भारतमा स्थानियहरुद्वारा कुटिकुटी गुगलका इन्जिनियरको हत्या


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

पत्याउनु हुन्छ ? बालबालिका चोरीको हल्लाकै भरमा भारतमा ३० जनाको ज्यान गइसकेको छ । १३ जुलाई २०१८ को मध्यन्हसम्म यो तथ्यांकमा मर्नेको संख्या २९ थियो । तर साँझ एक जना सफ्टवेयर इञ्जिनियरको नाम थपिएर ३० पुग्यो । कर्नाटकको बिदर शहरमा बच्चा चोरीको हल्ला फैलिँदा भीडले गुगलका सफ्टवेयर इञ्जिनियर आजमलाई कुटपिटमा मारिदिए । घटनास्थल पुगेको प्रहरीले पनि भीडबाट आजमलाई बचाउन सकेन ।

मृतक इञ्जिनियर आजम हैदराबाद, कलमपेटका बासिन्दा हुन् । गुगलमा सफ्टवेयर इञ्जिनियर थिए । कतारबाट फर्केका मित्र बशीरसँग भेट्न अन्य दुई साथी सलमान र अकरमसहित बिदरको मुरकी पुगेका थिए । बशीरसँग भेटघाट र खानपिनपछि तीनैजना हैदराबाद फर्किइरहेका थिए । बाटोमा केही बालबालिका भेटिए, जो खेलिरहेका देखिए । बालबालिका देखेपछि कार रोके । बशीरको घरबाट फर्किँदा कतारबाट ल्याएको चकलेट कोशेलीस्वरुप पाएका थिए । बच्चाहरुलाई उनीहरुले चकलेट बाँड्न चाहे ।

कतारबाट ल्याइएको चकलेटको रंग अनौठो थियो । बालबालिकाले चकलेट लिन अस्वीकार गरे । विदेशी चकलेट भएकाले नौलो देखिएको बताए, अनौठो नमान्न सम्झाए । एउटी बालिका रुन थालिन । बालिका रोएको आवाज सुनेर वरपरका स्थानीय भेला भए । भीडले आजमसहित तीनै जनालाई घेरा हालेर गालीगलौज र हुलहुज्जत गर्न थाल्यो । आजमसहित तीनै जना गाउँलेलाई सम्झाउन खोज्दै थिए, अचानक भीडका केही मानिसले उनीहरुमाथि प्रहार गर्न थाल्यो ।

भीडबाट बचेर तीनैजना भाग्ने कोसिस पनि गरे । तर त्यत्तिकैमा एउटा बाइक द्रुतगतिमा आएर उनीहरुको कारमा ठोक्कियो । बाइकसँग ठोक्किएको कार रोकियो । भीडले धक्का दिँदै घचेटेर आजमको कारलाई खाडलमा पल्टाइदिए । आजमसहित तीनै जनालाई कारबाट थुतेर पिट्न थाले । त्यतिञ्जेल त्यहाँ लगभग दुई हजारका संख्यामा स्थानीय भेला भइसकेका थिए ।

भीडले उनीहरुमाथि लाठी प्रहार गरिरह्यो ।
आजम र उनका मित्रहरुले सडक किनारमा खेलिरहेका बालबालिकालाई चकलेट बाँड्न लागेको दृश्य त्यहाँ मौजुद हाँडिकेरा गाउँका अमर पाटिल भनिने व्यक्तिले मोबाइलमा खिचेर भाइरल बनाइसकेका थिए । चकलेट बाँड्ने कोसिस गरेको दृश्य पोष्ट गर्दा ति व्यक्तिले स्ट्याटसमा लेखिदिए, ‘तीन जना बच्चा चोरहरु बालबालिकालाई चकलेट दिएर फकाउँदै छन् । बच्चा चोरेर लैजाने कोसिस गर्दैछन् ।’ यो सन्देश क्षणभरमै भाइरल भयो । धेरै मानिसको भीड जम्मा भयो र आजमसहित तीनै जनाको हत्यासम्म हुने अवस्था बन्यो ।

घटनाबारे सूचना पाएर स्थानीय प्रहरी घटनास्थल पुग्यो । प्रहरीले भीड रोक्ने र कुटपिटमा परेकालाई बचाउने प्रयास पनि नगरेको होइन । तर अति उग्र भीडका अगाडि प्रहरीको जोड चलेन । भीड अनियन्त्रित भएको र प्रहरीले स्थिति काबुमा लिन नसकेको थाहा पाएर थप प्रहरी बलसहित बिदरका एसपी डि देवराजू आफैँ घटनास्थल पुगेका थिए । प्रहरीले भीडलाई तितरबितर गरुन्जेल पिटाईका कारण आजमको मृत्यु भइसकेको थियो ।

सलमान र अकरम दुईजना गम्भीर घाइते भए । उग्र भीडले प्रहरीमाथि पनि आक्रमण ग¥यो । एक इन्स्पेक्टर र एक प्रहरी जवान घाइते भए । भीडको पिटाइबाट गम्भीर घाइते सलमान र अकरमको हैदराबादस्थित अस्पतालमा उपचार भइरहेको छ । एसपी डि देवराजुका अनुसार, प्रहरीले भीड जम्मा गराई उपद्रव गरी हत्यासमेत गरेको आरोपमा ३० जनालाई पक्राउ गरेको छ ।

ह्वाट्सएपमा बच्चा चोरीको अनर्गल हल्ला फैलाएको आरोपमा प्रहरीले ग्रुप एडमिन नियन्त्रक स्थानीय मनोज बिरादवरलाई पनि पक्राउ गरेको छ । हल्ला फैलाउन भिडियो पोष्ट गर्ने अमर पाटिल पनि पक्राउ परेका छन् । कर्नाटकका उपमुख्यमन्त्री परमेश्वरले यसअघि पनि राज्यको गुलबर्गा र बिदरमा यस्तो घटना भएको बताउँदै सरकारले घटनाको जाँच गर्ने बताए ।

भीडको पिटाइबाट एक जना त मारिए, अन्य दुईजना अस्पतालमा मृत्युसँग जुध्दै छन् । तर यो पहिलो घटना भने अवश्य होइन । केही दिनअघि मात्र महाराष्ट्रको धुले जिल्लामा बच्चा चोरको आरोपमा भीडले ५ जनालाई पिटेर हत्या गरिदिए । असममा पनि एक महिलालाई खाँबोमा बाँधेर पिटियो । गुजरात र तमिलनाडुमा पनि ३ जना यसरी नै भीडको कुटाईबाट मारिए ।

तर हत्याको यो जघन्य वारदात फगत अनर्गल हल्लाका कारण भएको हो । सबै घटनामा हल्ला एकनासको थियो । स्थान फरकफरक भए पनि हल्ला र भीडको स्वरुप एकैनास थियो । मिथ्या हल्लाका कारण सिर्जित भीडले ३० जनाको ज्यान लिइसकेको छ । यस्तो हल्ला फैलिने र त्यसका पछि लागेर भीडले मानिस मार्ने घटना रोकिन्छ कि रोकिन्न ?

भारतजस्तो विकसित देशमा समेत हल्लाका भरमा भइरहेको हत्याले देखाउँछ कि, सामाजिक सञ्जालको प्रयोगले फैलाएको अनर्गल हल्ला पनि हत्यामा सहयोगी बनिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com