लोडसेडिङ हटाउने अभियान अब उपत्यका बाहिर


प्रकाशित मिति : कार्तिक २५, २०७३ बिहीबार

सरकारले परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा लागू गरेको लोडसेडिङ मुक्त अभियानलाई निरन्तरता दिने र देशका अन्य भागमा समेत अभियान केन्द्रित गर्ने भएको छ । विगत केही समयदेखि जारी रहेको लोडसेडिङ मुक्त अभियानलाई सार्थक बनाउन प्राविधिक रुपमा तयारी गरिएको, वैकल्पिक स्रोतको पहिचान र भारतबाट थप विद्युत् आयात गर्ने विषयमा छलफल जारी रहेको जनाएको छ ।

ऊर्जा मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री जनार्दन शर्माले प्राप्त भएकै स्रोतलाई परिचालन गरेर परिक्षणका रुपमा काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त गरिएको र त्यसलाई जारी राख्ने तयारी गरिएको बताए ।

साँझको समयमा उपत्यकामा ३०० मेगावाट विद्युत् आवश्यक भएपनि राति र बिहानको समयमा माग आधाभन्दा कममा घट्ने भएकाले व्यवस्थापन नै प्रमुख विषय रहेको उनको भनाइ छ ।

कुलेखानीको पानी सिध्याउने र उपत्यका बाहिर विद्युत्भार कटौती थप गरेर काठमाडौँमा नियमित विद्युत् दिइएको भनेर गरिएको प्रचारमा समेत सत्यता नरहेको भन्दै मन्त्री शर्माले मागअनुसार विद्युत् वितरण गर्न प्राधिकरण सक्षम हुने दाबी गरे ।

हाल एक हजार ४०० मेगावाट विद्युत्को माग भए पनि केन्द्रीय प्रणालीमा आठ सय मेगावाट बढी विद्युत उपलब्ध भइरहेको र आगामी एक महिनाभित्र ४५ मेगावाट विद्युत् थप हुने उनको भनाइ थियो ।

यस्तै लामो समयदेखि अवरुद्ध रहेको चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली थ्री ‘ए’ जस्ता आयोजनालाई युद्धस्तरमा अगाडि बढाइएको जानकारी दिँदै उनले खिम्ती ढल्केबर प्रसारण लाइन र ढल्केबरमा रहेको सवस्टेसनको निर्माणले समेत गति लिएकाले आगामी हिउँदमा सहज रुपमा विद्युत् उपलब्ध हुने बताए ।

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, जल तथा ऊर्जा आयोगका अधिकारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो तीन महिनामा भएका कार्यप्रगतिका बारेमा जानकारी दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com