विदेशबाट १ अर्ब कर्जा भित्र्याउदै निर्धन उत्थान बैंक


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

काठमाण्डौ । निर्धन उत्थान बैंकले समेत विदेशबाट ऋण लिने प्रक्रिया थालेको छ ।

बैंकले विश्व बैंकको सदस्यको रुपमा रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेसन(आइएफसी)सँग एक अर्ब रुपैयाँ कर्जा नेपाल भित्र्याउने बिषयमा पहल अगाडि बढाएको हो ।

विदेशबाट कर्जा भित्र्याउने पहल थाल्ने निर्धन देशकै पहिलो माइक्रोफाइनान्स कम्पनी हो । यसअघि केही वाणिज्य बैंकहरुले मात्र यस्तो प्रक्रियाको सुरुवात गरेका छन् ।

आइएफसी र निर्धन उत्थान बैंकबीच १ अर्ब रुपैयाँ कर्जा नेपाल भित्र्याउने बिषयमा एक सम्झौता समेत सम्पन्न भएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

निर्धन उत्थान बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र आइएफसीको नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिदले सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौता नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपछि आइएफसीले निर्धन उत्थान बैंकलाई एक अर्ब रुपैयाँ कर्जा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा सञ्जाल रहेको नेपालको एक मात्र देशको सबै जिल्लामा पुगेको राष्ट्रिय स्तरको लघुवित्त संस्था हो।

निर्धनले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, व्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

निर्धनले देशको ७ वटै प्रदेशका ७७ वटा जिल्लामा १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको निकै ठूलो सञ्जाल बनाएको छ ।

निर्धन उत्थान बैंकले २०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पुर्याइरहेको छ । बैंकले २०७५ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ९ करोड रहेको छ भने ग्राहक सदस्यको ७ अरब ९८ करोड बचत समेत परिचालन गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com