प्रधानमन्त्री ओलीको चीन भ्रमण आगामी मंगलबार


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नुहुनेछ ।

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता हुनुहुनेछ ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ ।

यसैबीच, रासससँग संक्षिप्त कुरा गर्दै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिनुभयो ।  उहाँले राजनीतिक विषयका साथै नेपाल–चीन सम्बन्धका सबै पक्षमा सघन छलफल हुने बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com