अब आमाहरुले ज्यान गुमाउनु पर्दैन


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

‘अब हामी बच्चा जन्माउँदा मर्दैनाैं’ यो सन्देश एक पोष्टरमा लेखिएको छ । र ती रुखहरुको बीचमा झुण्ड्याइएको छ, जसले चर्को घाममा छाहारी दिन्छ । यस सन्देशले एक दुर्गम भारतीय गाउँमा हासिल भएको उपलब्धिका बारेमा बताउँछ ।

उत्तर प्रदेशको अमेथी जिल्लामा पर्नेे पुराबगाउँका महिलाहरुका अपेक्षाहरु सँधै प्रष्ट थिए । सानै उमेरमा बिहे गर्नु र एक पछि अर्को बच्चा जन्माउनुु । ती बच्चाहरु घरमै अस्वस्थ स्थितीमा एक गाउँले सुडेनीको सहायतामा जन्माईन्थे । ती सुडेनीहरु अन्धविश्वासी थिए । उनीहरुले सुरक्षित प्रसुतीको तालिम पनि लिएका थिएनन् ।

‘यदि कुनै महिलालाई सुत्केरी हुन अस्पताल लगियो भने पनि आधा घण्टा पछि घरधन्दा गर्न, वस्तुभाउलाई खाना दिन र खाना पकाउन कै लागि पनि पोको पारेर घरै ल्याइएकी हुन्थिन्’ गुलाब यादब, एक आमा बचाउ अभियान अमेथीका परियोजना व्यवस्थापकले भनिन् ।

सन् २००८ को सरकारी सर्वेक्षण अनुसार अमेथीमा मातृ मृत्यु दर विश्वमै सबैभन्दा धेरै प्रति १ लाख जीवित जन्ममा ४ सय ५१ रहेको थियो । जसको प्रमुख कारण रक्तअल्पता हो । ५५ प्रतिशत भारतीय महिलाहरु रक्तअल्पताबाट पीडित छन् । ग्रामीण महिलाको आहार प्रायजसो असन्तुलित नै हुन्छ ।

‘आमा बचाउ’ अभियानकोे ग्रामीण महिलाहरुलाई गर्भावस्था, पोषण, खोप, प्रसव, र बच्चाको हेरचाहको बारेमा शिक्षा दिने उद्देश्य हो । ‘हामीले आमा र बच्चालाई स्वस्थ र सुरक्षित राख्न तिनीहरुलाई पहिलो बच्चा जन्माउन ढिलो गर्न र दुई गर्भावस्थाबीच तीन वर्षको फरक गर्न अवश्यक छ भन्ने सिकायांै । साथै तिनीहरुले अस्पतालमा बच्चा जन्माउँदा अधिक रक्तश्राव जस्ता जटिलताहरुको उपचार हुन सक्छ भन्ने बुझे’ सीता गुप्ता आमा बचाउ अभियानकी टोली नेताले भनिन् ।

गुप्ताले पुराबगाँउमा २० महिला ‘परिवर्तन मध्यस्थकर्ताहरुको नेतृत्व गर्दै आएकी छिन । यो योजनामा सामेल अमेथीका ३ सय ६० गाउँ मध्ये हरेक गाउँमा २० मध्यस्थकर्ताहरुको एक समूह छ । उनहरुलाई अरु महिलाहरुलाई शिक्षा दिन तालिम पनि दिईएको छ ।

गुप्ता कहिलेकाहीँ आइरन चक्की, आइयूडी र स्तनपानको महत्व बुझाउन मनोरम लोकगीतहरुको सहायता लिने गर्छिन् । ‘यदि तिनीहरुले गीत गाए भने मैले तिनीहरुलाई के भनेको थिएँ भन्ने कुरा सजिलै सम्झन सक्छन्’ उनले भनिन् ।

दश वर्ष अगाडी अमेथिका २० गाँउबाट शुरु भएको आमा बचाउ अभियान उत्तर प्रदेश, कर्नाटक र तेलङ्गना राज्यहरुको १ हजार एक सय गाउँमा विस्तार भइसकेको छ । ती गाउँमा मातृमृत्यु दर ९० प्रतिशतले र बाल मृत्यु दर ६० प्रतिशतले घटेको छ ।

शिवान गान्जु, शिकागो स्थित एक डाक्टर जसले उत्तर प्रदेशको भ्रमण पछि ‘एक आमा बचाउ’ अभियानको शुरुआत गरे । ‘समुदायमा काम गर्ने एक समर्पित समुहद्वारा उच्च मातृ मृत्युदरलाई समाधान गर्न सकिन्छ भन्ने कुरा मैले थाहा पाएँ’, उनले भने ।

उनले भने दश वर्षमा उनले दुई वटा मुख्य कुरा सिके । पहिलो रोगको असर घटाउन सामाजिक व्यवहार परिवर्तन सबैभन्दा प्रभावकारी र सबैभन्दा कम खर्चिलो उपाय हो । र दोस्रो सरकारले सार्वजनिक स्वास्थ्यमा अहिले गरिरहेको खर्च बढाउनु पर्छ ।

पूरबगाउँका केही वयस्क महिलाहरुले तिनीहरुलाई बच्चा जन्माउन निरन्तर दबाब दिईएको बारेमा खुलेर कुरा गरे । ‘मेरा छिटो छिटो पाँच वटा बच्चा जन्मिए, मेरी सासु आमाले भनिराख्थिन् की उनी नाती चाहन्थिन्’ त्यसपछि मैले मेरी जेठी छोरीको पन्ध्र वर्षकै उमेरमा बिहे गरिदिएँ । त्यो गलत थियो’ उर्मिला देवीले भनिन् – ‘मलाई अहिले राम्रोसँग थाहा छ । मेरी कान्छी छोरीे बीस वर्ष भन्दा अगाडि विहे गर्दिन र म उसलाई गर्भाधारणलाई पनि नियन्त्रण गर्न भन्नेछु ।’

गाउँका मनिसहरु त अत्याधिक रुढिवादीे छन् । तर पनि यो योजनाले प्रभाव पारिरहेको छ । धेरै महिलाहरु अहिले श्रीमान् र सासुको अनुमति बिना घर छाड्न र बैठकहरुमा सहभागी हुनसक्छन् । त्यो भन्दा बढी उनीहरुले गर्भावस्था र प्रसवका बारेमा जुन जानकारी हाँसिल गरेका छन् त्यसले सशक्त भएका छन् । पारिवारिक छलफलमा तिनीहरुलाई लाभ हुन्छ ।

‘तिनीहरुले आफ्ना श्रीमानलाई भन्छन, यदि तिनीहरु स्वस्थ बच्चा चाहन्छन् भने आमाहरुलाई राम्रो खानपिनको बन्दोवस्त गर । यदि तिनीहरुलाई माछा वा मासु दिइएको छैन भने त्यसको सट्टा तिनीहरुले दुई गिलास दुध पिउँछन्’ गुप्ताले भनिन् ।

विगतमा महिलाहरुलाई परम्पराले बाँधेको थियो । त्यसैले त महिलाहरु नवजात शिशुलाई स्तनपान शुरु गर्न पुरोहितले तय गरेको शुभ साईत पर्खिएर बस्थे । पर्खदा–पर्खदा कहिले काहीँ तीन दिनसम्म बित्थ्यो । तिनीहरु बच्चालाई बाख्रा वा गाईको दुध खुवाउँथे जसले बच्चालाई झाडापखला हुन्थ्यो । ‘अहिले हामी बच्चा जन्मने बितिक्कै स्तनपान गराउँछौ । पुरोहितलाई पर्खदैनांै ।’ आमाहरु मध्येकी एक कान्ती देवीले भनिन् ।

सीमा अग्रहरिका तीन बच्चाहरु छन् । अहिले ६, तीन र एक वर्षका भएका ति सबै अस्पतालमा जन्मिएका हुन् । ‘मैले परिवार नियोजनका लागि आइयूडी प्रयोग गरेकी छु । यो मैले गरेको सबैभन्दा राम्रो काम हो । प्रत्यक गर्भावस्थामा मैले राम्रो भईरहेको महसुस गरें’ उनले भनिन् – ‘तर म प्रसवमा मर्नेहरु मध्ये एक हुन सक्थें । सुचनाले मलाई बचायो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com