महाभियोग प्रस्तावमाथि आजदेखि पुनः छलफल


प्रकाशित मिति : कार्तिक २६, २०७३ शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा विचाराधीन महाभियोग प्रस्तावमाथिको छलफल शुक्रबारबाट पुनः सुरु हुँदैछ ।

कात्तिक ९ गते संसद्मा पेस भई सैद्धान्तिक छलफल सुरु भए पनि तिहार र छठपछि छलफल अगाडि बढाउने दलीय निर्णय अनुसार छलफल स्थगित भएको थियो । सैद्धान्तिक छलफललाई बढीमा तीन दिन निरन्तरता दिई प्रस्ताव समितिमा पठाउने तयारी छ ।

संसद् सचिवालयले शुक्रबारको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्ताव छलफलको निरन्तरतालाई राखेको छ । प्रस्तावमा छलफलअघि राष्ट्रिय महिला आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।

कुइँकेलले भने,’अख्तियार प्रमुख कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमा यसअघि निरन्तरता दिने गरी स्थगित भएको छलफलले निरन्तरता पाउँछ । महिला आयोगको विधेयक पेस गर्ने पनि सम्भावित कार्यसूची छ ।’

कात्तिक ९ गतेबाट सुरु भएको छलफलमा सोही दिन १५ जना सांसदले प्रस्तावमाथि आफ्नो धारणा राखिसकेका छन् । कात्तिक ९ गते नै छलफलमा भाग लिन नाम टिपाएका ३८ जनाले अझै बोल्न बाँकी छ । यस्तै शुक्रबार पनि छलफलमा भाग लिनका लागि नाम टिपाउन सकिने व्यवस्था संसद् सचिवालयले गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com