Follow @khasokhasmag

सिन्को नभाँची चुनावी रटान


प्रकाशित मिति : कार्तिक २१, २०७३ आईतबार

अघिल्लो सरकारले सार्वजनिक गरेको संविधान कार्यान्वयन कार्ययोजना अनुसार अबको एक महिना मंसिर भित्र स्थानीय निकाय निर्वाचन भइसक्नुपथ्र्यो तर तयारी सुरु नहुँदै सरकार मात्र होइन, कार्ययोजनानै फेरियो । नयाँ सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्यो । चैतमा स्थानीय निकाय निर्वाचन घोषणा गरे पनि सरकारले निर्वाचन तयारीसम्म सुरु गरेको छैन । निर्वाचन आयोगकै भाषामा तिथि, मिति, नीति र सहमति जुटेको १ सय २० दिन अर्थात् चार महिना तयारी पूरा हुन्छ । अहिलेसम्म आवश्यक तयारी त परै, सरकार र राजनीतिक दलको छलफलको एजेन्डामा समेत स्थानीय निर्वाचन परेको देखिँदैन ।

निर्वाचन घोषणा हुनुपूर्व आवश्यक ऐनकानुन जारी गर्नुपर्ने, राजनीतिक सहमति जुटाउनुपर्ने भए पनि त्यसतर्फ सरकार र दलहरु अग्रसर छैनन् । स्थानीय निकायका लागि आवश्यक एउटा ऐन पनि संसद्बाट पास भएको छैन । स्थानीय निर्वाचनका लागि आवश्यक स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन र स्थानीय स्वायत्त शासन ऐन दुवै संसद्मै विचाराधीन छन् । स्थानीय तह सञ्चालन ऐन बल्ल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मस्यौदा गर्दै छ । निर्वाचन गराउने प्रमुख जिम्मा पाएको निर्वाचन आयोगमा समेत तीन आयुक्त रिक्त छन् । रिक्त पदाधिकारी नियुक्तिका विषयमा पनि सरकारले परामर्श गरेको छैन ।

स्थानीय निकायको सीमा निर्धारणका काम मंसिरभन्दा पर सरेको छ । एकातिर संविधान संशोधन नभएसम्म निर्वाचनलगायत कुनै पनि कानुन अघि बढ्न नसक्ने भन्दै एकथरी दल विरोधमा छन् भने अर्काेतर्फ इलाकाका आधारमा गाउँपालिका निर्धारण गर्ने सरकारी निर्णयप्रति विरोध जनाउँदै केही दल यस आधारमा स्थानीय निर्वाचन हुनै नदिने बताउँदै आएका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती स्थानीय निर्वाचन गर्ने विषयमा दलहरुले कुरामा मात्रै वातावरण तयार गरे पनि व्यवहारमा भने नदेखिएको बताउँछन् । निर्वाचनका लागि दलहरुबीच सहमति भएर सबैभन्दा पहिले ऐन आउनुपर्ने भए पनि त्यसतर्फ कसैको ध्यान नगएको उनको भनाई छ । ‘सबैले चुनाव गर्नुपर्छ भने पनि साँच्चिकै भन्नुपर्दा काम गरेकै देखिँदैन, त्यति मात्र होइन, तयारी त परै, घोषणा नहुँदै गर्न दिन्न भन्नेहरु पनि उत्तिकै सक्रिय छन्,’ पूर्व प्रमुख आयुक्त उप्रेतीले नागरिकसँग भने, ‘संविधान अनुसार नयाँ संरचनामा, नयाँ विधि नयाँ प्रविधिको प्रयोग गरी निर्वाचन गर्नुपर्ने भएकाले विशेष क्षमता देखाउन आयोग र सरकारले पनि युद्धस्तरमा काम गर्नुपर्छ, युद्धस्तरमा काम हुन सकेन भने निर्वाचन गर्न गाह्रो पर्छ ।’

यो महिनाभित्र निर्वाचनका लागि आवश्यक कानुन र दलीय सहमति नजुटे निर्वाचन हुन गाह्रो पर्ने उप्रेती बताउँछन् । ‘राजनीतिक दल र सरकारलाई असजिलो बाटोमा प्रवेश गरेर फर्कन पनि अप्ठेरो परेको देखिन्छ,’ उनले भने । निर्वाचनका लागि कानुनी, सीमा निर्धारणसँगै नियमावली, निर्देशिका, मतदाता नामावली, मतदाता शिक्षालगायतका काम पनि गर्नुपर्ने भएकाले सोहीअनुसारको तयारी थालिनुपर्ने उनको भनाइ छ ।

सरकारले सीमा निर्धारण प्रतिवेदन आइनसकेकाले निर्वाचनका काम अघि बढ्न नसकेको बताउँदै आएको छ । सीमा निर्धारण आयोग भने दोष आफ्नो टाउकोमा ‘हालिदिएकोमा’ असन्तुष्ट छ । कात्तिकभित्रै सीमा निर्धारण गरी सरकारलाई प्रतिवेदन बुझाउने भनिए पनि जिल्लाहरुबाट सीमा निर्धारण भएर आइनसकेकाले यो काम पनि अझै लम्बिने नागरिकमा खबर छ । आयोगका सदस्य डोरमणि पौडेलले मंसिरभित्र सीमा निर्धारणको अन्तिम प्रतिवेदन सरकारलाई बुझाइसक्ने बताए ।

‘जनसंख्या र भूगोलका आधारमा गाउँपालिका निर्धारण गर्ने कार्यादेश बमोजिम हामीले सीमा निर्धारणका काम अन्तिम टुंगोमा पु¥याइसकेका थियौं, त्यही बेला सरकारले इलाकालाई आधार मानेर सीमा निर्धारण गर्ने हाम्रो कार्यादेश परिवर्तन गरेपछि सोहीअनुसार काम गरिरहेका छौं,’ आयोग सदस्य पौडेलले नागरिकसँग भने, ‘सरकार हाम्रो टाउकोमा दोष हाल्छ, हामी मंसिरसम्म प्रतिवेदन बुझाउँछौं ।’ उता, निर्वाचन गराउने प्रमुख निकाय निर्वाचन आयोगसमेत सरकार र राजनीतिक दलसँग असन्तुष्ट छ ।

स्थानीय निकाय निर्वाचनका लागि निर्वाचन कार्यविधि ऐनको मस्यौदामा राखिएका सुधारका कुरा काटिएको भन्दै आयोग सरकार र दलसँग असन्तुष्ट छ । ‘हामीले डेढ वर्षदेखि व्यापक छलफल र परामर्श गरेर धेरै सुधारका कुरा ऐनको मस्यौदामा राखेका थियौं, तर संसद्मा पेस हुँदा ती सबै सुधारका कुरा काटिएछन्,’ निर्वाचन आयुक्त इला शर्माले नागरिकसँग भनिन्, ‘हामीले राखेका सुधारका कुरा जस्ताको त्यस्तै आएन भने राम्रोसँग निर्वाचन गराउन गाह्रो छ ।’

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com