विश्वकप फुटबल : पहिलोपटक खेल्दै दक्षिण कोरिया र स्विडेन


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

विश्वकप फुटबलमा सोमबार एशियाली देश दक्षिण कोरियाले स्विडेनसँग खेल्दैछ ।

‘समूह जी’को यो खेल निज्नि नोभोगोरोट रंगशालामा नेपाली समय अनुसार बेलुका पौने आठ बजेपछि सुरु हुनेछ । सन् २००६ पछि पहिलो पटक विश्वकप खेल्न लागेको स्विडेनमा अन्तर्राष्ट्रिय फुटबलका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिच छैनन् । तर उनी बिनै पनि स्विडेनले राम्रो फुटबल खेलिरहेको विश्लेषकहरुले बताएका छन् । स्विडेन छनोट चरणमा दोस्रो भयो र प्लेअफमा इटालीलाई नकआउट गर्दै विश्वकपमा स्थान बनायो । समूहमा उसले फ्रान्सलाई पनि हराएको थियो ।

यस क्रममा स्विडेनका मार्कोस बर्गले आठ गोल गरेका थिए । उनले जाल्टनको अभाव महसुस हुन नदिएको विश्लेषकहरुको टिप्पणी छ । सन् १९५८ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपमा उपविजेता बनेको स्विडेनले दुई संस्करणपछि रसियामा दक्षिण कोरियासँग प्रतिस्पर्धा गरेर विश्वकप यात्रा सुरु गर्नेछ ।
तर स्विडेनले पछिल्ला चार खेलमा एक गोल मात्र गर्न सकेको छ । ३ खेलमा गोल नै गर्न सकेन ।

दक्षिण कोरिया एशियाको फुटबल बादशाह हो । सन् २००२ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपको सेमिफाइनल पुगेको कोरियाले सन् २०१० मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । तर ब्राजिलमा भने उसले खासै प्रभाव जमाउन सकेन ।

टोटनह्यामका फरवार्ड सन ह्योङ–मिनको उपस्थितिले कोरियाली टिममा उर्जा थपेको छ । लगातार नवौं पटक विश्वकप खेल्दै गरेको कोरियाका लागि उनको प्रेरणा र बाँकी खेलाडीको जुझारुपनले सकारात्मक उर्जाको काम गर्नेछ । दक्षिण कोरियाली टिम स्वान्सी सिटीका पूर्व मिडफिल्डर कि सुङ येङको कप्तानीमा मैदान उत्रिनेछ ।

विश्वकप हेर्नका लागि दक्षिण कोरियाका २ हजार हाराहारीमा समर्थक रुस पुगेका छन् भने स्विडेनका ३० हजारभन्दा धेरै फुटबल समर्थक रुस पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जर्मनी र मेक्सिकोसहितको यो समूहमा मेक्सिकोले जर्मनीलाई हराइसकेकाले कोरिया र स्विडेन दुवैका लागि आज ३ अंक जोड्नु महत्वपूर्ण हुनेछ ।

म्याच फ्याक्ट्स
यी दुई टिम सन् १९४८ को लण्डन ओलम्पिक्समा पहिलो पटक खेलेका थिए, जुन खेलमा स्वीडेनले १२–० को जित निकालेको थियो । त्यसपछि भएको एकमात्र मैत्रिपूर्ण खेलमा स्विडेन २–० ले विजयी भएको थियो ।

कोरियाली टिम
प्रशिक्षकः शिन ताई–योङ ।
गोलकिपरः किम स्योङ–ग्यु, किम जिन–ह्योन, चो ह्युन–वो ।
डिफेन्डरः लि योङ, जङ स्योङ–ह्योन, ओ बान–सुक, युन योङ–सन, किम मिन वो, होङ चुल, किम योङ–ग्ओन, जाङ ह्युन–सो
मिडफिल्डरः पार्क जो–हो, जु सि–जोङ, को जा–च्योल, जङ वो–योङ, कि सङ–येङ, गो यो–हान
स्ट्राइकरः सन ह्योङ–मिन, किम शिन–वुक, लि स्युङ–वो, ह्वाङ हि–चान, मुन सिओन–मिन

स्विडेन टिम
प्रशिक्षकः जाने एन्डरसन ।
गोलकिपरः रोविन ओल्सेन, कार्ल–जोहान जोनसन, क्रिष्टोफर नोर्डफल्ड ।
डिफेन्डरः माइकेल लुस्टिग, भिक्टर लिन्डेलफ, एन्द्रियज ग्रान्कभिस्ट, मार्टिन ओल्सन, लुद्विग अगस्टिनसन, फिलिप हेलन्दर, इमिल क्राफ्त, पोन्टस जान्सन ।
मिडफिल्डरः सेबास्टियन लार्सन, अल्बिन एक्दाल, इमिर फोर्सबर्ग, गुस्ताभ स्भेन्सन, ओस्कार हिल्जेमार्क, भिक्टर क्लेसन, मार्कस रोहदेन, जिम्मी दुर्माज
फरवार्डः मार्कस बर्ग, जोन गिडेटी, ओला तोइभोनेन, आइज्याक किसे थेलिन ।

प्लेयर्स टू वाच
सन मिन–ह्योङ– दक्षिण कोरिया
सन मिन–ह्योङ दक्षिण कोरियाका स्टार खेलाडी हुन् । इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरबाट खेलिरहेका सन अहिले राम्रो फर्ममा छन् । उनले टोटनह्यामका लागि ३७ खेलमा १२ गोल र ७ वटामा गोलका लागि सहयोग गरेका छन् ।

तीब्र गतिका यी स्ट्राइकर स्विडेनका लागि टाउको दुखाइ बन्न सक्नेछन् । उनलाई चा बुम–कुनपछिका उत्कृष्ट फरवार्ड पनि भनिन्छ । लेफ्ट विङ्मा पनि जम्न सक्ने सनलाई रणनीतिको मुख्य मेरुदण्ड बनाउने प्रतिक्रिया प्रशिक्षक शिन टाई–योङले दिएका छन् ।

मार्कस बर्ग– स्विडेन
स्विडेनका स्ट्राइकर मार्कस बर्गले टिमका लागि ५७ खेलमा १८ गोल गरेका छन् । ८ गोल उनले विश्वकप छनोट प्रतियोगितामा गरेका थिए ।

उनी युरोपेली छनोटका पाँचौं सर्वाधिक गोलकर्ता समेत हुन् । उनी स्विडिस टिमका मुख्य गोलकर्ता समेत हुन् । ३१ वर्षे मार्कसले मिडफिल्डर इमिल फोर्सबर्गसँग निकै राम्रो तालमेल गरिरहेका छन् । २६ वर्षका फोर्सबर्गले स्विडेनका लागि ३६ खेलमा ६ गोल गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com