योगमाया :एक सर्घषशिल सामाज रुपान्तरणकर्ता, अभियान्ता

मेरा त जात छैन । तिमीहरु के रोज्छौ तिम्रा मर्जी ।

छुवाछुत ,जातभात आदिको बन्दघेराबाट ठूलीहजुर आफु मुक्त हुनु भएकोले सबैलाइ मुक्त गराउन चाहन्थिन । यो कुरो वि .सं १९८२ तिरको हो । अमलेख भए पछि शरण खोज्दै हिजोका कमाराकमारी आ–आफ्ना साना ठूला केटाकेटी सहितको उक्त समुह मझवावेसी पनि आइ पुगेको थियो ।  देश दाशमुक्त भएको खवर ढोल पिटेर पाखा गाउँ,पाखा ,पर्वतलाइ पनि श्री ३ सरकारले सुनायो ।

यहि खुसीमा ठूलीहजुर चौतारामा बसेर गाउँदै बस्थिन ।

मुलुकमा दासी रमाए

राजाले धर्म कमाए ।

राजाले धर्म गरिदिए

पैशा त धेरै छरिदिए ।

उहि खुसीमा पुवा प्रसाद बनाएर कुटीमा आउने जतीलाइ बाँडियो ।

ठूली हजुरले भनिन – डगिएको थिएन डगिन्न । अन्याय र कुरीतिको विरोध गरिन्छ, गरिन्छ । दास उन्मुलनमा योगमायाको ठूलोे भूमिका रहेको थियो ।

योगमाया अर्थात् ठूलीहजुर ,जो जीवित थिइन् र समाजमा भएका बिभिन्न किसिमका अन्याय र अत्याचार विरुद्द एक्लै संघष गर्न पाइला सारिन् । उनको विचारको पछि लागेर बिभिन्न अनुयायीहरु थपिए । सय बर्ष अगाडिको समाजको वास्तविक घटनालाइ चित्रण गरेर निलम कार्कीले शव्दमा उतारेकी छन् । योगमाया पढ्दा लाग्छ उनले प्रत्यक्ष योगमायालाइ भेटेकी हुन् र त्यो समयलाइ , परिबेशलाइ भोगेर, देखेर अनि बुझेर आएकी हुन् । पाठक पनि योगमाया संगसंगै हिडिरहेका हुन्छौं । गाउँ गाउँ, गल्ली,गल्ली ,सडक सडक, घरघर मात्र होइन मानिसहरुका मनसंगै कुरा गरिहेका हुन्छौं ।

समाजिक व्यवस्था र समाजको परिवर्तनलाइ एउटा ऐनाको रुपमा छर्लङ्ग पारेर पाठक सामु ल्याउनु चानचुने कुरा होइन र जो कोहिले सक्दा पनि सक्दैन ।

माया देबी अर्थात् योगमाया बाल विधवा थिइनन् बरु बाल बिबाह भएकोले तत्कालीन समाजको हिंसाको सिकार भएर , भागेर माइती पुगेकी थिइन् । तर बाबुले उनको मुख नहेर्ने र घर बाट भागी आएकी भनि समाजले समाज तिरस्कार गर्ने गरे पछी गाउकै  कडेलको  साथमा आसाम हानिएकी थिइन् । तर गाउँमा भने अर्कै हल्ला फिजाइयो उनी पोइला गइन् ।उनले आसाममा पुनः बिहे गरिन् तर दिन बित्त्दै जादा एक दिन पुराण सुन्ने क्रममा  बहु पति गमन गर्नु हुदैन  पाप हो भन्ने सुने पछी भने आफु  पति संग अलग हुन् चाहिंन |

धेरै बर्ष पछि उनका कान्छा भाइले उनको चिठी पाएर आसाम पुगेर दिदीलाई माईति घर भोजपुर लिएर त आए तर उनी पनि दिदीका पक्षमा भने निर्धक्क उभिन सकेनन ।

अहिलेको २१औं शताव्दीको  समाजमा त दिनानुदिन जातको नाममा, वर्गको नाममा ,महिला र पुरुषमा भेदभाव बढेको छ । हत्या ,हिंसा ,बलात्कार बढेको बढ्यै छ र बालिका बलात्कार र मृत्युको शिकार हुनु परेको छ भने त्यो बेला त राणा शासन थियो , देश कस्तो थियो र जनताको अवस्था कस्तो थियो सहजै अनुमान लगाउन सक्छौं । योगमायाले भन्ना साथ सतीप्रथा उन्मुलनमा भूमिका खेलेकी थिइन् भनेर मुखय रुपमा भनिदै र चिनिदै आएको छ | तर उक्त कथन आम्सिक सत्य भएको कुरा निहारिकाले अनुसन्धान बाटनै आफ्नो तर्क पेस गरिदिएकी छन् ।

नीलमको अनुसन्धानले, सतिप्रथा उन्मुलन हुँन भन्दा चार -पाच बर्ष अघि मात्र योगमाया भारतको आसामबाट नेपाल आएकी थिईन | त्यस समय तीर्थाटन र योग साधना पश्चात सामाजिक परिबर्तनको कदमको अति प्रारम्भिक कालमा थिईन | योगमायाले सती प्रथाको बिरोध गरेकी अबस्य हुन् , समाजका अन्य अन्याय थिचो मिचो बिरुद्द बेतिथी बिरुद्द  बुलन्द आवाज उठाएकी थिइन् । योगमाया समाजमा एउटा ठूलो विद्रोह गरेर समाजलाइ परिवर्तन गर्नको लागि अथक रुपमा लागिपरेकी योद्दा थिइन् । उनले समाजमा परिवर्तन गर्न चाहन्थिन् । सति उन्मुलन तिर अल्मलिएर उनले गरेका तमाम कार्यको मुल्यांकन कम भएको बुझ्न सकिन्छ | उनका विचारलाइ मन पराउने व्यक्तिहरु बढि मात्रामा गरीव ,दलित र महिलाहरु थिए ,जस्ले यो समाजको सदस्यको हैसियतमा रहंदा सदा तल्लो वर्गको नागरिक सरह जीवन यापन गर्नु पर्यो । उनको यो परिवर्तनमुखी ,उच्च विचार र सादा जीवन देखेर समाजका ब्राम्हण वर्गहरुले उनी र उनका अनुयायीहरुलाई गाउँमा बस्न दिएनन् ,खेदो खने । ठूलीहजुर मझुवा बेसीमा गएर आसन गरेर बस्न थालिन । त्यहाँ उनका अनुयायीहरुले  यसरी पच्छ्याए की धेरै जना त आश्रमहरु बनाएर त्यही बस्न थाले भने कोहि भने ठूली हजुरका बाणीहरु सुन्न आउने जाने गर्न थाले । सानीहजुरका दाजु भाइहरु ठूलीहजरका विचारमा सहमत भएका थिए । समाजमा चेतनाको ढोका खुलाउने काम गरिएको थियो ।

नरीबादी दृष्किोणबाट हेर्दा योगमाया नारीको हितमा चरम विन्दुमा उभिएको पाइन्छ । त्यस्तै अन्य सामाजिक धार्मिक विकृति मा समेत | एक उदाहरण –

“बन्द गर यो गरुड पुराण अहिले नैं” ठूलीहजुर आइपुग्नु भएछ । निकै ठूलो थ्यो त्यो विरोधको आवाज । उहाँ अलि परैको रुखनिर उभिनु भा थ्यो । पुरेतले यसो रोकिएझैं गरेर सुनें नसुनेझैं गरेर फेरी घोप्छो परेर पढिरहे ।

‘यस्ता दःुखका बेलाँ,दुःखीलाइ झन् तर्साउने यो पाठ बन्द गर ।‘ ठूलीहजुर नजिक आएर औंला तेर्साएर अझ भंयंकर आवाजमा भन्नु भो । त्यस पछि भनें पुरेतले वाचन बन्द गरे ।

पुरेतले रिसाएर भने ‘घोर अर्धम ।..’.. पुरेतले  कितावतिर हेरेर घोप्टो परेर सानो आवाजमा भने ‘भ्रष्ट पतिता ,पापिष्ट । अव हामीले यस्तासंग सोध्नु पर्ने भो हाम्रो काम कर्तव्य ? ‘ठूली हजुरले सुन्नु भो र भन्नु भो –पाप ? हे ब्राम्हण मैले सत्य बोलें र म पापी भएँ ।झटो बोल्ने, छलछाम गर्ने ,अरुलाई लुट्ने चाँहि धर्मात्मा ? यसरी दुःख बोकेर बसेको बेलाँ नानाभाँती भनेर डर, त्रास देखाएर ,बाँचेकालाई ऋणको भारमा डुबाएर दान गर्न लगाउने यस्ता थोत्रा ज्ञान नबाँड पुरेत । सकी –नसकी दान दिन लाउनु अधर्म हो । …….’ पुरुषप्रधान समाजले गाँजिएको त्यो समय पक्कै पनि नारीको कुरा सुनुवाइ हुने थिएन ,तर योगमाया अर्थात् ठूलीहजुर आफ्नो इच्छामा यती दृढ थिईन  कि, उनिले गाउँका कथित पण्डित र सामन्तहरुलाइ आफ्नो सामु घुँडा टेकाउन सफल भईन ।

                                                   समिक्षक

महाराज छन् दर्वारमा हेर्न आउँदैनन् ।

दुःखी जनले निआँ निसाफ सिधा पाउँदैनन् ।

जागिरदार लोभी छन् ,निआँ हेदैनन्

मर्नु पर्ने शरि हो विचार गर्दैनन् ।

महिला र सबै जातजातीले बेद पढ्न पाउनु पर्छ भनेर सरकार समक्ष विन्तिपत्र चढाईन ।

ठूलीहजुरले सबैको लागी न्याय गरे पनि आफ्नो वा समाजको इच्छाको लागि छोरीलाइ बालबिबाह स्वास्नी मरेको पुरुषसंग गरिदिएकी छन |  पछि नैनकलाको लोग्ने मरेपछि सेता कपडा लगाएर आउदा आत्मग्ल्नी भएर आफुसंगै राखेको प्रसग छ ।बाल विबहा भएकी दिदी तुलसाको शितलामाइको कारण भएको मृत्यु र नैनकलाको हविगत देखेर  दुखुनाले पनि बिहे नगर्ने मन गर्छे | विदुरले जस्तै बिधवाले पनि पुर्नविवाह गर्न पाउनु पर्छ भनेर आवाज उठाउछिन योगमायाले | र केहि  विवाह त्यसरी सम्पन्न भएको पनि उल्लेख छ । ठूलीहजुर आफ्नै छोरीलाइ न्याय गर्न चुकेको कुरा सबैले त्यो बेलामा उठाए ।

त्यो बेला भगवान वा आध्यात्मिक शक्ति र भूतप्रेत ,पिचासमा बेरै नैं बिश्वास गरिन्थ्यो भन्ने कुरा कुनै बैद्य का समेत  विरामीहरुलाइ नलगेको कुराबाट प्रष्ट हुन्छ । त्यस्तो समाजलाइ रुपान्तरण गर्न खोज्नु योगमायाको दुस्साहस नैं हुन्थ्यो सायद । पछिल्लो पटक ठूलीहजुर आफ्ना अनुयायीहरुसंगै काडमाण्डौ गईन । पशुपतीको आश्रम बज्रघरमा बसे सबैजना । पशुपतीनाथ सम्मुख बसेर सबैजनाले भजन गाए । त्यहाँका ब्राम्हणहरुले मन पराएनन् ,अनेक अनेक भने,दुव्र्यवहार गरे । नीलम मा बयान गरेकी छन –

शिरमा ठूलो श्रीपेच पहिरिएका , ठूलाठूला आँखा, मोटा जुँगा भाका श्री ३ जुद्द शमशेर बग्गीबाट भुइमा झरे । पछिपछि बाक्लै शृङ्गार पोतेका पुरै गरगहनाले थिचिएका ,थुपै्र राम्रा जनानाहरु थे । भेषभुषाले छुट्टिन्थ्यो कुन रानी ,कुन सुसारे ।पशुपती दर्शनको लागि शवारी भाको । प्रेमनारायणले जाँदै गरेका श्री ३ तिर हेरेर विस्तारै भने ।

ठूलीहजुरको इसारामा सबैले गाउन लागे

प्राणी सब अभय हुन् नहोस् दुःख

सर्खारको उदयमा सवलाई सुख्ख …।

दर्शनपछि श्री ३ महाराज र पछाडिका ठूलीहजुरहरु तिरै फर्केर आए ।

‘भन्नुस् के थियो ?’ श्री ३ सरकारले छाती फुलाएर सोधे । ‘श्री  ३ चन्द्र शमशेर सरकारको पालादेखी पटकपटक विन्तीपत्र चढाकी थें । पहिलो पटक तपैंबाट भने धर्मचिन्ह पाएर आश्वस्त भएर रहें । तर, त्यो चिन्हको लक्षण आजसम्म पनि नदेखिएर यो बुढो शरिर बोकिएर आफैं आएँ ।‘.. भनिन योगमायाले

सुनन सत्य नाथ । बिन्ती लिनुहोस्

अव त धर्मको योग दिनुहोस् ।

सकल घटघटै ज्ञान छिट्नुहोस्

अव त धर्मको ढोल पिट्नुहोस् ।

यो सूचना राजामा दिन आएकी छु । तर राजाले पत्र समाएनन् । उचो शिर अझ तन्काएर भने ‘,मेरो उमेर पनि त्रिसट्ठी भैसक्यो । कति दिन राज्य गरुँला र बरु तपैंलाइ के चाहिन्छ ? मैले के गर्नु पर्छ त्यो भन्नुस् |’ योगमाया अडिग थिईन उही कुरा दोहोराईन  ‘म्ेरो लागि चाहिने भनेकै धर्म भिक्षा हो त्यहि पाउँ ।‘

धर्मभिक्षा भन्दा अरु केहि माग्नुहोस् –श्री ३ ले भने । दास प्रथा पुर्ण रुपमा उन्मुलन हुनु पर्ने ,माना पच्चिसा हट्नु पर्ने, विधवाले  विवाह गर्न पाउनु पर्ने , छुवाछुत,जातभात केहि भेदभाव गर्न नपाइने , महिला र सबै जातले पढ्न –वेद पढ्न पाउनु पर्छ  ।  भुमिहिनलाई यज्ञ लगाएर दान दिनु पर्छ , ऋण मिनाहा हुनु पर्छ । कर जिन्सीमा पनि तिरन पाउनु पर्छ । गरुड पुराण लगाएर दानको नाममा गरीवलाइ ऋणको भारी वोकाउन हुन्न । शोसण बन्द हुनु पर्छ , धर्म राज्य स्थापना हुनु पर्छ आदि माग राखेको  विन्ती पत्र जुद्द सम्सेर मा बुझाईन | त्यही समय उनकी एउटी रानीले ठूलो थाली बोकेकी सुसारेलाई इसारा गरेको र ढाकेको रुमाल झिकेर ठूलीहजुरको पाउनिर थाली भरी असर्फी राखेर योगमाया लाई फकाउन खोजिएको प्रसंग उल्लेख छ | तर ठूलीहजुरले हाँसेर भनी ‘म साधु हुँ सुन लाउन त के कुरा छुदा सम्म छुदिन महारानी । भक्तीनीको जीवनमा यसको कुनैं औचित्य छैन|’ आजका अभियन्ता जसरी योगमाया धन द्रब्यमा बिक्ने महिला थिईन भने कुरा को पुस्टि हुन्छ यहा निर |

अन्तत् श्री ३ लाई योगमाया सामु उनको बचन राख्न कर लाग्यो | “लौ सत्य धर्मको् भिक्षा दिएँ । भक्तिनीको आशिर्वाद पाउँ ,अवश्य धर्म गर्छु । ” श्री ३ महाराजले बचन दिएर फनक्क फर्किएर हिड्न लाग्दै थे योगमायाले भनिन ‘महाराज धर्म उदय गरिबक्सनुहोस् , राह चिनी जग चलन बदली दिनुहोस् ,अवश्य महाराजको पनि कल्याण हुनेछ |’ त्यसपछी श्री ३ ले काठमांडूबाट स -सम्मान बिदा गरेर मझुवाबेसी पठाएको | तर फर्के पछि लामो समय सम्म पनि काठमाण्डौबाट धर्म राज्य बारे केहि खवर नआएको उल्लेख छ |

श्री ३ लाइ बुझाको जस्तै भिक्षापत्र कार्तिक पूर्णीमाका दिन सम्म दिनु भनी दिएको पत्र भोजपुर ,गौांडा , ओखलढुंगा, तेह्रथुम,सोलुखुम्वुसम्म लेखेर टाँस्न पठाइयो । साँच्चँै त्यो समय कस्तो थियो होला भन्ने सोच्दा पनि लाग्छ – त्यस्तो पीडामा,दमनमा कसरी सास फेरेर बाँच्न सकेका थिए होलान् नेपाली जनता ?

एक दिन ठूली हजुरले सबै अनुयायीलाइ बोलाएर आफ्ना कुरा भनिन –‘सबैले समान अवसर पाउन् । भूमि खोसिएका सबैले न्याय पाउन् भनेर यतीका बर्खदेखि महिनौं लाएर घामपानी हिउँद बर्खा ,उर्लदो भेल नभनी हतेलीमा ज्यान राखेर उता खाल्डोतिर पनि धाइयो । न्यायका माग पुरा गर्छु भनेर बचन दिएर ,ओकलेर पनि बेबास्ता गरे । तिनले कानमा तेल ठोकेर बसे,समाज प्युँका त्यँु ।अधर्मीका अधर्म उस्तै । एक दिन मर्नै छ त अव यी पापीका दुनियामा नरहने निक्र्याैलमा पुगें । जो जतिले मउपर बिश्वास गर्यौ , शरण परेका छौ, तिनका कर्म पनि मेरा भए । हरिसयनी एकादशी पारेर यहि त्रिबेणीमा यज्ञ गरि त्यस अग्नी आफुलाइ होम गर्नेछु ।‘ मेरा जन्म बरस वितेछ नरमा धेर कर्मको भोग गरें

मेरा दोष सब माफ गरिदिनु हओस् ,यसमा शरणमा परें ।  ठूलीहजुरको यो बाणी संगै धेरै  अनुयायीहरु पनि उनिसंगै अग्नी समाधी लिने भनेर सुरिए । सबैको नाम टिपियो । यो खवर माथी पुग्यो ,यज्ञका लागि खनिएका खाल्डा बडा हाकिम आएर पुर्न लगाए ।

पुरुसलाई  बाँधेर र अरु हिडेर ,ठूलीहजुरलाइ तामदानीमा बेकेर लगियो भोजपुर दिङ्ला ।तर सरकारले योगमाया संगै अग्नि दाह्मा गर्न लागेका  प्रेमनारायण लयायत कति जनालाइ जेल हाल्यो । तर धर्मको डर थियो यसर्थ जेल हालिएका लाई दुःख मात्र दिए मृत्यु दण्ड नैं भने दिएनन् । पछि कोहि जेल भित्रै मरे , कोहि भागे ,बाकीलाई अघि पछी गरेर  रिहा गरिदियो ।

राणा भनेका झुटका पर्याय रहेछन् भन्ने ठूलीहजुर लगायत सबैले बुझे ।

हामीलाइ राम्ररी बाँच्न त दिएनन् तर आफ्नो इच्छाले मर्न पनि नदिने यी राणाहरुले |  सबै जना झ्यालखान मुक्त भए पछि १९९८ मा गोप्य रुपमा जल समाधि को योजना बन्यो  | र अन्त्य अधर्मको नास होस् !धर्मराज्य स्थापना होस्!! अधर्मको अन्त्य हुनेछ!धर्मको उदय हुनेछ !!जुग फिर्नेछ !!! भन्दै आफना अनुयायी सहित अरुणमा जल समाधि लिईन योगमायाले |

ठूलीहजुर र अरुहरु समाधीमा जाँदा टुलुटुलु हेरिरहें ,रोक्न मन थियो , जल समाधीमा नजानुस्, अझैपनि समाजलाइ हजुरहरुको आवश्यकता छ ।भन्नु मन थियो | तर म एक पाठकले के गर्न सक्थें र टुलेटुलु हेर्नु सिवाय ? सायद निलमले पनि तितो सत्यतामा हिडेका ठूलीहजुरहरुलाई अरुणमा समाधी दिनबाट रोक्न सकिनन्  । मनले भन्छ योगमाया जस्ता नारीहरु आज पनि भैदिए, समाजले राम्रो बाटो समाउँथ्यो कि चेतनाको , विकासको र समृद्दिको ! माथिबाट जति सताइए पनि जनताहरु सचेत भएका थिए, आफ्नो हकको लागि लड्न सक्ने भएका थिए् । थिचोमिचो र अन्याय विरुद्द डटेर प्रतिकार गर्न सक्ने भएका थिए, त्यो सबै योगमायाको मार्गदर्शन अनुसार गरेका थिए । अरुण थुनेर माझीहरुका डुंगा रातारात चोरेर दुःख दिए माथीका आदेशबाट । सामन्तीहरुले मंहंगोमा अन्न बिक्री गरेर जनताहरुलाइ खडेरी परेको अनीकालको बेलामा शोषण गरे । योगमायाले माना पच्चिसाको व्यवस्था हटााउनु भयो ।

समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा यो उपन्यासले तत्कालिन समयको समाजको राम्ररी चित्रण गरेकी छन् । उनले महिलावादी दृष्किोणलाइ पनि उजागर गरेर प्रश्तुत गरेकी छन् । जातीवादी रुपबाट हेर्ने हो भने योगमायाले जातीको नैं अन्त्य गरेर समानताको शुरुवात गरेकी छन् । काव्यात्मक चेत योगमायाका बाणीलाइ टपक्क टिपेर भरपुर प्रयोग गरिएकाले योगमाया नेपालीका बिधार्थीहरुका लागी विषयबस्तुकै रुपमा पठनयोग्य हुन सक्छ ।  बार्बरा निम्री ,सुकन्या र पारिजातले र बिभिन्न अध्ययनकर्ताहरुलेपनि उत्खनन गर्न नसकेकेको एउटा जीवनको ,समयको सग्लो पाटो निलमले योगमायामा सर्लक्क ल्याएर राखेकी छन् । योगमाया उपन्यासको रुपमा पाठक सामु ल्याएकी छन् ।

र अन्त्यमा , विल्कुलै नयाँ शैलीको प्रयोग गरिएको योगमायामा पहिलो खण्ड आरम्भमा पेज ५ देखि पेज १८ मा बार्बरा निम्रीले पारिजातलाइ भेटेर योगमायाका बारेमा गरिएको कुराकानी रहेको छ । दन्यकथा जस्तो लाग्ने कुराका आधारमा योगमाया आशुकवि भएको र राणा सरकारलाइ चुनौती दिएको कुरा पारिजातले बताएकी छन् । निलम कार्कीको निम्रीसंग भेट भएपछि ,निम्रीले सबैकुराको बेलिबिस्तार निलमलाइ लगाएकी छन् । दृतिय खण्ड ठूलीहजुर । ठूलीहजुरको बारेमा र त्यो समाजको बारेमा धेरै पाटाहरू ठूलीहजुर आसाम गएदेखि नेपाल आएर जागरण फैलाएर समाधि लिन पिपलको बोटतिर लाग्दा पेज १९ देखि पेज ४७२ सम्म ५५ खण्डमा बिभाजन गरिएको छ । यसमा सानीहजुरले अर्थात् दुखुनाकी आमा गंगाले सबै कुरा सुनाएको र दुखुनाले लेखिरहेको प्रत्यक्ष देख्न सक्दछौ ।

एउटा सिंगो महाकाव्य भन्न सकिने योगमायाको तृतिय खण्डमा दुखुनाले आफु जलसमाधीमा जानु अघी भएका सबैकुरा लेखेकी छन् ,पेज ४७३ देखि ४८२ सम्म । चौथो खण्ड प्रसंगवस पेज ४८३ देखि पेज ५०३ मा निकै मार्मिक तरिकाले विपनालाइ नैं दाजुसंग सपनामा भएको संवादको रूपमा यात्रा र बिभिन्न भेटहरूलाइ अनुसन्धान लेखनको पाटो बनाएर राखिएकोले उपन्यासको सान्दर्भिकता र एेतिहासिकता झल्किएको छ । दुखुनाले अन्तिममा जलसमाधी लिएकी भन्ने सोचेर उपन्यासले बिट मार्यो भन्ने सोच्नु भयो भने त्यो तपाइको भुल हुनेछ । एकाबिहानै टपरीमा बत्ती बालेर अरूण नदीलाइ आफुसंगै अर्पण गरेर जलसमाधी लिने ६६ नम्बरमा दुखुना थिइन् भने त्यहि दिउसो सिम्लेकी नन्दकुमारी न्यौपाने र दुइ तिन दिन पछि काँइली कमिनी भन्ने अनुयायी पनि अरूणमा हेलिनेमा ६८ जना पुगेका रहेछन् । विसं १९९७ शुक्रराज शास्त्री लगायत चार जनालाई माघमा मृत्युदण्ड दिइएको आउदो असार १९९८ मा योगमाया र उनका अनुयायीहरूले जलसमाधी लिएका प्रसंगले त्यो समयमा राणाहरूको ज्यादती बढेको देखिन्छ । योगमायालाइ खिरमा बिष राखेर खान दिदा पनि मृत्यु नभएकोले उहाँ सच्चा तपस्वी हुनु भएको बुझ्न सकिन्छ । त्यसपछि सायद न्याय प्राप्त गर्न नसकिने देखेर योगमाया र अनुयायीले जलसमाधी लिएकाे हुनुपर्छ । उपन्यासकार सहित पाठकको प्रश्न यहि हुन सक्छ कि देशको लागि आफ्नो ज्यान बलिदान दिने शहिदहरूले नदेखिने दुनियाँबाट हेरेर आज के सोच्दै होलान् ? साङ्ग्रीला बुक्सले प्रकासन गरेको जम्मा ५०३ पेज रहेको पुस्तकको मुल्य रू ५७५ तिरेर पढ्दा र यसभित्र धेरै चिज भेटिदा तृप्त भएको अनुभुती हुन्छ ।

चिरहरण,अर्की आइमाइ की चर्चित लेखिका निलम, बिभिन्न सम्मानबाट बिभुसित भएकी छन् ।कुरा कानी को प्रसंग मा निलमले  इच्छा ब्यक्त गरेकी छन  –“म एकदम शान्त बाताबरणमा बस्न रुचाउँछु । कुटी जस्तो घर होस् ,बँगैचा होस् र शहरी कोलाहल भन्दा धेरै टाढा होस् ।”  म चाहन्छु नीलमजीको इच्छा पुरा हओस् ।

अमेरीकाको व्यस्त जीवनमा बसेर यस्ता राम्रा उपन्यासहरु पाठक सामु ल्याएकी  यस समयकी सफल लेखक निलमले अझै राम्रा कृतिहरु  ल्याउनेछन् भन्ने आशा उहाँका पाठकहरुले गरेका छन् ।म यती भन्छु की अहिले सम्मकै सत्य तथ्य नजिकै पुगेर,उजागर गरेर ,छामेर अनुसन्धान गरिएर, गहिराइमा पुगेर लेखिएको निलमको उपन्यास योगमायाले जती उचाइ कुनैं उपन्यासले चुमेको छैन । योगमाया आफैंमा ऐतिहासिक उपन्यास बनेर आएको छ । अर्को उपन्यासको तयारीमा रहेकी lप्रय निलमजीलाइ हार्दिक बधाइ र अझ धेरै सफलताको शुभकामना व्यक्त गर्दछु ।

                                         -अन्जना पौडेल “अनुश्रुती”

आइतवार, जेष्ठ २०, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री