४५ औं अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित


प्रकाशित मिति : कार्तिक २४, २०७३ बुधबार

 

अमेरिकाको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्पले राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० भन्दा बढी मत ल्याएपछि राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । ट्रम्पले पाँचवटा राज्यको नतिजा नआउँदै २७६ इलेक्टोरल मत प्राप्त गरेर विजयी भएका हुन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपनि इलेक्टरहरुले औपचारिकरुपमा राष्ट्रपतिका लागि मतदान नगरेसम्म अमेरिकाको राष्ट्रपति औपचारिक रुपमा तय गरिदैन । इलेक्टरहरुले डिसेम्बरको तेश्रोसातातिर औपचारिकरुपमा राष्ट्रपतिका लागि मतदान गर्नेछन् भने जनवरीको पहिलो साता औपचारिक रुपमा मतगणना गरिनेछ । अमेरिकाको ४५ औं राष्ट्रपतिले सन् २०१७ को जनवरी २० मा पदभार ग्रहण गर्नेछन् ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com