ट्रम्पले ३०४ मत ल्याएर जित्ने सम्भावना


प्रकाशित मिति : कार्तिक २४, २०७३ बुधबार

 

अमेरिकी राष्ट्रपतिय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ३०४ इलेक्टोरल मत ल्याएर जित्ने देखिएको छ । अहिलेसम्मको मत परिणामका आधारमा हेर्दा ट्रम्पले ३०४ इलेक्टोरल मतका साथ जित्ने देखिएको छ भने हिलारीले जम्मा २३४ इलेक्टोरल मत ल्याउने देखिएको छ ।

२१५ इलेक्टोरल मत ल्याएकी हिलारीले अब मिनेसोटा, न्यु ह्याम्पशायर र मैनमा  जित्ने सम्भावना देखिएको छ ।

अहिलेसम्म २४४ इलेक्टोरल मत ल्याएका ट्रम्पले एरिजोना, विसकन्सिन, मिसिगन र पेन्सिलभेनियामा अग्रता हासिल गरेका छन् भने अलास्कामा रिपब्लिकनले नै जित्ने सम्भावना छ । यी राज्यहरुमा ६० इलेक्टोरल मत रहेको छ ।

न्यु ह्याम्पशायरमा ट्रम्पले जितेमा उनले ३०८ इलेक्टोरल मत ल्याएर चुनाव जित्नेछन् भने हिलारीले २३० इलेक्टोरल मत प्राप्त गर्नेछिन् ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com