मुखर्जी जानुअघि एमाले किन पुग्यो जनकपुर ?


प्रकाशित मिति : कार्तिक १९, २०७३ शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीवार दुई नम्बर प्रदेश कमिटीको आयोजनामा जनकपुरमा दसैं, तिहार र छठसहितको पर्वका अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जानकी मन्दिरमा दर्शन तथा अभिनन्दन कार्यक्रममा सहभागी हुन भारतीय राष्ट्रपति प्रणव मुखर्जी जानु एक दिनअघि एमालेले गरेको यो कार्यक्रमलाई धेरैले अर्थपूर्णरुपमा हेरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली नपुगेपनि कार्यक्रममा दुई वरिष्ठ नेतासहित दोस्रो र तेस्रो तहका अधिकांश नेताहरु उपस्थित भएका थिए । मधेस आन्दोलनका क्रममा मधेसवादी दलहरुले जनकपुरस्थित कांग्रेस तथा एमाले पार्टी कार्यालयमा पटक पटक आक्रमण समेत गरेका थिए । मधेसविरोधी भन्दै एमाले कार्यकर्ताहरु पनि उनीहरुको तारो बन्न पुगेका थिए ।

एमाले दुई नम्बर प्रदेश कमिटीको आयोजनामा भएको यो कार्यक्रममा करिब १५ हजार एमाले कार्यकर्ता र सर्वसाधरणको उपस्थिति रहेको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले यो कार्यक्रमलाई छठको अवसरमा शुभकामना आदान प्रदान गर्नका लागि आयोजना गरिएको दाबी गरेको छ । तर यो कार्यक्रमको तयारी भने दुई नम्बर प्रदेशले दसैँअघिबाटै थालेको थियो ।

राजनीतिक नाम नदिई शुभकामना आदानप्रदान कार्यक्रम भनिएपनि एमालेले यो कार्यक्रममार्फत मधेसमा आफ्नो बलियो पकड रहेको सन्देश जनकपुरबाट मधेसी दल र भारतलाई समेत दिन खोजेको छ । राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणको सुरक्षाव्यवस्थासहितको तयारी गर्न भारतबाट आएका अधिकारी र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरु जनकपुरमै रहेका बेला एमालेले यो शुभकामना कार्यक्रममार्फत ‘बुझिने शैली’ मा स्पष्ट सन्देश दिन खोजेको देखिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई मधेसविरोधी भन्दै भारतकै डिजाइनमा कांग्रेस र माओवादीले ढालेको आरोप एमालेवृत्तले लगाइरहेका सन्दर्भमा आजको जनकपुरको कार्यक्रममार्फत धेरै भ्रम चिर्न सफल भएको दाबी एकजना एमाले नेताको छ । मिथिला भवन प्राङ्गणमा भएको आजको कार्यक्रममा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र नागेन्द्र चौधरीसहितका नेताहरु सहभागी थिए ।

कार्यक्रमस्थलबाट सचिव भट्टराईले अब एमाले मधेसकेन्द्रित अभियानमा लागेको जानकारी दिएका कारोबारमा खबर छ । ‘भारतीय राष्ट्रपयि आउने कार्यक्रमसँग यसको कुनै साइनो सम्बन्ध छैन । हामीले पार्टीलाई तराई–मधेसमा नेकपा संगठन विस्तारमा केन्द्रित गर्दैछौं’, सचिव भट्टराईले भने, ‘एमालेबारेमा तराई–मधेसमा सिर्जना गरिएका भ्रमलाई तोड्ने काम जनकपुरबाट सुरु भएको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com