार्ताको निम्ती पहल , प्रयत्न र सहजताको निम्ती सवैमा अनुरोध गर्नुभएको छ ।

प्रवासी नेपाली मंच अमेरिकाका महासचिव राधाकृष्ण देउजा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com