भारतले नेपाललाई नयाँ हवाई विन्दू दिने सम्भावना बढ्यो


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

पछिल्ला केही बर्षयता नेपालको हवाई मार्ग निकै व्यस्त भएको छ । नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता छ । नेपालले पटक पटक भारतसमक्ष नयाँ हवाई रुटको बारेमा माग राख्दै आएपनि यसपटक भने यस विषयमा भारतले पनि चासो देखाएको छ ।

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई नयाँ हवाई विन्दु दिने विषयमा चासो देखाएपछि यतिबेला दुबै देशका हवाई प्राविधिक टोलीहरु निर्णायक बार्तामा तल्लीन छन् । शनिबारभित्रै ठोस निर्णय निकाल्ने गरी दुवै देशका प्रतिनिधिबीच काठमाडौंमा वार्ता शुरु गरिएको हो ।

नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता छ । नेपालले भारतसँग जनकपुर, नेपालगन्ज र भैरहवाको हवाई रुट माग्दै आएको छ ।

तर यसअघि भारतले जनकपुर र नेपालगन्जतर्फको हवाई रुट दिने तर भैरहवाको रुट भने दिन नसक्ने जनाएको थियो । नेपाल सरकारलाई निर्माणाधीन भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट आवश्यक छ ।

अबको वार्तामा नेपालका तर्फबाट भारतीय पक्षसँग नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर र युरोप तथा पश्चिमका देशबाट आएका जहाजले महेन्द्रनगरबाट इन्ट्री हुँदै पूर्वको मेची विन्दुबाट आउट हुन पाउने मन्त्रालयले जनाएको छ ।

अहिले नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५ सय ८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौंका अवतरण गरिरहेका छन् ।

यस्तै, नेपालको पश्चिमबाट आउने जहाज, दिल्ली, युरोप तथा अमेरिकाबाट आउने जहाजले गल्फ ५ सय ८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्दै आएका छन भने भूटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री विन्दुबाट प्रवेश गरे तुम्लिङटार हुँदै काठमाडौं अवतरण गर्ने गरेका छन् ।

मन्त्रालयका अनुसार सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन एकसय ६९ नटिकल माइल र पोखरा आउन १ सय ६५ नटिकल माइल दूरी कम पर्छ । जसले गर्दा हवाई इन्धन कम खपत हुने, यात्रुहरु बढि समय आकाशमा रहनु नपर्ने र हवाई संचालकहरुको खर्चमा कटौंती हुने मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com